इलाम : नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजमा संस्थापक अध्यक्षको बारेमा उल्लेख गरेको गलत विवरण सच्याउन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले ज्ञापनपत्र बुझाएको छ ।
फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्यलाई स्थापित गर्न माग गरेको हो ।
फोनिजको केन्द्रीय कार्यक्रम अन्तरगत इलाम शाखाले बुधबार नेपाल पत्रकार महासंघ इलाममार्फत महासंघको केनन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन् भन्ने तथ्य विभिन्न दस्तावेजहरुले पुष्टि गरेको भएपनि नेपाल पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानेकोप्रति फोनिजको विमति रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा गलत विवरण सच्याई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन् भन्ने तथ्यलाई स्थापित गराउन माग गरिएको छ । ‘नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ ।
हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुखसमेत हुन् ।
२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनैलाई महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने फोनिजको माग छ । ९ बैसाख २००८ मा सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २८ बैसाख २००९ मा पुर्नगठन गरेको इतिहास रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर १६ चैत २०१२ मा पुर्नगठन हुँदामात्र कृष्णप्रसाद उपाध्याय भट्टराई अध्यक्ष बनेको तथ्यले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक अध्यक्ष पुष्टि भईसकेको अवस्थामा महासंघले भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको उल्लेख ज्ञापनपत्र छ ।
ज्ञापनपत्र बुझाउँदै फोनिज इलामका अध्यक्ष राम योङहाङले पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु गलत रहेको उल्लेख गर्दै माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले ज्ञापनपत्र तत्काल केन्द्रिय कार्यालयमा पठाएर फोनिजको माग सम्बोधनका लिग पहल गर्ने प्रतिवद्धता जनाए ।
फोनिजले ज्ञापनपत्रसँगै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्वीर समेत बुझाएका छन् ।
को हुन् श्रेष्ठ ?
सत्यनारायण बहादुर श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनैको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्न गरिएको छ ।
उनको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रोसभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो ।
यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्षपछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।
ज्ञापनपत्रको पूर्ण पाठ
मिति : २०७९।०५।१५
श्री अध्यक्षज्यू
नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्य समिति, काठमाडौँ ।
मार्फत,
नेपाल पत्रकार महासंघ
इलाम शाखा
विषय : ज्ञापनपत्र
नेपालका श्रमजीवी पत्रकारको नेतृत्व संस्थाका रूपमा ‘नेपाल पत्रकार महासंघ’ स्थापित छ । तत्कालीन ‘नेपाल पत्रकार संघ’ हुँदै महासंघका रूपमा विशाल आकार प्रदान गर्न धेरै अग्रज नेतृत्वले अतुलनीय योगदान गर्नुभएको छ ।
अधिकारका लागि कलम चलाउनसमेत नसकिने कहालीलाग्दो तत्कालीन परिस्थितिमा पत्रकारलाई संगठित गर्नु सामान्य काम थिएन । त्यो हिम्मत र साहस गर्नुहुने सत्यनारायणबहादुर श्रेष्ठसहित सम्पूर्ण अग्रज नेतृत्वप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सम्मान व्यक्त गर्दछ ।
वर्तमान महासंघको जग इतिहासबाट बनेको हो । अर्थात्, वर्तमान नेपाल पत्रकार महासंघको जग तत्कालीन ‘नेपाल पत्रकार संघ’ नै हो । नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।
विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो ।
अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ ।
वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।
फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ । यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो बिमति छैन । तर, तथ्यहरूले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निसन्देह गलत काम हो ।
देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मान्नु उहाँको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु पनि हो । यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिज सचेत छ ।
प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौँ ।
राम योङहाङ
अध्यक्ष
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)
जिल्ला समिति, इलाम