इलाम : विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट इलाम पनि अछुतो रहन सकेन । हजारैं संक्रमित भए, सयौंले ज्यानै गुमाए भने हजारौंले रोजगारी गुमाए । स्वास्थ्य कार्यालय इलामको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा छ हजार नौ सय ६० जना कोरोना संक्रमित भए । जसमध्ये एक सय ४६ जनाको ज्यान नै गयो । एक सय ४९ जना अहिलेपनि कोरोनाको सक्रिय संक्रमित छन् । छ हजार छ सय १३ जनाले भने कोरानालाई जितिसकेका छन् ।
पहिलो र दोश्रो वर्षको भेरियन्तले इलाममा सबैभन्दा बढी संक्रमित भए । अघिल्लो वर्षदेखि सरकारले सुरु गरेको कोरोना विरुद्धको खोपका कारण तेश्रो चरणको भेरियन्टले भने खासै असर गरेन । संक्रमित भएकाहरुको पनि स्वास्थ्यमा प्रतिकूल असर नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय इलाममार्फत १२ वर्ष र सोभन्दा माथि उमेरसमूहका एक लाख ९० हजार एक सय ९५ अर्थात ८७ प्रतिशत जिल्लाबासीले पहिलो मात्राको कोरोना विरुद्धको खोप लगाएका छन् । तीमध्ये एक लाख ८० हजार चार सय ४२ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै गरी चार हजार पाँच सय चार जनाले थप मात्राको खोप समेत पाईसकेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार इलामको जनसंख्या दुई लाख ९० हजार दुई सय ५४ रहेको छ ।
पहिलो, दोश्रो र तेश्रो वर्षको कोरोना भेरियन्टले सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ । होटल क्षेत्र, यातायात र रेष्टुरेन्टजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भएका छन् । पर्यटनसँग प्रत्यक्ष जोडिएका सयौंले रोजगारी गुमाएका छन् । होटल तथा पर्यटन व्यवसाय सबैभन्दा बढी मार परेको व्यवसायीले बताएका छन् ।
कोरोनाका कारण इलाम नराम्ररी प्रभावित बन्यो । पर्यटकले भरिभराउ हुने कन्याम, अन्तु, सानो पाथीभरा, माइपोखरी, ढापपोखरी, सन्दकपुर, पानीटार, सिद्धिथुम्का, गजुरमुखी, माङमालुङ, माङसेबुङलगायत क्षेत्र अझै सुनसान जस्तै छन् ।
कोरोनाको कारण विदेशी पर्यटक नआएको, स्वदेशी पर्यटकको आवागमन घटेको र सरकारले उचित सम्बोधन नगर्दा व्यवसायबाटै हात धुनु पर्ने अवस्था आएको त्यस क्षेत्रका व्यवसायीले बताएका हुन् । पर्यटक नआउँदा होटल व्यवसायीदेखि कोसेलीघर, यातायात व्यवसायी, मजदुरलगायत सबैमा प्रत्यक्ष असर देखिएको छ । कोरोनाको जोखिम कायमै रहेकाले व्यवसाय पुरानो अवस्थामा फर्कन अझै केही समय लाग्ने व्यवसायी बताउँछन् ।
व्यवसायीहरुले कोरोनाका कारण पर्यटक आवागमन नहुँदा बैंकको किस्तासमेत तिर्न हम्मे परेको गुनासो गर्ने गरेका छन् । ‘सुरुसुरुमा कोसेली घरमा सब्जी बिक्री गरेरै दैनिक एक लाख रुपैयाँसम्मको कारोबार हुन्थ्यो’ कन्याम छेउ हर्कटेकी व्यवसायी हेमु भुजेलले भनिन्, ‘कोरोना सुरु भएपछि पर्यटक कम आउन थालेपछि कारोबार ह्वात्तै घटेको छ ।’ पूर्वको पाथीभरदेखि फिक्कल क्षेत्रमा तरकारी बिक्रीका झन्डै दुई सय कोसेली घर छन् ।
घुमघामका लागि आउने पर्यटकले चिया, छुर्पी, ललिपप, सागसब्जीलगायत खरिद गरेर लैजाने गर्छन् । यसको प्रत्यक्ष फाइदा ग्रामीण क्षेत्रका उद्यमी र कृषकलाई पुग्ने गरेको थियो । कोरोनाका कारण कन्यामका झन्डै एक सय घोडा व्यवसायी, अन्तुलगायतका दर्जनौं होमस्टे पनि पर्यटक आवागमन नुहँदा प्रत्यक्ष मारमा परेका छन् ।
जिल्लाभर साना, मझौला र ठूला गरी करिब चार सय ५० वटा होटल संचालित छन् । होटल एसोसिएसनको तथ्याङ्कअनुसार जिलामा तीनदेखि पाँच लाख रुपैयाँ लगानीका साना दुई सय वटा, १० देखि २० लाख लगानीका मझौला एक सय ९० वटा र एक करोडदेखि १० करोड रुपैयाँसम्म लगानी भएका ठूला ६० वटा होटल छन् ।
जहाँ दुई हजार तीन सय जनाले रोजगार पाएका थिए । ठूला होटलमा १० जना, मझौलामा ६ जना र सानामा २ जनाका दरले रोजगारी पाएका थिए । तर कोरोनाका कारण अधिकाशं होटल बन्द भएपछि ५० प्रतिशतले रोजगारी समेत गुमाउनु परेको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताए । संचालनमा रहेका होटलहरु समेत दुखःले चलिएरहेको अवस्था छ ।
अघिल्लो वर्षमात्र इलामको होटल व्यसायमा प्रतिमहिना ७२ करोड रुपैयाँ घाटा भएको होटल एसोसिएसन भनाई छ । ‘कोरोनाको कारण गतवर्ष ठूला हेटलमा दैनिक ४० हजार, मझौलामा २० हजार र सानामा ६ हजारका दरले नोक्सानी व्यहोर्नुपर्यो’ होटल एसोसिएसन इलामका अध्यक्ष पौडेलले नयाँ बुलन्दसँग भने, ‘अघिल्लो वर्षको कोभिडपछि पुनः ६० प्रतिशत होटल पुनः सञ्चालनमा आएका थिए । तर फेरी अमिक्रोनको हल्लापछि पहिलेकै अवस्थामा पुगेको छ ।’ विभिन्न धार्मिक, शैक्षिक, सहकारी र कृषि क्षेत्रको भ्रमणका लागि आउने पर्यटकको संख्या न्यून भएपछि होटलमा प्रत्यक्ष असर देखिएको पौडेलको भनाई छ ।
कोरोना माहामारीका कारण यातायात क्षेत्र पनि उत्तिकै प्रभावित बनेको छ । जिल्लाभर र बाहिर दैनिक रुपमा चल्ने करिब ५ सय यात्रुवाहक साना सवारीमध्ये ५० प्रतिशत मात्र सञ्चालनमा रहेको पूर्वेली जिप तथा ट्याक्सी यातायात सेवा प्रालिका कार्यकारी सचिव सुमन काफ्ले जानकारी दिए ।
जिल्ला भित्रने पर्यटकको संख्यामा भारी गिरावट
कोरोना माहामारीका कारण पछिल्लो समय इलाम भित्रने पर्यटकहरुको संख्यामा भारी गरावट आएको छ । जिल्ला दर्जनौं पर्यटकीय स्थलहरु भएपनि घुम्नका लागि जिल्लाबाहिरबाट आउनेको संख्या बर्सेनि घट्दो क्रममा रहेको पाईएको हो ।
झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलस रोङको तथ्याङ्क अनुसार कोरोना कालको वर्षहरुमा घुम्नका लागि इलाम भित्रिने पर्यटकहरुकोसंख्या ह्वात्तै घटेको हो ।
पर्यटन सूचना केन्द्रको तथ्याङ्क अनुसार जोरकल हुँदै आर्थिक वर्ष २०७५/०७६ एक लाख ३४ हजार ७७ जना पर्यटकहरु इलाम भित्रिएका थिए ।
आव २०७६/०७७ मा भने घटेर एक लाख २९ हजार २० जना मात्र इलाम घुम्न आएका थिए । यो अघिल्लो आवको भन्दा पाँच ५७ कमी हो ।
त्यस्तै आव २०७७/०७८ मा ३९ हजार आठ सय ११ जना मात्र इलाम घुम्न आएको पर्यटन सूचना केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यो अघिल्लो आवको तुलनामा ८९ हजार दुई सय ९ कमी हो ।
चालु आव २०७८/०७९ मा भने पर्यटकको संख्यामा बृद्धि भएको देखिएको छ । पुस मसान्तसम्म ८७ हजार तीन सय ७१ जना इलाम घुम्न आएका छन् ।
असोजमा छ हजार २८, कात्तिकमा १९ हजार आठ सय १२, मंसिरमा २८ सात सय ५७ र पुसमा ३२ हजार सायत सय ७४ जना इलाम आएको पर्यटन सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेले जानकारी दिए । साउन र भदौको भने कोरोना महामारीका कारण इन्ट्री नगरिएको घिमिरेले जानकारी दिए ।