निबन्ध : झुटको खेती

  नयाँ बुलन्द
623 Shares

 

लेखक तथा साहित्यकार: नारायण भट्टराई 

दुनियामा सबै भन्दा सजिलोसंग लगाउन सकिने, सबैभन्दा बढी फस्टाएको खेती हो ‘झुटको खेती ‘। भन्नु पर्ने कुरा नभन्ने। सत्य कुरा लुकाउने। भन्नै परे पनि बनाएर भन्ने वा घुमाएर, बटारेर, र बिगारेर भन्ने गरे पछी झुटको खेती सुरु भइहाल्छ। यसको मलजल पनि सजिलो छ। जति राम्रो र सुन्दा विश्वासिलो लाग्ने बनावटी कथाले मलजल गर्न सक्यो त्यतिनै राम्रो संग यो फस्टाउँछ। यो खेतीको सबैभन्दा राम्रो पक्ष भनेको अरु नियमित खेती जस्तो यो मौसम परिवर्तनको मारमा परेर डुब्ने सम्भावना धेरै कम हुन्छ किनकी यसको सफलताखेती लागाउनेको हातमा धेरै हद सम्म भर पर्दछ ।

अब झुटको खेती फ़स्टाएका केही उदाहरणहरुको कुरा गरौँ। २०४६ सालमा नेपालमा प्रजातन्त्र पुनरस्थापना भयो। त्यति बेला नेपालमा दुई वटा प्रमुख विचारधाराका पार्टीहरु राजनीतिको मैदानमा देखा परे- एक कांग्रेस जसलाई यथार्थबादी, पुँजीपति विचारधाराको प्रतिनिधित्व गर्ने पार्टी भनियो अनि अर्को कम्युनिस्ट जसलाई प्रगतिसिल क्रान्तिकारी परिवर्तन पक्षधर पार्टी भनियो। कांग्रेस धनीहरुको पार्टी भयो भने कम्युनिस्ट गरिवहरुको पार्टी। चुनावको समय आयो। कांग्रेसहरुले भने कम्युनिस्टलाई भोट दिएर जितायो भने मान्छेहरुले आफ्नो सम्पति राख्न पाउदैनन्। नाकको फुली र कानको मुन्द्री समेत खोसेर लान्छन। त्यतिबेला यस्तो पनि हल्ला चल्यो की चीनमा ६० बर्षभन्दा बूडा मानिसहरुलाई फाँसी दिईन्छ। यदि कम्युनिस्टहरुलाई जितायो भने नेपालमा पनि साठी बर्षभन्दा बढी उमेरका मनिसहरुको त्यही हालत हुन्सक्छ। यो झुटको खेतीले त्यतिबेला कांग्रेसलाई धेरै फाइदा भयो किनकी चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउन सफल भयो। बर्षहरु बित्दैगए। कांग्रेसको सरकारले जनताको जीवनस्तर उकास्ने केहि पनि काम गर्न सकेन। प्रजातन्त्र केवल हुनेखाने र पहुँचवालालाई मात्र आयो तर निमुखाहरुको घरमा आएन। त्यसकुराको फाइदा कम्युनिस्टको नाममा राजनीतिगर्नेहरुलाई भयो। जति जति कांग्रेसको सरकार असफल हुदै गयो कम्युनिस्टहरुले जोडदारका साथ आफूलाई गरिवको पार्टी भनेर प्रचार गरिरहे। समय बित्दै जाँदा सर्वसाधारणलाइ सांचै कम्युनिस्ट भनेका गरिवकै पार्टी हुन् भन्ने भान पर्न गयो। त्यतिबेला गाउँघरमा कांग्रेसको कार्यकर्ता भन्ने बित्तिकै भंग्जाहा, जाँडखाएर हल्ला गर्ने, गुण्डागर्दी गर्ने फटाहा मानिसहरुको प्रतिबिम्ब दिमागमा आउने गर्दथ्यो। त्यसको बिपरित कम्युनिस्ट भनेपछि साधाहरण पहिरन लगाउने, सोझो र सिधा, मिजासिला मानिसको झल्को आउने गर्दथ्यो।

देशमा प्रजातन्त्र छिपीदै गयो। तर गरिबी र अशिक्षाको घाउ निको भएन। त्यो पनि छिपीदै गयो अनि अझ झाँगिदै गयो। कम्युनिस्टहरुले गरिवको प्रतिनिधित्व गर्दछन् त्यसैले उनीहरुलाई सत्तामा पुर्यायो भने देशमा पक्का सम्बृद्धि आउंछ भन्ने कुरा स्थापित हुदै गयो। त्यस बिश्वासको आधारमा उनीहरु सत्तामा पनि पुगे तर उनीहरुको सत्तारोहणले केहि सय हजार फरक मान्छेलाई फाइदा पुग्यो तर आम कृषक, मजदुर र सीमान्तीकृत बर्गलाई खासै केहि फाइदा भएन। नयाँ उद्योग कल कारखाना खुलेनन्, कृषी क्रान्ति भएन अनि क्रान्तिकारी भूमिसुधार लागु भएन। त्यसो भए के भयो त ? अग्रपंक्तीका नेताहरुको जीवन स्तर अकासियो, माफियागिरी मौलायो, राजनीति स्वार्थी र अवसरबादी मानिसको व्यक्तिगत अभिलाषा पुरा गर्ने साधन बन्न पुग्यो। दुवै पार्टीले चुनावमा लगाएका नारा र एक अर्कालाई लगाएका लान्छना र एक अर्का बिरुद्ध प्रयोग गरेका बिशेषण केवल झुटको खेती थियो भन्ने कुरा आज देशको प्रजातन्त्र चालिस बर्षको भएपछी प्रमाणित भएको छ।

अर्को झुटको खेती फस्टाएको उदाहरण अमेरिकामा छ। अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रंप सायद संसारमै पहिलो पटक कोरोना बिरुद्ध खोप लगाउने साशक होलान। तर उनले खोपमा बिश्वास नभएको मात्र भनेनन् सम्पूर्ण अमेरिकी जनतालाई खोप नलगाउन भड़काए। कोरोना जस्तो महामारीलाई राजनीतिकरण गरेर आफ्ना समर्थकहरुको सहानुभुती बटुल्न उनी सफल जस्तै देखिन्छन। आफ्ना समर्थकलाई खोपले होइन इश्वरले मात्र बचाउन सक्छन भन्ने भ्रम फैल्याएर आफ्नो राजनैतिक अभिष्ट पुरा गर्न उनी आज पर्यन्त सक्रिय छन। उनको झुटको खेती पनि फस्टाएकै छ एक्काईसौ सताब्दीको अमेरिकामा

तर झुटको खेती गरेर प्राप्त गरेको सफलता दिगो हुन सक्दैन। आखिर को कति पानी भित्र छ र को कति पानी माथी छ भन्ने कुरा समयले देखाई हाल्छ। कसैले कसैलाई केहि समय भ्रममा पारेर फाईदा उठाउन सकेपनि अन्त्यमा दुधको दुध पानीको पानी भइनै हाल्छ। बिज्ञानलाई चुनौती दिएर आफ्नो राजनैतिक अभिष्ट पुरा गर्न मानिसहरुलाई कोरोनाको खोप नलगाउन उक्साउने ट्रंप हुन् या त्याग र समर्पणको भावनालाई तिलान्जली दिएर स्वार्थको राजनीति गर्ने समकालीन नेपाली राजनेता जो सुकैको भए पनि झुटको खेतीले अन्त्य त उनकै भबिश्यलाई खाडलमा हाल्ने छ।

लेखक भट्टराईको शब्द,संगीतका गीत,अङ्ग्रेजी र नेपाली भाषामा लेखिएका कविता,निवन्ध सहित धेरै लेख तथा रचनाहरु विभिन्न सचारमाध्यममा प्रकाशित भएका छन् ।

हाल वहाँ अमेरिकामा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार