इलाम : १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (मंगलबार) देखि इलामको फाकफोकथुम गाउँपालिकामा सुरु हुँदैछ ।
फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक खेलकुल विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।
सधैं इलाम सदरमुकाममा संचालन हुँदै आएको प्रतियोगिता यसवर्ष पहिलो पटक सदरमुकाम बाहिर संचालन हुन लागेको हो ।
प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल संचालन हुनेछन् ।
राष्ट्रपति रनिङ शिल्ड संचालन निर्देशिका बमोजिम प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु संचालन हुनेछन् । जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा रग्वी खेल संचालन हुनेछ ।
प्रतियोगिताका लागि १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरी छनौट भएका खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका गरी नौ सयदेखि एक हजार जनाको उपस्थिती हुने अनुमान गरिएको अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।
प्रतियोगितामा सम्पूर्ण खेलको नतिजालाई एकीकृत गरी पालिकालाई विजेता तथा उपविजेता घोषणा गरिनेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीले पदक, नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको व्यवस्थापनको काम फाकफोकथुम गाउँपालिकाले गरेको छ । खेलाडी र व्यवस्थापक टिमलाई गाउँपालिकाले स्थानीय बस्तीहरुमा होमस्टेको अवधारणाअनुसार राख्नेछ । त्यसका लागि एक सय घरलाई होमस्टेको रुपमा तयारी गरेको छ ।