
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले नयाँ वर्ष २०८० को अवसरमा धार्मिक एवम् पर्यटकीयस्थल माङमालुङमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गर्दैछ । माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगमस्थलमा रहेको माङमालुङमा वैसाख १ र २ गते महोत्सव आयोजना गर्न लागेको हो ।
गाउँपालिकाले स्थानीय कृषि उत्पादनसँगै माङमालुङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागेको हो । स्थानीय किरणकुमार राईको अध्यक्षतामा माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजक समिति गठन गरी तयारी तीब्र पारेको छ ।
महोत्सवको आकर्षणको रुपमा माङसेबुङ गाउँपालिकाभित्र पाइने कृषिजन्य उत्पादनहरुको प्रदर्शन र विक्रीवितरण रहनेछ । त्यसका लागि स्टलहरु निर्माण भईरहेका छन् । महोत्सवले यहाँ उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनका लागि सहयोग पुग्ने आयोजकले अपेक्षा राखेको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा मेलिन राई, ताराप्रकाश लिम्बू, रुक्साना लिम्बू, नुमा राई, निमा तामाङलगायत अन्य स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहनेछ ।

कार्यक्रममा विभिन्न जातजातिको संस्कृतिक पहिचान झल्किने नाचहरुको प्रस्तुति रहनेछ । लिम्बू जातिको साँस्कृतिक नृत्य च्याब्रुङ नाच (केलाङ) र राई जातिको साकेला नृत्यसँगै विभिन्न जातजातिका साँस्कृतिक झाँकीहरुको प्रदर्शनी हुने महोत्सव आयोजक समितिका सचिव कमल कार्कीले जानकारी दिए ।
महोत्सवको अर्को मुख्य आकर्षण एक औंलाले हल्लिने ढुङ्गा (चक्रशीला) रहेको छ । साथै सूर्योदय र सूर्यास्तका दृश्यसँगै विविधत प्राकृतिक मनमोहक दृश्यहरु महोत्सवका अन्य आकर्षण रहनेछन् ।
महोत्सवमा डेढ लाखदेखि दुई लाख पर्यटक भित्र्याउने उदेश्य आयोजकको रहेको छ । महोत्सवबाट यहाँका पर्यटकीय क्षेत्रका प्रचारप्रसार गरी विश्वमा चिनाउने लक्ष राखिएको आयोजकले जनाएको छ ।
छुट्टै मौलिक पहिचानको माङमालुङ

माङमालुङ इलाम जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलहरुमध्ये एक प्रसिद्ध ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । माङमालुङ इलाम सदरमुकामदेखि करिव १५ कोष पश्चिममा अवस्थित छ । धार्मिक एवम् पर्यटकीय महत्व बोकेको माङमालुङ समुन्द्री सतहबाट २ हजार १ सय मिटरको उचाईमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगम स्थलमा अवस्थित छ । यो करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
माङमालुङको छुटै मौलिक पहिचान र चिनारी रहेको छ । माङमालुङ ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको एक पवित्र धार्मिक क्षेत्र मानिन्छ । विविधताले भरिपूर्ण मनमोहक माङमालुङ घुम्न आउने जो कोही पनि यसको वर्णन गर्न चुक्दैनन् ।
यहाँ उधौली र उभौलीमा गरी वर्षामा दुई पटक पूजापाठ हुने गरेको छ । विशेष गरी किरात धर्मावलम्बीहरुको उपस्थिति रहने गरेको भएपनि यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरु आउने गरेका छन् । सबै प्रकारका धर्मावलम्बीहरुका लागि माङमालुङ आस्थाको केन्द्रविन्दु बन्न पुगेको छ । यहाँका मठमन्दिरमा बलि पूजा नगर्नु यसको प्रमुख विशेषता हो । पूजा आजाका लागि यहाँ सबै धर्मावलम्बीहरुले सात्विक तरिका अपनाउँछन् ।

यहाँ विभिन्न आकृतिका ढुङ्गा देख्न पाईन्छ । यी शिला पत्थरमा पनि विभिन्न आकृति प्राकृतिक रुपमा कुँदिएका छन् । यहाँका शिला पत्थरमा कुँदिएका विभिन्न पशु पन्छीदेखि र देवीदेवताको आकृति हेर्दा यो ठाउँ अदभूतस्थल हो भन्ने भान गराउँछ । यो ठाउँ अहिंसोपाषक गुरु ज्योतिनन्दको तपस्यास्थल हो । ज्योतिनन्दपछि अन्य थुप्रै गुरुहरूले यहाँ तपस्या गरेको बताइन्छ ।
माङमालुङमा औपचारिक पूजा गर्न थालिएको साढे तीन दशक जति भएको पाईन्छ । यसको उत्पति भने तीन सय वर्ष अघि भएको अनुमान स्थानीय बासिन्दाको छ ।
एक औंलाले हल्लिने ढुङ्गा : चक्रशीला

अङ्गालोले फेरो पुर्याएर उचाल्न नसकिने विशाल ढुङ्गा, एउटै औंलाले हल्लाउन सकिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर माङमालुङमा रहेको यो ढुङ्गाले जो कोहीलाई अचम्मित बनाईरहेको छ । माङमालु पुग्नर् जो कोही पनि यो अनौठो ढुङ्गाको रहस्यमा परेर फर्कन्छन् । यो ढुङ्गाको छुट्टै आकर्षण छ । यसलाई स्थानीयले चक्रशिला नामाङ्करण गरेका छन् । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई एकै औंलाले सजिलै हल्लउन सकिन्छ तर त्यहाँबाट हटाउन भने सकिदैंन ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण

माङमालुङ प्राकृतिक सौन्दयले भरिपूर्ण क्षेत्र हो । यहाँ विभिन्न प्रजातीका वनस्पति, बोटविरुवा, जीवजन्तु, राचुरुङ्गी, रंगीचंगीहरु नजिर्कबाट नियाल्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागि समेत उपयुक्त क्षेत्र हुन् । यहाँबाट हिमश्रृङ्खलादेखि तराईका विभिन्न क्षेत्रको नजर गर्न सकिन्छ । वनभोजका लागि उपयुक्त स्थल समेत उपलब्ध छ । यसका साथै माङमालुङ चिया बगानले यस क्षेत्रका आगन्तुकलाई प्राकृतिक सुन्दरतामा भुलिन थप मद्दत गर्छ ।
विजुवानी ढुङ्गा (थालाचेप्पा)

किंवदन्तीका अनुसार विगतमा यो डाँडामा रहेको पोखरीको नागले बटुवा र गोठाला, दाउरा घाँस गर्न जाने स्थानीय बासिन्दालाई दुःख दिने गर्दथ्यो । नागले हैरानी दिएकै समयमा यो क्षेत्रमा एक जना माङमा (विजुवानी महिला) आईपुगिन् । स्थानीय वासीले माङमासमक्ष नागले हैरानी पारेको दुखेसो गरे । तब माङ्ले स्थानीय वासीलाई नागको पीडाबाट मुक्त गराउने बचनबद्धता गरिन् ।
स्थानीयवासीलाई आफू मरे दूध बग्ने र नागको मृत्यु भए रगत बग्ने बताएर उनी नागसँग संघर्ष गर्न पोखरीमा पसिन् । पोखरीमा पस्नुअघि उनले पोखरी छेउमा रहेको शिलामा घाम तापिरेहेको नागलाई कासँको थालले प्रहार गरिन् । यो शिला सात चिरा भयो । जुन अझै हेर्न सकिन्छ । त्यसपछि नाग पोखरीमा पस्यो । माङ्मा पनि पोखरीमै पसिन् । भीषण भिडन्त भयो । अन्ततः पोखरीमका रगत देखियो । तापनि नागको मृत्यु भने सम्भव भएन । नाग पोखरीबाट भागेर अन्यत्र गयो ।
यहीबाट यस ठाउँको नाम माङ्माले नाग भगाउने क्रममा शक्ति प्रदर्शन गरेको ढुङ्गा (लुङ) लाई आधार मानेर वान्तवा नेपाली भाषामा माङमालुङ रहन गएको हो । यसलाई लिम्बू नेपाली भाषामा थालाचेप्पा पनि भन्ने गरिएको पाईन्छ । त्यही समय नागको रगतले पोखरीबाट रगतसहितको पानी बगेर खोल्समा मिसिएकाले अपभ्रशं भएर खस नेपाली भाषामा रत्तुवा खोलाको नामाङकरण भएको मानिन्छ । यो खोलाको शिर माङमालुङ, ढेङगुरे डाँडा र तीनथुम्की डाँडा हो ।
कसरी पुग्न सकिन्छ माङमालुङ

माङमालुङ पुग्न इलाम जिल्ला सदरमुकादेखि पैदल हिँडे एक दिन लाग्न सक्छ । सदरमुकामदेखि पाँचथरको सीमावर्ती राँकेसम्मा पक्की र त्यसपछि, घुर्पिसे पञ्चमी, रवी हुँदै कच्ची सडकमार्फत माङमालुङ पुग्न सकिन्छ । अर्को बाटो इलाम सदरमुकादेखि नेपालटारहुँदै मंगलबारेसम्म पक्की, त्यसपछि गजुरमुखीसम्म कच्ची र पुन: इभाङदेखि चतुरेसम्म पक्की हुँदै गाडीबाट पनि पुग्न सकिन्छ ।
झापाको दमकदेखि गाडी चढे रतुवा खोलाको किनारैकिनार त्यसपछि माङसेबुङ भएर २ घण्डामा माङमालुङ पुग्न सकिन्छ । यो मोटरबाटो निर्माणाधीन दमक रवि सडक (फाल्गुनन्द मार्ग) हो । दकमदेखि चपेटीसम्म कालोपत्रे र त्यसपछि कच्ची सडक पार गर्नुपर्ने हुन्छ ।
पैदल यात्रुले इलाम सदरमुकामदेखि एक दिनमा पुग्न सकिन्छ । दमक र बेलडाँगीबाट अनि अर्को मोरङको मधुमलाबाट पेरुँगे, टोड्के कुसुन्डे हुँदै ८ घण्टाको यात्रा तय गर्नुपर्छ । यो बाटो पदयात्राको लागि आर्कषक गन्तव्य बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यसका साथै माङमालुङ क्षेत्र भएर इलाम र पाँचथरको सीमावर्ती राँके भएर धनकुटाको राजारानी हुँदै सुनसरीको धरान जोड्ने मोटरबाटो निर्माणधीन छ ।















































