चुलाचुली गाउँपालिकाले उपलब्ध गरायो सामुदायिक विद्यालयलाई स्कूल बस

  नयाँ बुलन्द
770 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले भने आफ्ना लागि सवारी साधन खरिद गर्न छुट्याएको रकमले विद्यालयका लागि स्कूल बस खरिद गरिदिएका छन् । अध्यक्ष राजेन्द्र केरुङले आफ्ना लागि गाडी किन्न छुट्याईएको बजेटबाट पहिलो पटक एक सामुदायिक विद्यालयलाई स्कूल बस किनिदिएका हुन् ।

विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन भन्दै अध्यक्ष केरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको वडा नम्बर २ स्थित बाह्रगोठेमा रहेको जनता माध्यमिक विद्यालयलाई स्कूल बस किनिदिएका हुन् ।

सो स्कूलबस सोमबार एक कार्यक्रम गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपीन योङ्या र प्रधानाध्यापक लक्ष्मेश्वर बनबरिया यादवलाई हस्तान्तरण गरे । उपाध्यक्ष दिलकुमारी योङहाङ (लावती) र प्रमुख प्रशाकसीय अधिकृत डिल्लीराम सुवेदीसकेत उपस्थितीमा अध्यक्ष केरुङले विद्यालयलाई स्कूल बस हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले पहिलो गाउँसभाबाट सावरी साधन खरिद गर्न एक करोड रुपैयाँ विनियोजन गरेका थिए । सोही रकमबाट ४१ लाख ६९ हजार रुपैयाँमा विद्यालयका लागि स्कूल बस खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । पालिकाले खरिद गरेर दिएको र संचालन खर्च सबै विद्यालयले व्यहोर्ने शर्त रहेको सुवेदीले बताए ।

विद्यालयलाई स्कूल बस हस्तान्तरण गर्दै अध्यक्ष केरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने उदेश्यका साथ प्रोत्साहन गरिएको बताए । ‘सामुदायिक विद्यालयला अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका लागि बस किनिदिएका हौं’ अध्यक्ष केरुङले भने, ‘प्राविधिक विषय (सिभिल इन्जिनियर) अध्ययनरत विद्यार्थी र अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने हाम्रो विश्वास छ ।’

सो विद्यालयमा सिभिल इन्जिनियरका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले विद्यालयलाई स्कूलबस दिएपनि सम्पूर्ण संचालनको जिम्मा विद्यालयलाई नै रहेको छ । ‘बसले विहान पहिलो लटमा प्राविधिक शिक्षाका विद्यार्थी ल्याउने, दोस्रो लटमा माध्यमिक तहका विद्यार्थी ल्याउने, दिउँसो प्राविधि लटमा प्राविधिक शिक्षाका विद्यार्थी पुर्याउने र साँझ माध्यमिक शिक्षाका विद्यार्थी पुर्याउनेछ’ प्रधानाध्यापक यादवले भने, ‘गाउँपालिकाबाट बस पाएपनि संचालनको जिम्मा विद्यालयलाई नै भएकाले थोरै शुल्क तोकेर संचालन गर्ने तयारी भईरहेको छ ।’

बसबाट विद्यालयका सेवाक्षेत्रसहित छिमेकी जिल्ला झापाको दमक, केर्खालगायतका क्षेत्रबाट आउने विद्यार्थी लाभान्वित भएका छन् । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ प्रदेश १ का सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाका विद्यार्थी छन् । उनीहरु झापाको दमकमा बसेर विहान कक्षा लिन चुलाचुली आउने गरेका छन् । विद्यायले यसअघि स्कूलबस मासिक ५० हजार भाडामा लिएर संचालन गर्दै आएका थिए ।

यस्तै गाउँपालिकाले सर्वसाधारण नागरिकलाई एम्बुलेन्स उपलब्ध गराउने तयारी गरेको छ । एम्बुलेन्स समेत खरिद गर्ने प्रक्रियामा रहेकाले तुरुन्त नागरिकलाई हस्तान्तरण गरिने अध्यक्ष केरुङले बताए । आफ्ना लागि नयाँ गाडी किन्नुभन्दा विद्यालयलाई बस र सर्वसाधारणलाई एम्बुलेन्स दिन नै उपयुक्त ठानेको अध्यक्ष केरुङको भनाई छ ।

अध्यक्ष केरुङले अध्यक्षमा निर्वाचित हुनसाथ टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेका थिए । बैंकसँग समन्वय गरी अध्यक्ष केरुङले सामाजिक सुरुक्षा भत्ता सेवाग्राहीको घरघरमा पुगेर वितरण गर्दै आएका छन् ।

केरुङ नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा नेकपा एमाले उम्मद्वार प्रदिपचन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका केरुङ २०७९ को निर्वाचनमा भने एमालेकै उम्मेद्वार ओमनारायण खनालभन्दा झण्डै तीन हजार मतान्तका साथ निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार