मेरिङ्देन गाउँपालिका : साक्षरले मात्र उपभाेक्ता समितिमा बस्न पाउने

  नयाँ बुलन्द
63 Shares

ताप्लेजुङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले असोजभित्र योजना दर्ता, नवीकरण र सम्झौता गरिसक्न वडा कार्यालयलाई निर्देशन दिएको छ ।

दर्ता र सम्झौतासँगै उपभोक्ता समिति गठन, पुनर्गठन र अनुमोदन गरी पठाउन पनि सबै वडा कार्यालयलाई परिपत्र गरिएको छ । सो अवधिभित्र सम्झौता नगरे विनियोजित योजनामा गाउँपालिकाले विकल्पबारे निर्णय गर्न सक्नेतर्फ सम्बन्धित वडा कार्यालयमार्फत सेवाग्राहीलाई सचेत पनि गराएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार १ साउनको कार्यपालिका बैठकले गरेका  निर्णयलाई कार्यान्वयन गर्नेगरी योजना सम्झौताका लागि समयसीमा तोकिएको हो । उपभोक्ता समितिले श्रममुलक प्रविधिबाट कार्य गर्न नसक्ने भएमा सोबारे गाउँपालिकालाई लिखित जानकारी गराउनुपर्ने छ । यस्तो अवस्थामा गाउँपालिकाले नियमानुसारको कार्य अघि बढाउन सक्ने जनाएको छ ।

उपभोक्ता समिति गठनसम्बन्धी सर्तमा सम्बन्धित वडा सचिवको रोहबरमा आयोजना स्थलमै प्रत्यक्ष लाभान्वित समूहको सहभागितामा सातदेखि ११ जनासम्म समावेश भएको समिति गठन गर्नुपर्ने छ ।

समितिका पदाधिकारीको तीनपुस्ते विवरण उल्लेख हुनुपर्ने, समितिको गठन प्रक्रिया सर्वसम्मत हुनुपर्ने, सबै सदस्य साक्षर हुनुपर्ने, ३३ प्रतिशत महिला अनिवार्य र मुख्य पदाधिकारीमा एक महिला अनिवार्य हुनुपर्ने गाउँपालिकाले सर्त तय गरेको छ । समितिमा सदस्यहरुको सहभागिता समावशी हुनुपर्ने पनि गाउँपालिकाले सर्त बनाएको छ ।

गाउँपालिकाले २५ हजार रुपैयाँभन्दा माथिको कारोबार बैंक खातामार्फत गर्नुपर्ने, कार्य सञ्चालन श्रममूलक प्रविधिबाट गर्नुपर्ने र सर्तबमोजिम कार्य भएको नदेखिएमा सम्झौता अन्त्य गर्न सक्नेसमेत गाउँपालिकाले निर्णय गरेको छ ।

-न्युज कारखानाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार