आजदेखि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान : जेष्ठ नागरिक र बालबालिकालाई छुट

  नयाँ बुलन्द
399 Shares

इलाम : गत वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज (आइतबार) देखि पुन: उडान सुचारु हुने भएको छ ।  नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन दिन काठमाडौं-इलाम र इलाम-काठमाडौं उडान गर्ने इलाम नगरपालिकाले जनाएको छ ।

सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको नगरप्रमुख केदार थापाले जानकारी दिए । इलामबाट काठमाडौंका लागि विहान साढे ९ बजे उडान हुने तालिका बनाइएको छ । १९ सिट क्षमताको ट्विनअटर जहाज संचालन हुनेछ ।

इलाम नगरपालिकाका अनुसार इलामबाट काठमाडौंको एकतर्फी भाडा छ हजार तीन सय तोकिएको छ । काठमाडौंबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय तोकिएको छ ।

तर जेष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

त्यस्तै एक उडानमा दुई जना २५ वर्ष ननाघेका विद्यार्थीलाई विद्यार्थी परिचयपत्र र उमेर खुल्ने प्रमाणपत्रको आधारमा करबाहेकको रकममा २५ प्रतिशत भाडा छुट गरिएको छ । त्यसैगरी २ वर्षदेखि १२ वर्ष सम्मका सबै बालबालिकालाई जन्म दर्ताको भाडामा २५ प्रतिशत छुट छुट गरिएको छ ।

यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तल्लाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । इलाम-काठमाडौं र काठमाडौं-इलाम उडानमा ५० देखि ५५ मिनेट लाग्नेछ ।

उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले इलाम नगरपालिकासँगको सम्झौतामा व्यवसायिक उडान सुरु गरेको थियो । तर ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रुपमा उडान बन्द गरेपछि विमानस्थल सुनसान थियो । इलाम नगरपालिकाको पहलमा पुन: उडान सुचारु गर्ने भएपछि जिल्लाबासीहरु हर्षित भएका छन् ।

यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ ।

फाल्गुनन्द विमानस्थल निर्माणका २० वर्षपछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको थियो । इलाममा छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ  ।

२०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो । २१ जेठ २०७५ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । करिब २८ करोड रुपैयाँ खर्चमा पक्की धावनमार्गसहितको विमानस्थल निर्माण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार