किरात याक्थुङ चुम्लुङको स्थापना दिवस, इलाममा ५ जनालाई छात्रवृत्ति

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु ।

इलाम : किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा इलाममा ५ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट प्रदान गरिने १० हजार रुपैयाँको एसईई सर्वोत्कृष्ठ छात्रवृत्ति अन्तरगत छात्रतर्फ खान्द्रङ माध्यमिक विद्यालय दउमाईका दिपेन लिम्बू र छात्रातर्फ जनता मावि चुलाचुलीका मौलिका जवेगूले पाएका छन् । २०७८ को एसईईमा सहभाग देशभरका लिम्बू विद्यार्थीमध्ये सर्वोत्कृष्ठ छात्र र छात्रा दुवै छात्रवृत्ति इलामले पाएका छन् ।

त्यस्तै किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट कक्षा ९ र १० मा अध्ययरनत विद्यार्थीलाई प्रदान गरिने ५ हजार रुपैयाँको गरिब तथा जेहेन्दार छात्रवृति खान्द्रङ मावि दउमाईकी दिपिका फागो (कक्षा १०) र महेन्द्रोदय मावि माङसेबुङका अप्पसन योङहाङ लिम्बू (कक्षा ९) ले पाएका छन् ।

यसैगरी किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट नियमित रुपमा प्रदान गरिने १० हजार रुपैयाँको गरिब तथा जेहेन्दार छात्रवृति बालकन्या मावि इलामकी श्रेया येक्तेन लिम्बू (कक्षा ९) ले पाएकी छन् ।

उनीहरुलाई किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मी र किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार मोहनसिंह थेवेले छात्रवृत्ति रकम सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले आफ्नो समुदायको भाषा, लिपी, धर्म, संस्कार, संस्कृतिको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, विस्तार र विकासमा सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा चुम्लुङका संघीय सल्लाहकार थेवे, चुम्लुङका संघीय सदस्य एवम् आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानकी कार्यकारिणी सदस्य निर्मला तावा लिम्बू, चुम्लुङ इलामका सल्लाहकार यामप्रसाद लिम्बू, इलाम नरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे र माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङले मन्तव्य राखेका थिए ।

चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राम योङहाङ र स्वागत चुम्लुङ इलामका अध्यक्ष राम लिङदमले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार