लाजेहाङको सम्झनामा माङेबुङमा श्रदाञ्जलीसभा, राष्ट्रिय सहिद घोषणा गर्न माग

माङसेबुङ : ‘कोशी’ प्रदेश नाम विरुद्ध विराटनगरमा भएको जनप्रदर्शनमा प्रहरीको पिटाइबाट घाइते भई बिहीबार राती निधन भएका पदम लिम्बू (लाजेहाङ) को सम्झनामा इलामको माङसेबुङमा श्रदाञ्जलीसभा गरिएको छ ।

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले शुक्रबार साँझ माङसेबुङ ५ स्थित यलम्बर चोकमा श्रदाञ्जलीसभा गरी लिम्बूलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेको छ ।

श्रदाञ्जलीसभामा युवा व्यवसायी जसहाङ सावदेन, टेकहाङ सोङ्मी, इन्द्र आङदेम्बे, आङ्बुहाङ अबोध अविरल र उदयविक्रम तम्बापोले सम्बोधन गरका थिए ।

‍उनीहरुले प्रदेशको नाम ‘कोशी’ खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन गर्न र स्वर्गीय लाजेहाङलाई सहिद घोषणा गरी क्षतिपूर्तिको माग गरेका हुन् ।

धरान-१५ का लाजेहाङ संयुक्त संघर्ष समितिले ‘कोशी’ प्रदेश नामाङ्कन खारेजीको मागसहित ५ चैतमा विराटनगरमा विराटनगमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए ।

टाउकोमा चोट लागेका उनी मंगलबार राति अचानक बेहोस भएपछि उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, उनको बिहीबार राती निधन भएको छ ।

त्यससँगै शुक्रबार संयुक्त संघर्ष समितिको बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

लेटरप्याड प्रयोग नगर्न आग्रह

यसैबीच संयुक्त संघर्ष समितिले माङसेबुङ गाउँपालिका र मातहतका कार्यालयहरुलाई आफ्नो साइनबोर्ड र लेटरप्याडमा ‘कोशी’ प्रदेश प्रयोग नगर्न अनुरोध गरेको छ ।

संघर्ष समितिको कार्यक्रम ‘कोशी’ प्रदेश लेखिएको साइनबोर्ड हटाउने र लेटरप्याड जनाउने कार्यक्रम रहेको भन्दै त्यसप्रति सचेत भएर प्रयोग नगर्न गाउँपालिकालाई अनुरोध गरेको हो ।

वडा कार्यालयमा भएको आगजनीप्रति ध्यानाकर्षण

यस्तै संघर्ष समितिले माङसेबुङ गाउँपालिका ५ नम्बर वडा कार्यालयमा भएको आगजनीको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटना दुखद र निन्दनीय कार्य बताउँदै दोषीलाई कारवाही गर्न माग गरेको छ । ‘जनतालाई सेवा प्रदान गर्ने थलोमा भएको आगजनी र भौतिक क्षति ज्यादै दुखद र निन्दनीय कार्य हो । यस कार्यप्रति हाम्रो आपत्ति र दोषीको पहिचान गरी कार्वाहीको दायरामा ल्याउन हामी अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा माङसेबुङ नागरिक समाजका चनबहादुर सेर्मा, प्रदेश नं. १ पहिचानसहितको पुन:नामाङ्कन अभियान समितिका सहसंयोजक केहरसिंह योङहाङ र प्रदेश नं. १ पुन:नामाङ्कन संयुक्त संघर्ष समिति माङसेबुङका अध्यक्ष उदयविक्रम तुम्बापोले हस्ताक्षर गरेका छन् ।

माङसेबुङ गाउँपालिका ५ वडा नम्बर वडा कार्यालयमा गएराती आगजनी भएको थियो । आगजनीबाट कार्यालयको प्राविधिक कक्ष र सभाहलमा क्षति पुगेको थियो ।

राती अन्दाजी साढे ११ बजे आगलागी हुँदा कार्यालयको झ्यालसहित सोफा, टेबल, कुर्सी, दराज, कम्प्युटर, प्रिन्टर, कार्यपेटलगायत फर्नचर जलेर नष्ट भएको थियो ।

वडा कार्यालयको आगलागी स्थानीयबासीहरुको सहयोगमा राती नै नियन्त्रणमा आएको थियो ।

मुख्यमन्त्री कार्की र प्रदेशसभा सदस्य रानाको पुत्ला दह

यस्तै प्रदेश नं. १ पुन:नामाङ्कन संयुक्त संघर्ष समितिले इलाममा प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशसभा सदस्य रामबहादुर मागर (राना) को पुत्ला दहन गरेका छन् ।

संघर्ष समितिले शुक्रबार साँझ इलाम चोकबजारमा कार्की र रानाको पुत्ला दहन गरेका हुन् । उनीहरुले कार्की र रानाविरुद्ध नाराबाजी समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार