चुजी फाउण्डेशनको सहयोगमा बाढी पीडित एकसय परिवारलाई राहत प्रदान

पाँचथरः चुजी फाउण्डेशनको सहयोगमा पाँचथर र धनकुटाका बाढी पीडित एकसय परिवारलाई राहत प्रदान गरिएको छ ।

जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय कार्यकारिणी सदस्य  तथा बियोन बेजिङ्ग नेपालका अध्यक्ष सुशीला श्रेष्ठले उक्त फाउण्डेशन मार्फत नेपालका लागि सातसय घरधुरीलाई राहत उपलब्ध गराउन पहल गरेसंगै दुई जिल्लाका पीडित परिवारलाई हस्तान्तरण गरिएको पार्टीका केन्द्रिय सदस्य एवं लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओतीले जानकारी दिए ।

गत कार्तिकको पहिलो हप्तामा परेको अविरल वर्षाले क्षति पुर्याएका धनकुटाको चौबिसे गाउँपालिका १ र २ नम्बर वडाका ७३ घरधुरीलाई धनकुटा,पाँचथर, इलाम र मोरङको सिमाना छ नम्बर बुधबारे बजारमा राहत वितरण गरिएको छ । त्यस्तै,पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ र ८ नम्बर वडाका पीडित परिवारलाई ५ नम्बर वडास्थित चिसोपानी बजारमा २७ घरधुरीका परिवारलाई राहत हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई केहि राहत पुगोस् भन्ने उदेश्यले एकघर बराबर २५ किलोग्राम चामल, १० किलोग्राम आटा, दाल, नुन, तेल, चिनी, साबुन लागायतका सामाग्री प्रदान गरिएको जनाइएको छ ।

हस्तान्तरण कार्यक्रममा जसपा नेपालका जनसङ्गठन समाजवादी युवा संघका केन्द्रिय कोषाध्यक्ष मनकला लिम्बू,केन्द्रिय सल्लाहकार हेमकर्ण तुम्सा,प्रदेश १ का सदस्य रामरायमाझी,पार्टीका मिक्लाजुङ गाउँपालिका सहसचिव नेल्कन माखिम,सोही पालिका ८ नम्बर वडाका अध्यक्ष गङ्गा लावती सहितको टोलीले पीडित परिवारलाई राहत प्रदान गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार