माङसेबुङ : महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्थाले आफ्नो केन्द्रीय अध्यक्षको वैवाहिक उत्सवमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
‘मेची महाकाली बुहारी संयुक्त आवाज’ नामक संस्थाले केन्द्रीय अध्यक्ष यमुना सुब्बा शर्माको १९ औं वैवाहिक उत्सवमा इलामको माङसेबुङ गाउँपालिका ४ स्थित विद्यासिर्जनात्मक माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
संस्थाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको हो । त्यस्तै अतिविपन्न परिवारका दुईजना बालबालिकालाई समेत न्यानो कपडा उपलब्ध गराएको छ ।
मेची महाकाली बुहारी आवाज संस्थाकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले, दमक शाखाकी अध्यक्ष जमुना निरौलालगायत संस्थामा आवद्ध ८ जनाको समूहले विद्यालयमा उपस्थित भएर कपडा वितरण गरेको हो ।
सो विद्यालयमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी आयुस लिम्बू गरीबिका कारण सातामा एकदिन विद्यालय नआउने सधै एउटै कपडामा महिनौसम्म विद्यालय आउनुपर्ने वाध्यता देखेर विद्यालयकी शिक्षिका रीता आचार्यले गत भदौमा एकजोर कपडा उपलब्ध गराउँदै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेकी थिइन् ।
आचार्यले त्यस्ता विद्यार्थीलाई सहयोग गरिदिन सहयोगी संस्थाहरुलाई अनुरेाध समेत गरेकी थिइन् ।
उनको अनुरोधमा ‘मेची महाकाली संयुक्त बुहारी आवाज’ ले विद्यालयमा उपस्थित भएर विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
गरीबिका कारण विद्यालयको पोसाक समेत किन्न नसक्ने र सोही कारण पढाईबाट बञ्चित भएका बालबालिकालाई सहयोग गर्ने मुख्य उदेश्य अनुरुप सहयोग गरिएको उपाध्यक्ष काफ्लेले बताइन् ।
सो विद्यायमा अध्ययनरत धेरैजसो विद्यार्थी गरीबिका कारण जाडोमा पनि पातलो कपडा र चप्पलमा नै विद्यालय आउनुपर्ने वाध्यता रहेको उल्लेख गर्दै स्थानीय सरकार र सहयोगी संस्थाहरुको ध्यान जानुपर्ने शिक्षिका आचार्यको भनाई छ ।