सिरक र ज्याकेट बोकेर ज्येष्ठ नागरिकको घरघरमा फाकफोकथुमका जनप्रतिनिधि

  राम योङहाङ
322 Shares

इलाम : निर्वाचनको बेला अधिकांश नेताहरू विभिन्न आश्वासन बाँड्दै जनताको घरघरमा पुग्ने गर्छन् । ज्येष्ठ नागरिक, महिला, बालबालिका एवम् विपन्न जनतालाई विभिन्न आश्वासन दिदैं मत माग्छन् ।  निर्वाचन पश्चात जितेका होस् वा हारेका, प्राय नेताहरू फर्केर जनताका घरमा कहिल्यै पुग्दैनन् ।

तर, जिल्लाको फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधिहरु भने यतिबेला जनताको घरघरमा पुगेका छन् । उनीहरू जनतामाझ कुनै आश्वासन बाँड्न एवम् मत माग्न भने पुगेका होइनन् । उनीहरू त, गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै गाउँघर पुगेका हुन् ।

जाडो मौसम सुरु भएसँगै फाकफोकथुम गाउँपालिका भित्रका ८५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सिरक र ज्याकेट वितरण गर्दै हिँडेका हुन् । फाकफोकथुम गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्ष र सदस्यहरु गाउँपालिकाको तर्फबाट आआफ्नो वडाको टोलटोलमा पुगेर ज्येष्ठ नागरिकलाई जाडोबाट बाँच्नका लागि फाइबर सिरक र ज्याकेट वितरण गरेका हुन् । गाउँपालिकाले जाडोको समयमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर ७ वटै वडाका टोलटोलमा पुगेर सिरक र ज्याकेट वितरण गरेको हो ।

माघ पहिलो सातादेखि वडा नम्बर ३ को आमचोकबाट ज्येष्ठ नागरिकहरूलाई सिरक र ज्याकेट वितरण सुरु गरेको गाउँपालिकाले ७ वटै वडाका ८५ वर्ष भन्दा माथिका एक सय ४३ ज्येष्ठ नागरिकलाई सिरक र ज्याकेट वितरण गरेको छ ।

गाउँपालिकाले सबै वडामा वडा कार्यालयमार्फत सम्बन्धित वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख विमला येक्तेनले जानकारी दिइन् । येक्तेनको अनुसार वडा नम्बर १ का २०, वडा नम्बर २ का २०, वडा नम्बर ३ का १४, वडा नम्बर ४ का २५, वडा नम्बर ५ का १६, वडा नम्बर ६ का २२ र वडा नम्बर ७ का २६ जना ज्येष्ठ नागरिकलाई एक एक वटा सिरक र ज्याकेट वितरण गरिएको छ ।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणका लागि फाकफोकथुम गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० का लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो ।

गाउँपालिका भरीका सबै वडाका ८५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई वडावडामा नै न्यानो कपडा वितरण गर्ने गरी पालिकाबाट एकमुष्ठ रकम विनियोजन गरिएको वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र लिम्बूले बताए । ‘हामीले सबै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणका लागि पालिकाको सभाबाट नै एकमुष्ठ बजेट विनियोजन गरेका थियौं’ वडाअध्यक्ष लिम्बूले भने, ‘ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् । उहाँहरुलाई सम्मानस्वरुप यस्तो कार्यक्रम पालिकाबाट ल्याएका हौं ।’ लिम्बूले ज्येष्ठ नागरिकको सम्मानका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।

जाडोमा न्यानो कपडा पाएपछि ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले जाडोका बेला दिएको सिरक र ज्याकेटले आफूहरुलाई थोरैभएपनि मुक्ति मिलेको ज्येष्ठ नागरिकहरुले बताएका छन् ।

गाउँपालिकाले यसअघि ज्येष्ठ नागरिकलाई छाता र बर्की वितरण गरेको थियो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार फाकफोकथुम गाउँपालिकाको परिवार संख्या ४ हजार नौ सय २३ र जनसंख्या २० हजार चार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार