इलाम : इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड १४ लाख रुपैयाँको लागतमा चारवटा सिचाई कूलो निर्माण सुरु भएको छ ।
माङसेबुङ गाउँपालिकाको वडा नम्बर १ का विभिन्न चारवटा टोलमा छुट्टाछुट्टै सिचाईं कूलो निर्माण सुरु भएको छ । गाउँपालिकामा संचालित साना सिचाईं कार्यक्रम अन्तरगत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ क्षेत्रमा सिचाईं कूलो निर्माण सुरु भएको हो ।
स्थानीय लम्फेवा खोलाबाट तिनवटा सिचाईं कूलो र फेवाखोलाबाट एउटा सिचाईं कूलो निर्माण भएको हो । पाटीगाउँमा ४८ लाख रुपैयाँको लागतमा कृषि सिचाईं कूलो निर्माण सुरु भएको छ । लम्फेवा खोलाबाट पानी ल्याउने गरी दुई हजार दुई सय मिटर लम्बाईको कूलो निर्माण हुनेछ । जसमध्ये नौ सय ९२ मिटर पक्की ढलानको काम हुने वडा अध्यक्ष भूपाल योङहाङले जानकारी दिए । सो सिचाईं कूलो निर्माण सम्पन्न भएपछि पाटीगाउँ र आसपासका ४० घुरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।
लम्फेवा खोलाबाटै पानी ल्याउने गरी गजुरमुखी धाम आसपासका लागि ४५ लाख रुपैयाँको लागतमा अमले सिचाईं कूलो निर्माण सुरु भएको छ । त्यहाँ दुई हजार मिटर लम्बाईको कूलो निर्माण हुनेछ । जसमध्ये आठ सय ५० मिटर पक्की ढलानको काम हुनेछ । सो सिचाईं कूलो निर्माण सम्पन्न भएपछि गजुरमुखी धाम र आसपासका ३४ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।
त्यस्तै लम्फेवा खोलाबाटै पानी ल्याउने गरी दोभान क्षेत्रमा ५३ लाख रुपैयाँको लागतमा सातविसे सिचाईं कूलो निर्माण सुरु भएको छ । सो कूलो एक हजार मिटर लम्बाईको निर्माण हुनेछ । जसमध्ये एक हजार एक सय २० मिटर पक्की ढलानको काम हुनेछ । सो सिचाईं कूलो निर्माण सम्पन्न भएपछि दोभान र आसपासका ३२ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यसैगरी वडा नम्बर १ र २ को सीमानामा पर्ने फेवा खोलाबाट पानी ल्याउने गरी तोभाङमा ६८ लाख रुपैयाँको लागतमा चउरीबोटे सिचाईं कूलो निर्माण सुरु भएको छ । त्यहाँ तिन हजार मिटर लम्बाईको कूलो निर्माण हुनेछ । जसमध्ये एक हजार तिन सय ७५ मिटर पक्की ढलानको काम हुनेछ । सो सिचाईं कूलो निर्माण सम्पन्न भएपछि तोभाङ र आसपासका ३१ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।
कूलो निर्माणका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी रहेको छ । चारवटै कूलो चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी निर्माण भईरहेको वडा अध्यक्ष योङहाङले बताए ।
‘माङसेबुङको मुख्य मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि सुरु भएको सिचाईं कूलो निर्माणको कार्यलाई तीब्र बनाईएको छ’ वडा अध्यक्ष योङहाङले भने, ‘चारवटै कूलो चालू आर्थिक वर्षको असार समान्तसम्म सम्पन्न गर्ने गरी अगाडी बढाएका छौं ।’ सो कूलो निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रका एक सय ३७ घरधुरी किसानहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।
युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायिकरणबाट आय आर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिचाई कार्यक्रम संचालन भईरहेको छ ।