२ करोड १७ लाखलाई खोप लगाउने सरकारको लक्ष्य, झण्डै १८ प्रतिशतले लगाए

काठमाडौं । सरकारले २ करोड १७ लाख जनसङ्ख्यालाई कोभिड१९ विरुद्धको पूर्ण खोप लगाउने लक्ष्य राखेको छ । सरकारको लक्ष्य अनुसार सोमबारसम्म १७.७७ (करिब १८)प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षमाथिका ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेको बताएको हो । यस अनुसार १८ वर्षमाथिको ७२ प्रतिशत जनसङ्ख्या २ करोड १७ लाख हुन आएको मन्त्रालयले जनाएको छ ।

१८ वर्ष मुनिका बालबालिकाहरूका लागि फाइजर र मोडर्नाको खोप भित्र्याउने सरकारको तयारी छ । १८ वर्ष मुनिका कति बालबालिकालाई खोप लगाउने भन्नेबारे हालसम्म मन्त्रालयले तथ्याङ्क तयार पारेको छैन ।

हाल खोप लगाउने लक्ष्य २ करोड १७ लाख रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

यसअनुसार हालसम्म नेपालमा १७.७७ प्रतिशत अर्थात् ३८ लाख ५७ हजार ५ सय ९८ जनाले  पूर्ण खोप लगाइ सकेका छन्। यस्तै ४९ लाख ४३ हजार ७ सय ३२ जनाले एक डोज खोप लगाइ सकेका छन् ।

यस्तै सोमबारसम्म कुल १ करोड ३१ लाख डोज खोप नेपाल भित्रिएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताएका छन् ।

भित्रिएको १ करोड ३१ लाख डोज खोपमध्ये एक डोज र पूर्ण खोप गरी हालसम्म देशभर ८८ लाख १ हजार ३ सय ३० डोज खोप लगाइसकिएको छ ।

यसबाट झण्डै ४० लाख डोज खोप देशभरका विभिन्न स्वास्थ्य केन्द्रमा भण्डारण एवं सञ्चालनको पक्रियामा रहेको आङ्कलन गर्न सकिन्छ । खोप भित्रिने क्रम जारी रहँदा खोप अभियानले भने खासै तीव्रता नलिएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार