इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ स्थित चिसोपानी माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरफ ६८ औं वार्षिक उत्सव मनाएको छ ।
विहीबार विद्यालयमा वार्षिक उत्सवका अवसरमा साँस्कृतिक कार्यक्रम, छात्रवृत्ति वितरण एवम् सहयोगदाताहरुलाई सम्मान गरेको छ ।
वार्षिक उत्सवका अवसरमा विभिन्न कक्षाका ६ जना विद्यार्थीलाई ७० हजार पाँच सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ ।
विभिन्न ३ वटा अक्षयकोषमार्फत २०७६, ०७७ र ०७८ को माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ का सर्वोत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
२०७६ को एसईईको उत्कृष्ठ मनाहाङ, २०७७ को एसईईको उत्कृष्ठ कल्पना भुजेल र २०७९ को एसईईको उत्कृष्ठ प्रजल रोकालाई प्रतिविद्यार्थी ११ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको छ ।
त्यस्तै २०७६ को कक्षा १२ उत्कृष्ठ पविता राई, २०७७ को कक्षा १२ उत्कृष्ठ निलू राई र २०७८ को कक्ष १२ उत्कृष्ठ अविन इदिङ्गोलाई प्रतिविद्यार्थी १२ हजार पाँच सय रुपैयाँका दरले छात्रवृति वितरण गरेको छ ।
उनीहरुलाई पवित्रदिलमाई (माङछा) राई स्मृति अक्षयकोष, विद्याप्रसाद (गुरु सचितानन्द) स्मृति अक्षयकोष र स्वर्गीय धनवीर कोयु स्मृति अक्षयकोषको ब्याजबाट र विद्यालयका तर्फबाट १ हजार थप गरी छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक तिलबिक्रम सुब्बाले जानकारी दिए ।
वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको कोरोना भाईरस (कोभिड १९) का कारण ०७६ देखि छात्रवृत्ति वितरण हुन नसकेकाले यसवर्ष एकैपटक वितरण गरिएको प्रधानाध्यापक सुब्बाले जानकारी दिए ।
यसैबीच सोही कार्यक्रममा विद्यालयलाई १ लाख ५ हजार रुपैयाँको स्वर्गीय जयप्रसाद एवाई राई स्मृति अक्षयकोष र ५० हजार पाँच सय ५५ रुपैयाँको स्वर्गीय प्रतबहादुर कोयु तथा पूर्णीमाया राई स्मृति अक्षयकोष प्राप्त भएको छ । छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्न सम्बन्धित परिवारले रकम विद्यालयलाई उपलब्ध गराएको प्रधानाध्यापक सुब्बाले जानकारी दिए ।
वार्षिक उत्सवको अवसरमा यसअघि अक्षयकोष स्थापना गर्न रकम उपलब्ध गराउने तिन जनाको परिवारलाई सम्मान गरेको छ । कार्यक्रममा दुई लाख रुपैयाँको पवित्रदिलमाई (माङछा) राई स्मृति अक्षयकोष स्थापना गर्ने परिवारका जोतिकुमार राई र लक्ष्मीदेवी राईलाई सम्मान गरेको छ ।
त्यस्तै एक लाख ५० हजार रुपैयाँको विद्याप्रसाद (गुरु सचितानन्द) स्मृति अक्षयकोष स्थापना गर्ने परिवारका सुवासचन्द्र राई, कुमार राई, सुरेश राई, कमल राई, नारायण राई उदय राईलाई एवम् एक लाख रुपैयाँको स्वर्गीय धनवीर कोयु स्मृति अक्षयकोष स्थापना गर्ने परिवारका फूलकुमारी राईलाई सम्मान गरेको हो ।
वार्षिक उत्सवका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम संचालन भएको छ ।
२०११ सालमा स्थापना भएको सो विद्यालयमा चार सय ५ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सुब्बाले विद्यालयको संक्षिप्त प्रतिवेन प्रस्तुत गरेका थिए । कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, शिक्षा अधिकृत बुद्धि खतिवडासहित जनप्रतिनिधि, समाजसेवी, अभिभावक, विद्यार्थीहरुको उपस्थिति थियो ।