दूध बेचेर मासिक ६८ हजार कमाउँदै भवानी

इलाम : इलाम फाकफोकथुम गाउँपालिका ४ का एक किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । फाकफोकथुम ४ थामडाँडाका किसान भवानी खनालले दूध बेचेर मासिक ६८ हजार रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

दैनिक ४० लिटर दूध बिक्रि गरी खनाल परिवारले मनग्य आम्दानी गरिहरहेका छन् । त्यहाँ उत्पादित दूध स्थानीय सहकारी संस्थाले किन्न गरेको छ । २० वर्ष अघिसम्म स्थानीय जातका गाई पालन गर्दै आएका खनालले राम्रो आम्दानी नभएपछि उनले उन्नत जातका गाई पाल्न थालेका हुन् ।

घाँसको समस्या नहुने फाकफोकथुममा गाईपालन व्यवसाय फस्टाउँदो छ । अहिले दुई माउ उन्नत गाईको दूध बिक्रि गरेर खनालले स्थानीय थामडाँडा कृषि तथा पशुपालन सहकारी संस्थाबाट मासिक ६८ हजार आम्दानी लिने गरेका छन् ।

खनालले १० वर्ष अघि वैदेशिक रोजगारीबाट फर्केर उन्नत जातको गाईपालन सुरु गरेका हुन् । स्थानीय जातका गाई पालनबाट दैनिक १४ लिटर दूध बिक्रि गर्ने खनाल परिवारले अहिले ४० लिटर दूध सहकारी संस्थामा बिक्रि गर्दै आएका छन् । किसानले दूधको मुल्य समेत राम्रै पाउने गरेका छन् । प्रतिलिटर ६० देखि ७० रुपैयाँसम्ममा दूध बिक्री हुने गरेको खनालको भनाई छ ।

मासिक ६८ हजार संस्थाबाट थाप्ने खनालको मासिक १० हजार घाँस र १५ हजार श्रममा खर्च गर्दापनि ३३ हजार खुद आम्दानी हुन्छ । ‘बिहान र बेलुकाको नियमित काम गाई स्याहार्ने नै हो । दिउँसो अन्य काम गर्न पनि भ्याइन्छ’ खनालले भन्छन्, ‘उन्नत जातको गाईपालनबाट सबै खर्च कटाएर मासिक ३३ हजारजति बचत हुँदो रहेछ । यसले छोराछोरी पढाउन र घरखर्च चलाउन पुगिरहेको छ ।’

वैदेशिक रोजगारी सरह स्वदेशमै आम्दानी गर्न पाएकोमा खनालकी पत्नी सजना ढकाल पनि खुशी छन् । विदेमा अर्काको देशमा परिश्रम गरेको कमाईभन्दा आफ्दै गाउँघरमा गाईपालनबाट गरेको आम्दानीले सन्तुष्ट मिलेको ढकाल बताउँछिन् ।

खनालको व्यावसायिक गाईपालनबाट गाउँका किसानहरु पनि पशुपालनमा आकर्षित भएका छन् । खनालसँगै थामडाँडाका ५० बढी किसानहरु व्यवासायिक गाईपालनमा लागेका छन् । उनीहरुले थामडाँडा कृषि तथा पशुपालन सहकारी संस्थामा दूध बेच्ने गरेका छन् । खनाल परिवारको दैनिक संकलन हुने दूध संस्थामा पुर्याउन दुवैजना जाने गरेका छन् । सहकारी संस्थाले किसानबाट प्रतिलिटर ६० देखि ७० रुपैयाँसम्ममा दूध किन्ने गरेको छ । सो सहकारी संस्थाले स्थानीय किसानबाट मासिक १४ लाख रुपैयाँ बराबरको दूध किन्ने गरेको जनाएको छ ।

ग्रामीण क्षेत्रमा खनाल परिवारले गाई पालनबाट गरेको आम्दानी गाउँमा मात्रै नभएर वैदेशीक रोजागरीका लागि सहर धाउने युवाका लागि उदाहरण बनेको छ । पशुपालनलाई व्यवसायीक प्रोत्साहान गर्न गाउँपालिकाले पनि योजना बनाएको अध्यक्ष दिपेन्द्र खनालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार