इलाम : अधिकांश बेरोजगार नेपाली युवाहरु वैदेशिक रोजगारका शिलशिलामा परदेश जान्छन् । जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । फुङलिङ नगरपालिका ५ ताप्लेजुङका युवा गोपाल मगर त्यस्तै युवा हुन्, जसले सात वर्षसम्म परदेशमा खर्चिए । तर अहिले भने परदेश त्यागेर स्वदेशमै श्रम खर्चिँदैछन् ।
सात वर्षको जापान बसाइलाई बीट मारेर स्वदेश फर्किएका मगर व्यावसायिक कृषिमा लागेका छन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि र पशुपालन क्षेत्रमा लगानी गरेर आफू स्वरोजगार मात्र बनेका छैनन्, १३ जना वेरोजगार युवाहरुलाई रोजगारी समेत दिलएका छन् । विदेशमा सिकेको सीप स्वदेशमा नै खर्चदैं मगर व्यावसायिक रुपमा नै कृषि र पशुपालनमा लागेका हुन् ।
मगरले इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ शिवओरक गाउँमा दुई विघा जग्गा १५ वर्षका लागि लिजमा लिएर कृषि र पशुपालन व्यवसाय संचालन गरिरहेका छन् । मगरको ‘गौथले कृषि तथा पशुपंक्षी फार्म’ छ । फार्ममा बंगुर, लेयर कुखुरा, ब्रोइलर कुखुरा र स्थानीय जातका बाख्रा छन् ।
गत वर्षदेखि सुरु गरेको मगरको फार्म ३० वटा बंगुर, पाँच हजार वटा लेयर कुखुरा, १७ हजार वटा ब्रोइलर कुखुरा र तीन दर्जन स्थानीय जातका बाख्रा छन् । यसबाहेक फार्ममा मौसमअनुसारको तरकारी पनि छ । उनको फार्ममा टमाटर, तितेकरेला, भेडे खुर्सानी, स्थानीय खुर्सानी, सिमीलगायत तरकारी समेत छन् ।
त्यहाँ उत्पादिन कृषि र पशुजन्य उत्पादनहरु नजिकै झापाको दमकमा खपत हुने गरेको छ । बंगुरको बजार राम्रो नभएपनि कुखुरा र तरकारीले राम्रै आम्दानी दिइरहेको मगर बताउँछन् । ‘बंगुरको बजार राम्रो छैन । बंगेरबाट लगानी उठाउन नै हम्मे परिरहेको छ । तर कुखुरा र तरकारी खेतीबाट राम्रै आम्दानी भइरहेको छ’ मगरले भने, ‘भर्खर भर्खरै सुरु गरेको व्यवसाय हो, स्थापित भइसकेको छैन । तरपनि १३ जनालाई रोजगारी दिन भने पुगिरहेको छ । विस्तारै बझ राम्रो हुँदै जान्छ भन्ने आशा छ ।’
एक करोड रुपैयाँको लगानीमा सुरु गरेको मगरको व्यवसायमा हालसम्म दुई करोड रुपैयाँ खर्च भइसकेको छ । मगरले फार्मबाटै माटोमा उत्पादन गरेर उपभोक्ताको मुखसम्म पुर्याउने गरीको ऋङ्खला तयार गर्ने योजनाका साथ अघि बढेका छन् ।
त्यसका लागि उनले लेयर कुखुरा पालनदेखि मासुपसल सम्मको व्यवसाय सुरु गरेका छन् भने तरकारी पसलको समेत तयारीमा छन् । लेयर र कुखुराको दानाका लागि उत्पादक कम्पनीसँग सिधै सम्पर्क गरी ल्याउने गरेका छन् । अण्डा उत्पादनका लागि लेयर, मासु उत्पादनका लागि ब्रोइलर पालेर मासु पसल समेत सञ्चालन गरका छन् । मगरको झापाको दमकमा तीनवटा मासुपसल संचालनमा छ । एउटा खसीको मासु पसल र दुइवटा कुखुराको मासु पसल संचालनमा छ ।
‘हामी उत्पादनदेखि उपभोक्ताको मुखसम्म पुर्याउन आफैं लागिपरेका छौं । त्यसका लागि करिब आधा काम सकियो । अब आधा काम धमाधम भइरहेको छ’ मगर भन्छन्, ‘आफैं उत्पादन गरेर उपभोक्तासम्म पुर्याउने हो भने विचौलियाको भर पर्नु नपर्ने र ग्राहकले पनि गुणस्तरीय उत्पादन उपभोग गर्न पाउँनेछन् ।’
उनको व्यवसायिक कृषि तथा पशु फार्मलाई व्यवस्थित गर्न कृषि ज्ञान केन्द्र इलामले ५ लाख सहयोग गरेको छ । परम्परागत शैलीको व्यवसायलाई विस्थापित गर्दै कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका मगरले झापाको दमकमा समेत ३ वटा अन्य फार्म संचालनमा ल्याएका छन् ।
सबै फार्मबाट दैनिक १ देखि २ लाख रुपैयाँको कारोबार हुने गरेको छ । स्वदेशमा नै बसेर भएपनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन करोडौं खर्चेर व्यवसाय सुरु गरेको मगर बताउँछन् । ‘आफ्नो पुस्तालाई पुग्नेजति त जापान बसेर कमाएकै थिए । मलाई बसीबसी खान पुग्दथ्यो’ मगले भने, ‘तर उनले स्वदेशमै बसेर पनि स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण दिन करोडौं खर्चेर व्यवसाय सुरु गरेको हुँ ।’
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले गाउँपालिकाभित्र व्यवसायिक कृषि र पशुपालन व्यवसाय गर्ने व्यवसायीहरुलाई पालिकाले व्यवसाय प्रवर्द्धनको नीति लिएको बताउँदै आगामी दिनमा सहयोग गर्दै लगिने बताए । चुलाचुलीका कृषकहरुलाई गाउँपालिकाले अनुदानमा कृषि तथा पशुसामग्री वितरण गर्दै आएको छ ।