माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ नं. वडा कार्यालय चतुरेले शाखा स्थापना गरेको छ ।
वडाको तल्लो भेगका सेवाग्राहीलाई लक्षित गरी भञ्याङमा शाखा कार्यालय स्थापना गरेको हो ।
आइतबार एक कार्यक्रम गरी शाखा कार्यालयको उद्घाटन गरेको छ । माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
चतुरेमा रहेको वडा कार्यालय पुग्न घण्टौंसम्म हिँड्न वाध्य स्थानीयलाई लक्षित गर्दै भञ्ज्याङमा वडा कार्यालयको शाखा विस्तार गरिएको वडा अध्यक्ष लछुमन राई (जनम) ले जानकारी दिए ।
साताको २ दिन सेवा दिनेगरी वडा कार्यालयको शाखा स्थापना गरिएको वडाध्यक्ष राई बताए । आइतबारदेखि बुधबारसम्म वडा कार्यालय चतुरेबाट एवम् विहीबार र शुक्रबार शाखा कार्यालयबाट सेवा प्रवाह गरिने तयारी रहेको उनले बताए ।
वडा कार्यालय ६ दिन नै खुल्ला हुने तर शाखा कार्यालय भने २ दिन मात्र खुल्ने वडा अध्यक्ष राईले बताए । ‘हामीसँग कर्मचारी अभाव छ । त्यसैले २ दिनमात्र शाखा कार्यालयबाट सेवा प्रवाह गर्न सक्छौं’ वडा अध्यक्ष राईले भने, ‘अत्यावश्यक कामहरु कुनैदिन रोकिदैनन् । म कार्यालय समय बाहेक भेटेरै भएपनि हस्ताक्षर गरिदिनेछु ।’
शाखा कार्यालयबाट बाघमारा, मनिपुर, लामिटार, बाकेदुम्से, रतुवाबेंसी, भञ्ज्याङ र खलंगे टोलका करिब आठ सय सेवाग्राही लाभान्वित भएको वडा अध्यक्ष राईको दावी छ ।
भञ्ज्याङमा एक सेवाग्राहीको घर भाडामा लिएर शाखा कार्यालय स्थापना गरेको हो । शाखा कार्यालय स्थापना भएपछि सामान्य सेवाका लागि घण्टौं हिँड्नुपर्ने नागरिक लाभान्वित भएका छन् ।
सो वडामा नेकपा (माओवादी केन्द्र) बाट राईले वडाअध्यक्ष जितेका हुन् । उनले निर्वाचनका बेला गरेको जनतामाझ गरेको प्रतिवद्धताअनुसार पनि शाखा कार्यालय स्थापना गरेका बताउँछन् ।
‘हाम्रो वडा साविकको इभाङ र बाँझोको भूभाग मिलाएको हुनाले भौगोलिक रुपमा मिलेको छैन’ वडा अध्यक्ष राईले भने, ‘तल्लो भेगका सेवाग्राही चतुरेसम्म आउन घण्टौंसम्म हिँड्नुपर्ने र बाटो समेत विकट भएकाले उहाँहरुका सहजताका लागि शाखा कार्यालय स्थापना गरेका हौ ।’
वडा अध्यक्ष राईको अध्यक्षतामा भएको कार्यक्रममा ५ नं. वडा अध्यक्ष नरेन्द्रकुमार राई, कार्यपालिका सदस्य सुसन राईलगायत कर्मचारी र वडाको तल्लो भेगका सेवाग्राहीहरुको उपस्थिती रहेको थियो ।
तस्वीर : मचिन्द्र लिम्बू/कर्मचारी