चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ३ मा बुधबार सम्पन्न गरेको छ ।
गाउँकार्यपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र ३ नम्बर वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
सबै वडावडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने तयारी गरेको चुलाचुलीले बुधबार ३ नम्बर वडा कार्यालय पेल्टिमारीमा दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।
चुलाचुली गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ७१ जना सेवाग्राहीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा ११ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा हरिबहादुर श्रेष्ठ, शुक्रप्रसाद थुलुङ राई, दीपक राई, विक्रम राई, थोप्रसाद न्यौपाने, प्रविन इङनाम लिम्बू, तारा भण्डारी, धनबहादुर राई, गोर्खे राई, सायम चाम्लिङ राई र खड्गबहादुर खालिङ राईले चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी र वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले दिएका थिए ।
उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । चुलाचुली गाउँपालिका अध्यक्ष केरुङले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘सौहार्दपूर्ण रुपम प्रश्न र सुझावहरु राखिदिनुभयो । यसले काम गर्ने उर्जा थपेको छ । यसलाई आगामी नीति, कार्यक्रम र योजनामा समेट्दै लैजानेछौं’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘गाउँपालिकालाई समृद्ध बनाउन यसरी नै सुझावहरु दिनुहोला, हामी ग्रहण गर्नेछौं ।’
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जनताका यस्तै गुनासो र सुझावहरु संकलन गर्नकै लागि कार्यक्रम आयोजना गरिएको बताउँदै आएका सुझावहरु कार्यालयले आगामी दिनमा सम्बोधन गर्दै लैजाने प्रतिवद्धता जनाए ।
वडा अध्यक्ष श्रेष्ठले वडाबासीहरुको जिज्ञासा र सुझावलाई वडाले आगामी दिनमा सम्बन्धन गर्दै लैजाने प्रतिवद्धता जनाए ।
कार्यक्रमको उदेश्यसहित स्वागत वडा सचिव उत्सव कट्टेल र वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी जानकारी वडा अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३१ जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले चुलाचुली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन सुरु गरेको हो ।
बाँकी सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमका तस्विरहरु :