ब्लाङ्केट बोकेर रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जनताका घरघरमा

इलाम : निर्वाचनको बेला अधिकांश नेताहरू विभिन्न आश्वासन बाँड्दै जनताको घरघरमा पुग्ने गर्छन् । निर्वाचन पश्चात प्रायः सबैजसो नेताहरू फर्केर जनताका घरमा कहिल्यै पुग्दैनन् । तर, जिल्लाको रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राई र उपाध्यक्ष चन्द्रकला राई यतिबेला जनताको घरघरमा पुगेका छन् ।

उनीहरू जनतामाझ कुनै आश्वासन बाँड्न एवं मत माग्न भने पुगेका होइनन् । उनीहरू त, गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै गाउँघर पुगेका हुन् । ७० वर्ष उमेर पार गरेका प्रत्येक ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गर्दै हिँडेका हुन् । रोङ गाउँपालिकाको तर्फबाट अध्यक्ष र उपाध्यक्षले टोलटोलमा पुगेर ज्येष्ठ नागरिकलाई जाडोबाट बाँच्नका लागि ब्लाङ्केट वितरण गरेका हुन् । गाउँपालिकाले जाडोको समयमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर ६ वटै वडाका टोलटोलमा पुगेर ब्लाङ्केट वितरण गरेको हो ।

गत माघ अन्तिम सातादेखि ज्येष्ठ नागरिकहरूलाई ब्लाङ्केट वितरण गरेर सुरु गरेको गाउँपालिकाले ६ वटै वडाका ९ सय ६० ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरेको छ । १५ लाख रुपैयाँ बराबरको ब्लाङ्केट वितरण गरिएको गाउँपालिका उपाध्यक्ष राईले जानकारी दिइन् । उनले ज्येष्ठ नागरिकको सम्मानका लागि न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

ब्लाङ्केट पाएपछि ज्येष्ठ नागरिकहरू खुसी देखिएका छन् । गाउँपालिकाले घरघरमा आएर जाडोका बेला दिएको ब्लाङ्केटले ज्येष्ठ नागरिकलाई थोरै भए पनि जाडोबाट मुक्ति मिलेको ज्येष्ठ नागरिक इन्द्रलाल निरौलाले बताइन् । ‘हाम्रो उमेर यही माटोमा बितेको छ । यो बेलामा गाउँपालिकाले हामीलाई सम्झेको छ’, निरौलाले भनिन्, ‘उमेर ढल्कनै लाग्दा भए पनि गाउँपालिकाले सम्झिँदा अत्यन्तै खुसी लागेको छ ।’ रोङ गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘ज्येष्ठ नागरिकहरूका लागि सम्मान कार्यक्रम’ शीर्षकमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । रोङ गाउँपालिकाले प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरूको सम्मानमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो वर्ष न्यानो कपडा वितरण गरेर ज्येष्ठ नागरिकको सम्मान गर्न थालेको रोङ गाउँपालिकाले आँखा शिविर, दाँतको स्वास्थ्य शिविर गर्दै अन्तिम वर्ष पुनः न्यानो कपडा वितरण गरेको हो ।

ज्येष्ठ नागरिकलाई गाउँघरमै माया पाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम पठाउने परम्परा बढ्दै जाँदा हामीले घरमै माया पाउने वातावरण बनाएका हौँ’, उनले भने, ‘यसबाहेक हामीले ज्येष्ठ नागरिकको घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षणसमेत गराउँदै आएका छौँ ।’ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार रोङ गाउँपालिकाको परिवार संख्या ४ हजार ७ सय १५ र जनसंख्या १७ हजार ५ सय ५५ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार