‘राई’ बारे केही विद्धान् तथा लेखकहरुको भनाई ?

  निनाम लोवात्ती
252 Shares

निनाम लोवात्ती

त्यसो त राई के हो ? भन्ने सम्बन्धमा जनकलाल शर्माले किरातहरुका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबको पाना नम्बर–३१८ मा ‘नौ लाख किराँत’ उपशीर्षकमा यसरी उल्लेख गरेका छन् ‘–हड्सन महोदयका अनुसार किराँतीहरुको प्रमुख शाखालाई ‘खम्बु’ भनिन्छ । यिनीहरुको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौ लाख किराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्– “यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाईन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।” यसको उल्लेख प्mिलट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो । गोलीगठ्ठालाई मेगजिन भनिन्छ भन्ने कुरा यहाँ व्याख्या गर्ने आवश्यक छैन । यो कर युद्धको समयमा लगाईएको भए तापनि विक्रम संवत् २००७ सालसम्म कायमै रह्यो, कारण जेसुकै होस् उनीहरुको प्रदेशलाई ‘नौ लाख किराँत’ भनिन्थ्यो त्यसमा कुनै सन्देह छैन । हुन सक्तछ त्यहाँका बासिन्दाको विश्वासअनुसार समस्त किराँतजातिको सङ्ख्या नौ लाख अनुमान गरिएको हवस् । ंयस अवस्थामा त्यस प्रदेशको नाम नौ लाख किराँत सार्थक पनि हुन आउँछ ।’

त्यस्तै समाजशास्त्री तथा लेखक डोरबहादुर विष्ट (हालसम्म बेपत्ता) ले लेखेको ‘सबै जातको फुलबारी’ नामक किताबको पाना पाँचमा ‘–राई भन्ने खास गरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालू वा मुखिया जनाउने शब्द मात्र हो । माझ किरातमा धेरैजसो राईहरु आपूmलाई जिमी वा जिमीन्दार भन्ने गर्छन, तापनि राई शब्द बढी प्रचलनमा आउँदैछ । सुरुमा बाहुनलाई पण्डित, नेवारलाई साहूजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरु छेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, मधेसका थारुलाई चौधरी, दमाईलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार आदिले सम्मानपूर्वक सम्बोधन गरेजस्तै मात्र थियो ।’ भनी लेखेका छन् । त्यस्तै सोही किताबको पाना–९ मा ‘यहाँको सबै जग्गा केहीअघिसम्म राईको किपट थियो । यहाँका किपटिया राईबाहेक अरु ठाउँबाट बस्न आएका राई हुन् वा अरु जोसुकै जातका हुन्, तिनलाई रैती भन्ने चलन थियो । किपटिया राईहरुले जग्गाको नापअनुसर तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । जसले गर्दा थोरै जग्गा हुने किपटियालाई मर्का परेको थियो । त्यसैले धेरैजसो राईहरु किपट खारेज गराउन खुसी थिए ।’ भनी लेखेका छन् ।

त्यस्तै चाल्र्स म्याकडग्लसले पनि ‘द कुलङे राई’ नामक किताबको ठाउँठाउँमा ‘–… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर/वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर/ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नोस्टिक अफ ग्रुप मेम्बरशीप …, भनी लेखेका छन् ।

उता सिक्किमका लेखक तथा भाषाविद सिएम खम्बु (मोरोमूल थरका कुलुङ), डा. गाएन्जेल, जनकलल शर्मा, भुपेन्द्रनाथ शर्मा, धरणीधर दाहाल, इन्द्र कुलुङ, भूपध्वोज थोमरोस, भवानी बराल, अर्जुनबाबु माबोहाङ, भरत तुङ्घङ, शिवकुमार श्रेष्ठ, ‘सुब्बा’ प्रेमबहादुर माबोहाङ, भगीराज इङनाम, सूर्य कन्दङ्वा निनाम कुलुङ ‘मंगले’ आदिेले पनि आिआप्mनो किताब तथा फुटकर लेख रचनामा ‘राई !’ शब्दले जात वा जाति नजनाएर/नभएर “पदवी, पगरी वा भनौं पद” मात्रै जनाउँथ्यो/हो भनी लेखेका छन् । जसको खास नाम/अर्थ “तालुकदार/ जिम्मावाल” भन्ने पनि हुन्थ्यो । हुन पनि अभैm पनि गाउँ–घरमा त्यो वेला “राई, सुब्बा, मुखिया, देवान/दिवान” पद, पगरी वा भनौं पदवी पाएका ‘ठूलो मान्छे !’का सन्तान अर्थात् उनीहरुका खलकलाई फलानो जिम्मावाल/जिम्मावाल्नी वा फलानो तालुकदार/तालुकदार्नी भनेर बोलाउने प्रचलन हटीसकेको छैन । मेरो लेखप्रति कसैलाई विश्वास छैन र, कसैले यो लेखलाई हावादारी मानेर नपत्याए, पत्यार नलागे अभैm पनि घाउँ–घरमा गएर व्यापक खोज, अध्ययन र अनुसन्धान गर्दा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार