चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ ।
गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुआत गरेको हो ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको हो ।
सबै वडावडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने तयारी गरेको चुलाचुलीले मंगलबार ५ नम्बर वडा कार्यालयमा पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।
चुलाचुली गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वडा नं. ५ र गाउँपालिकाको विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई वडा कार्यालयको सभाहलमा भएको हो ।
चुलाचुली गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा ७० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा ९ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा दिलु राई, दीपक मगर, डेनी राई, रामप्रसाद तामाङ, नविनकुमार राई, माधवप्रसाद न्यौपाने, गोपाल आचार्य, रामप्रसाद पौडेल र चन्द्रकुमार थापाले चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलकुमारी लावती लिम्बू, वडा अध्यक्ष बबिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलनकुमार भट्टराई, प्रशासन शाखा प्रमुख तीर्थराज खरेललगायतले दिएका थिए ।
उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । चुलाचुली गाउँपालिका अध्यक्ष केरुङले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘सौहार्दपूर्ण रुपम प्रश्न र सुझावहरु राखिदिनुभयो । कतिपय हामीले नसम्झेका विषयहरु पनि राखिदिनुभएको छ । यसले काम गर्ने उर्जा थपेको छ । यसलाई आगामी नीति, कार्यक्रम र योजनामा समेटिन्छन्’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘गाउँपालिका हामी सबैको साझा हो । सबै मिलेर काम गरौं । हामीलाई निरन्तर सुझावहरु दिनुहोला, हामी ग्रहण गर्नेछौं ।’
गाउँपालिका उपाध्यक्ष लिम्बूले सेवाग्राहीहरुबाट गुनासोहरु आउन स्वभाविक रहेको उल्लेख गर्दै आगामी दिनमा गुनासो नआउने गरी काम गर्ने प्रतिवद्धता जनाइन् । ‘हामीले काम गर्न थालेको धेरै भएको छैन । सबै नागरिकको माग पूरा गर्न सकिएको छैन । त्यसैले गुनासोहरु आउन स्वभाविक हो’ उपाध्यक्ष लिम्बूले भनिनन्, ‘तर आगामी दिनमा सकेसम्म नागरिकको गुनासो नआउने गरी काम गर्नेछौं ।’
वडा अध्यक्ष राईले वडाबासीहरुको कुरा सम्बन्धन गर्दै जाने प्रतिवद्धता जनाए । ‘यहाँहरुको सकारात्मक सुझाव र सल्लाहले थप काम गर्न हौसला मिलेको छ’ वडा अध्यक्ष राईले भने, ‘भ्रष्टाचाररहित सरकार एवम् जनताप्रति उत्तरदायी, पारदर्शी, इमान्दारिता, सेवामुखी र निष्पक्षता हाम्रो परिचय हो, यही अनुरुप काम गर्नेछौं ।’
कार्यक्रमको स्वागत वडा सचिव पदम पौडेल र वडाको हालसम्मको विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी जानकारी वडा अध्यक्ष राईले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३१ जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३१ जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
बाँकी सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमका तस्विरहरु :