विविध कार्यक्रम गरी राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइयो

इलाम नगरपालिका ९ सुकिलुम्बामा निर्मित राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको प्रतिमा । तस्विर : नयाँ बुलन्द

इलाम : किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको १३७ औं जन्मजयन्ती विहीबार विविध कार्यक्रम गरी मनाईएको छ ।

हरेक वर्ष कात्तिक २५ गते मनाइने फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल प्रवेशमार्गमा निर्मित फाल्गुनन्दको सालिकको अनावरण गरिएको छ ।

पूर्व संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले नेता सुवासचन्द्र नेम्बाङले सालिकको अनावरण गरे । सालिक अनावरणपछि संक्षिप्त सम्बोधन गर्दै नेम्बाङले महागुरु फाल्गुनन्दको योगदानको कदर गरी निर्विरोध रुपमा विमानस्थलको नाम समेत फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल राखिएको उल्लेख गरे । १३ लाख ३७ हजार लागतमा इलाम नगरपालिकाले फाल्गुनन्द मार्ग प्रवेशद्वारसहित शालिक निर्माण गरेको हो ।

फाल्गुनन्दका अनुयायीहरुले माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माई नगरपालिकाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाएका छन् ।

त्यसैगरु िकेन्द्रीय स्तरमा मोरङको केराबारी र लेटाङ, सुनसरीको भरौलमा किरात माङहिम उद्घाटन र फाल्गुनन्दका सालिक अनावरण गरिएको । किरात धर्मगुरु आत्मानन्द लिङदेनले माङहिमको उद्घाटन र सालिक अनावरण गरेका हुन् ।

किरात धर्मावलम्बीहरु बसोबास रहेको नेपालको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुरलगायतका जिल्ला र प्रत्येक किरात माङहिममा जन्मजयन्ती मनाइएको किरात अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले जानकारी दिए । त्यस्तै भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रसलगायतका किरात धर्मावलम्बीहरुले समेत जन्मजयन्ती मनाएका छन् ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चीनाम्बामा बाबु जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट १९४२ साल कात्तिक २५ गते आइतबार साईला छोराको रुपमा जन्मेका फाल्गुनन्दको निधन २००५ चैत २२ गते सोमबार ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार