अव्यवस्थितढंगले फोहोरमैला फ्याँक्दा घुर्बिसे आसपासका सडक डम्पिङ साइड बन्दै (फोटो फिचर)

  युद्धबहादुर बोहोरा
231 Shares

घुर्विसे पञ्चमीः हरेक ठाँउमा आगन्तुकलाई स्वागतको लागि घर,आँगन र बाटो घाटोहरुमा फुल,बोट विरुवा अनि सफाइका साथ सजाइएको हुन्छ । तर,यस ठाउँमा भने यो बजार हुँदै ओहोरदोहोर गर्ने यात्रुहरुलाई फोहोरले स्वागत गरिएको छ । राँके,रवि,फाकफोकथुम,मिक्लाजुङ,फाल्गुनन्द,कुम्मायक(यासोक),तुम्वेवा गाउँपालिका,दमकलगायत सयौं सवारी साधान दैनिक आवातजावात गर्ने यस बजारको आसपासका सडक दुर्गन्धित देखिन्छन् । इलाम र पाँचथर दुई जिल्लाको सिमानामा पर्ने घुर्बिसे पञ्चमीमा अव्यवस्थितढंगले फोहोर फ्याँक्दा बजारको सुन्दरतानै कुरुप बन्न थालेको छ । बजारबासीले आफ्नो मनोमानी फोहोर जतापायो त्यतै फ्याँक्न थालेपछि आसपासका सडकहरु डम्पिङ साइट झैं बनेको छ । बजार नजिकैको बाटोमा फोहोर डंगुर र छरपष्ट देखेर ओहोरदोहोर गर्ने मानिसहरु छक्क पर्छन् अनि बजारबासीदेखि लज्जित बन्ने गरेका छन् । फोहोरको डंगुरमा सुँगुर,कुखुरा र कुकुरका बथान खेलिरहेका हुन्छन् ।

पहाडी क्षेत्रको सानो र सफा बजार हुनु पर्नेमा अहिले कुरुप बजार देखिन थालेपछि र कोरोना ,महामारीले आर्थिक मन्दी भएकाले यहाँको भिडभाड पनि घट्न थालेको छ ।

फोहोर व्यवस्थापन गर्ने ठाउँको उचित प्रबन्ध नहुँदा साथै सानो बजार भएतापनि हरेक महिनामा २ पटक हटिया लाग्ने हुँदा फोहोर उत्पन्न हुने गर्दछ । हाल फोहोर फ्याक्ने तथा संकलन गर्ने कुनै प्रविधि नभएकाले बजार बासीले आँफैले सडकको छेउमा फोहोर फ्याक्ने गरेका छन् । यस बजारमा विभिन्न मदिरा कम्पनीका डिलरले ल्याउने गरेको बोतल फिर्ता नलैजाँदा सिसाका बोटल जतातै फ्याँकिएको भेटिन्छन् ।

यस बजारको माथिल्लो भाग इमानसिंह सालिकको छेउमा र तल्लो भाग बजार निकास भएपछि खेलमैदानको बाटो छेउमा फोहोर फ्याकिने गरिएको छ । यसले पर्यावरणमा प्रदूषणको मात्रा बढाउने र हाल फोहोर फ्याकिएको ठाउँदेखि तल खानेपानीका मुहान समेतलाई असर गर्ने संभावना छ ।

यहाँबाट बर्षातको समयमा भलबाढी जाँदा बजारदेखि तल्लो क्षेत्रमा रहेका बासिन्दाले खेती गर्ने खेतीयोग्य जमिनमा बजारबाट बगेर गएका सिसाको बोतलहरु बेटिएको र उनीहरुलाई चोटपटक लाग्ने गरेको समेत गुनासो गरेका छन् । सडकमा फालिएका बोटलले गर्दा सवारी दुर्घटना हुने जोखिम बढेको छ । यस्तो समस्याको दिर्घकालीन समाधान गर्न सम्बन्धित निकायले समयमै बिचार नपुर्याए भावी दिनमा यसले ठूलो असर पार्न सक्दछ । । फोहोरमैला व्यवस्थापन संसारभर चुनौती बनीरहेको बेला सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, आम नागरिक सबैको सहकार्य र समन्वयबाट फोहोरमैला व्यवस्थित गर्न र यसलाई नागरिकस्तरबाट पनि फोहोरमैला व्यवस्थापनमा सहयोग र सहभागिताको उतिकै अपरिहार्य छ । फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना, टोलटोलमा अन्तर्क्रिया कार्यक्रम संचालन गर्न आवश्यक छ । यसको व्यवस्थापन सरकारको मात्र दायित्व नभई प्रत्येक नागरिकको कर्तव्य भएको सबैले महसुस गर्न जरुरी छ ।

 

फोहोरमैलाको न्यूनीकरण, वर्गीकरण र निष्कासनको जानकारी दिंदै राम्रो सरसफाइ गर्नेलाई प्रोत्साहन गर्ने,सार्वजनिक स्थलमा फोहोर विसर्जन गर्ने,कानुन उल्लङ्घन एवं अटेरी गर्नेलाई दण्डात्मक उपायको अवलम्बन गर्न सके केही हदसम्म फोहोरमैलाको जटिल समस्याबाट जोगिन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार