इलाममा खनाल सातौं र नेम्बाङ पाँचौ पटक चुनाव लड्दै


इलाम : आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निवार्चनका लागि इलाम क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र २ मा पूर्व संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले उम्मेद्वार मनोनयन दर्ता गराएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थनमा एकीकृत समाजवादीका खनालले वारेसनामा मार्फत मनोनयन दर्ता गराएका हुन् । एमालेका नेम्बाङले भने र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

खनालको यो संसदीय चुनावी यात्रा लगातार सातौं पटक हो । छैटौं पटक लगातार एमालेबाट उम्मेद्वार बन्दै आएका खनाल पटक भने नयाँ पार्टीबाट चुनावी मैदानमा उत्रदैछन् । खनालले यसअघिका छवटा चुनावमध्ये पाँच जित र एक हार व्यहोरेका छन् । खनालले २०४८, ०५१ र ०७४ को प्रतिनिधिसभा निर्वाचन एवम् ०६४ र ०७० को संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट इलाम १ बाट निर्वाचित भई संसदमा प्रतिनिधित्व गरिसेकेका छन् ।

झलनाथ खनाल

०४८ र ०५१ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरेका थिए । ०५१ मा खनालले भट्टराईलाई २ सय १० को झिनो मतले मात्र पराजित गरेका थिए । ०५६ को संसदीय निर्वाचनमा भने खनाल सोही क्षेत्रबाट नेपाली कांग्रेसका वेनुपराज भट्टराईसँग पराजित भएका थिए ।

०६४ को संविधानसभा निर्वाचनमा भने खनालले कांग्रेसका वेनुपराज प्रसाईलाई अघिल्लो हारको बदला लिदैं विजय हासिल गरे । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गर्दै संसदमा चौथो पटक विजयी बनेका थिए ।

त्यस्तै ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १ सय ७० मतान्तरले पराजित गर्दै खनाल पाँचौं पटक निर्वाचित भएका थिए । माओवादी केन्द्रको समर्थनमा बाम गठबन्धनका साझा उम्मेद्वार खनालले ३६ हजार ८ सय ७ मत पाउँदा कांग्रेसका कट्टेले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका थिए । यसपटक पनि सत्ता गठबन्धन दलको साझा उम्मेद्वार भएकाले खनालको जित सहज हुनसक्ने धेरैकोे अनुमान छ ।

खनाललाई चुनौती दिन सो क्षेत्रमा कुनैबेला खनालकै कार्यकर्ता महेश बूस्नेतले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । एमाले इलामका अध्यक्ष समेत रहेका बस्नेत इलाम नगरका निवर्तमान नगरप्रमुख समेत हुन् ।

यता क्षेत्र नम्बर २ मा नेम्बाङको संसदीय चुनावी यात्रा लगातार पाँचौं पटक हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् ।

०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्बाङले नेपाली कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । मुलुकको राजनीतिक परिवर्तनपछि भएको ०६४ मा भएको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

सुवासचन्द्र नेम्बाङ

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै थापालाई दोश्रोपटक ९ हजार ६ सय ५४ मतान्तरले पराजित गर्दै पराजित गर्दै संसदमा चौथो पटक निर्वाचित बने । माओवादी केन्द्रको समर्थनमा बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेम्बाङले ३६ हजार ५ सय १४ मत प्राप्त गरेका थिए । निकटतम् प्रतिष्पर्धी कांग्रेसका पूर्व सांसद केशव थापाले २६ हजार ८ सय ६० मत मात्र प्राप्त गरेका थिए ।

यस पटकको निर्वाचनमा नेम्बाङलाई सत्ता गठबन्धन मुख्य चुनौती बन्नेछ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्का चुनावी मैदानमा छन् ।

उता प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (१) मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकै नेतृ खिनु लङवा लिम्बू र एमालेकी सोभा पराजुलीबीच प्रतिष्पर्धा हुने भएको छ । लिम्बू प्रदेश १ की संस्कृति तथा पर्यटन मन्त्री हुन् भने पराजुली सन्दकपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । बाम गठबन्धनकी उम्मेद्वार लिम्बूले अघिल्लो निर्वाचनमा कांग्रेसका देवेन्द्रकुमार राईलाई पराजित गरेका थिए ।

क्षेत्र नम्बर १ (२) मा गठबन्धनका तर्फबाट कांग्रेसका समशेर राई र एमालेका दीपककुमार थेवेबीच प्रतिष्पर्धा हुने भएको छ । राई रोङ गाउँपालिकाका निर्वातमान अध्यक्ष हुन् भने थेवे माई नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।

त्यस्तै क्षेत्र नम्बर २ (१) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरी र एमालेका गणेशप्रसाद बरालबीच प्रतिष्पर्धा हुने भएको छ । गिरी पहिलोपटक संसदीय राजनीतिमा आएका छन् भने बराल जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख हुन् ।

क्षेत्र नम्बर २ (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्क लावती (कान्छा) र एमालेका रामबहादुर मगर रानाबीच प्रतिष्पर्धा हुने भएको छ । लावती ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन सभामुख एमाले नेता सुवासचन्द्र नेम्बाङसँग क्षेत्र नम्बर २ मा प्रतिष्पर्धा गरी पराजित भएका थिए । राना भने प्रदेश १ का पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् । राना अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर २ (१) बाट कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए ।

त्यसैगरी जिल्लामा जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेशनलगायत पार्टीले समेत केहीले सबै क्षेत्र र केहीले आंशिक निर्वाचन क्षेत्रमा उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार