इलाम : किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६९ औं शुभजन्मोत्सव तथा धर्मगुआमा साँवा पवित्रहाङमा लिङ्देनको नुमाङमाङगेन्ना सेवा समारोह कार्यक्रम विभिन्न कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ ।
किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसे्बुङमा विभिन्न कार्यक्रम गरी लिङदेनको ६९ औं जन्मोत्सव मनाइएको हो । जन्मोत्सवको अवसरमा आत्मानन्द कप खेदकुद प्रतियोयोगिता, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको गरिएको छ ।
मंसिर ११ देखि १७ सम्म आत्मानन्द कप खेदकुद प्रतियोयोगिता संचालन गरिएको थियो । आत्मा-पवित्र खेलकुद विकास समितिको आयोजनामा संचालित खेलकूदमा फूटबल, म्याराथुन, धनुषाकाँण, छेलो, स्लो मोटरसाइकल दौडलगायतका खेल संचालन गरिएको थियो ।
आइतबार उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) बाट धर्मगुरु लिङदेनको जन्मोत्सव समारोह उद्घाटन, आत्मानन्द कपका विजेतालाई पुरस्कार वितरण, शुभकामना आदानप्रदान, धर्मगुरुद्वारा प्रवचन तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा शुभकामना दिदैं उपराष्ट्रपति पुनले विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान रहेको बताए ।
उपराष्ट्रपति पुनले नेपालमा रहेको विविधता भित्रको एकताले मौलिक पहिचानलाई कायम गरेको दावी गरे । ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो’ उपराष्ट्रपति पुनले भने, ‘यस्ता विविधताबीचको एकता नै नेपाल र नेपालीहरुको मौलिक पहिचान हो ।’
धर्मगुरु लिङदेनले किरात धर्ममार्फत् आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचारले मानवजातिलाई नयाँ सन्देश दिइरहेको बताउँदै उपराष्ट्रपति पुनले धर्मगुरु लिङदेनको विश्वशान्ति र मानव एकताको उपदेश विश्वमा उदाहरणीय रहेको उल्लेख गरे ।
उपराष्ट्रपति पुन र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङलगायतका वक्ताले राष्टिय विभूति महागुरु फाल्गुनन्द लिङदेन र वर्तमान धर्मगुरु आत्मानन्द लिङदेनले समाज सुधारका लागि गरेको कार्यको प्रसशां गरे । वक्ताहरुले किरातीहरुको सुधारका लागि महागुरु र वर्तमान गुरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरुले देखाएको विश्व शान्ति र मानव एकताको बाटोलाई सबैले पच्छ्याए नेपालमा स्थायी शान्ति कायम हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक विभाग संयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने कार्यक्रममा मालाङ, थेबालाङ, धाननाच (या:लाङ), केलाङ (च्याब्रङ नाच), साकेला, येबालाङ, पालाम, ख्याली, हाक्पारे समेत प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा दभ्वाइस अफ किड्सका फाइनलिस्ट रुक्साना लिम्बूसहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
त्यस्तै सोमबार किरात धर्मगुरु लिङदेनबाट विशेषा आर्शीवचन भएको थियो । आशिर्वचन दिदैं किरात धर्मगुरु लिङदेनले शान्तिबाट मात्र विकास निर्माण सम्भव हुने बताए । त्यस्तै मिक्तोक (उपहार) वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक/पुस्तिका विमोचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम संचालत गरिएको थियो ।
त्यसैगरी भक्तजनहरुलाई धर्मगुरुको हस्तबाहुलीबाट माङगेन्ना चामल वितरणसँगै कार्यक्रम समापन र विदाई गरिएको छ । जन्मोत्सवमा सहभागि हुन भारत, भुटान, अमेरीका, बर्मा, बेलायतबाट समेत ठूलो संख्यामा किरात धर्मालम्वीका साथी अन्य धर्मका अनुयायी पनि उपस्थित भएका थिए ।
किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहअध्यक्ष डकेन्द्रसिंह थेगिमले गरेका थिए भने संचालन महासचिव काकीराम लावती (आन्छुमे नसान) ले गरेको थिए ।
माङसेबुङ गाउँपालिका–२ (साबिक इभाङ–५) चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन ।
धर्मगुरुकै पहलमा धुम्रपान मध्यपान निषेधित क्षेत्र
माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरुको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागु औषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा गरिएको छ । यस क्षेत्रमा पशु बध पनि निषेध छ ।
इलाम सदरमुकामबाट ५० किलोमिटर पश्चिम दक्षिणमा रहेको माङसेबुङमा गुरुको आश्रयमा हजारौं बसेका छन् । २०५० सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त्यहाँ पुगेसँगै राष्ट्रका विशिष्ट व्यक्ति आउने क्रम सुरु भएको हो ।
करिव ११ हजार जनसंख्या भएको त्यस क्षेत्रमा सडक, शिक्षा, संचार, स्वास्थ्य जस्ता अत्यावश्यक पुर्वाधार निर्माण हुन नसक्दा जनजीवन अझै कष्टकर छ । २०३४ देखि लिङदेन लारुम्बामा बसोबास गर्दै आएका हुन् । २०५० पछि विभिन्न क्षेत्रवाट धर्मालम्बीहरु स्थायीरुपमा आउने क्रम बढेको हो ।
धर्मको नाममा गरिने वलीप्रथा, सूर्तीजन्य र माधक पदार्थको सेवन निषेध हुनुपर्ने गुरुको मान्यता अनुसार यस धर्मका अनुयायी पनि बढ्दै गएका छन् । धर्मगुरुको प्रयासकै कारण किराँत भाषा, साहित्य, संस्कृति र लिपी संरक्षणको यात्राले गति लिएको अनुयायीहरु बताउँछन् ।