इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको छ ।
गाउँपालिका भित्रका ८५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सिरक र ज्याकेट वितरण गर्न सुरु गरेको हो ।
गाउँपालिकाले बुधबार वडा नम्बर ३ बाट न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको हो । बुधबार पालिकाले वडा नम्बर ३ का ८५ वर्षभन्दा माथि उमेर समूहका १४ जना ज्येष्ठ नागरिकलाई सिरक र ज्याकेट वितरण गरेको छ ।
वडा अध्यक्ष दिपेन्द्र लिम्बूले आफ्नो वडाका ज्येष्ठ नागरिकलाई सिरक र ज्याकेट वितरण गरे ।
ज्याकेट वितरण गर्दै वडाअध्यक्ष लिम्बूले सबै वडाका ८५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई वडावडामा नै न्यानो कपडा वितरण गर्ने गरी पालिकाबाट एकमुष्ठ रकम विनियोजन गरिएको बताए ।
‘हामीले सबै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणका लागि पालिकाबाट नै एकमुष्ठ बजेट विनियोजन गरेका थियौं’ वडाअध्यक्ष लिम्बूले भने, ‘ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् । उहाँहरुलाई सम्मानस्वरुप यस्तो कार्यक्रम पालिकाबाट ल्याएका हौं ।’
जाडोमा न्यानो कपडा पाएपछि ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।
गाउँपालिकाले सबै वडामा वडा कार्यालयमार्फत सम्बन्धित वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने तयारी गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख विमला येक्तेनले जानकारी दिइन् ।
येक्तेनका अनुसार पालिकाभरीका ८५ वर्षभन्दा माथि उमेर समूहका एक सय ४३ जना ज्येष्ठ नागरिकलाई एउटा सिरक र एउटा ज्याकेट वितरण हुनेछ ।
ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणका लागि फाकफोकथुम गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० का लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो ।