इलाम नगरपालिकाले शिक्षा ऐन र नियमावली संसोधन गर्ने

संसोधन गरेको दुई सातामै पुनः संसोधन !

  राम योङहाङ  804 पटक हेरिएको


इलाम : इलाम नगरपालिकाले सरोकारवालासँग वृहत छलफल गरी शिक्षा ऐन र नियमावली संसोधन गर्ने भएको छ ।

कोरोना महामारीले शिक्षा क्षेत्रमा पारेको प्रभावका कारण आन्तरिक मुल्याङ्कन विधिमा समेत समस्या देखिएपछि इलाम नगरपालिका शिक्षा ऐन, २०७५ र शिक्षा नियमावली २०७४ (सातौं संसोधन) संसोधन गर्न लागेको हो ।

मंगलबार पत्रकार भेटघाट गरी शिक्षा ऐन र नियमावलीमा समसामयिक सुधार तथा परिमार्जनका लागि सुझाव लिन ३ सदस्यीय सुझाव समिति गठन गरेको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलको संयोजकत्वमा शिक्षा अधिकृत प्रेम गौतम र राधिका घिमिरे सचिव रहेको समिति गठन गरेको हो ।

समसामयिक सुधार तथा परिमार्जनका लागि सुझावसहितको प्रतिवेदन १५ दिन भित्र नगरकार्यपालिकामा पेश गर्ने गरी समिति गठन गरेको नगरप्रमुख बस्नेतले बताए ।

समितिले आन्तरिक मुल्याङ्कनको वैकल्पिक उपायसहितको सुझाव संकलन गरी नगरकार्यपालिकामा पेश गर्नेछ । विद्यालयलय बन्द रहेको अवस्था विद्यालयको आन्तरिक मुल्याङ्कन गर्न समेत समस्या भएकाले परिस्थिती अनुसार ऐन र नियमावली संसोधन गर्न लागिएका नगरप्रमुख बस्नेतले बताए ।

‘गतवर्ष चाँही विद्यालय संचालन भएकाले विद्यार्थीको आन्तरिक मुल्याङकन गर्न सजिलो भएको थियो । तर यस वर्ष त विद्यालय नै संचालन भएको छैन’ नगरप्रमुख बस्नेतले भने,‘यस्तो अवस्थामा कसरी आन्तरिक मुल्याङ्कन गर्ने भन्ने जटिलता सिर्जना भएकाले व्यापक छलपल गरी ऐन र नियमावली संसोधन गर्नुपर्ने देखियो ।’

नगरपालिकाले ऐन र नियमावली संसोधनका लागि आवश्यक सुझाव उपलब्ध गराउन सरोकारवालालाई अनुरोध गरेको छ ।

नगरपालिकाले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघीय शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ मा व्यवस्था भएको शिक्षासम्बन्धी प्रावधान, मौजुदा शिक्षासम्बन्धी अन्य कानुनहरु, समावेशीकरण, विपद् व्यवस्थापन र स्थानीय आवश्यकतामा आधारित भई १५ भदौसम्म लिखित सुझाव उपलब्ध गराईदिन सरोकारवालसँग अनुरोध गरेको हो ।

संसोधन गरेको दुई सातामै पुनः संसोधन

यसैबीच इलाम नगरपालिकाले शिक्षा नियमावली, २०७४ मा सातौंपटक संसोधन गरेको दुई सातामा नै आठौं संसोधन गर्न लागेको हो ।

नगरकार्यपालिकाको बैठकले गत २० साउनमा नियमावलीको सातौं संसोधन गरेको थियो । तर सो सरोकारवालासँग छलफल नै नगरी विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्थामा अधिकार नगरप्रमुखले आफूमा केन्द्रित रहने गरी संसोधन गरेको भन्दै कांग्रेस निकट ६ जना वडा अध्यक्षहरुले विरोध जनाएका थिए ।

उनीहरुले सोमबार पत्रका भेटधाट गरी रोकारवालासँग वृहत छलफल गरी शिक्षा नियमावली तत्काल संसोधन गरेर सच्याउन आग्रह गरेको छ ।

विगतमा विज्ञ र सरोकारवालहरुसँग व्यापक छलफल र सुझाव संकलन नगरी नै संसोधन गर्ने गरिएकाले चाँडो चाँडो संसोधन गर्नुपरेको देखिएको छ । यो सातौं संसोधन र आठौं संसोधनको तयारीले पुष्टि गरेका छ ।

यता नगरप्रमुख बस्नेतले सातौं संसोधनसम्म सबैको ध्यान विद्यालय व्यवस्थाप सम्बन्धी व्यवस्थामा मात्र गएकाले हाल अन्य व्यवस्थामा समेत संसोधन गर्न आवश्यक देखिएको बताए । उनले सातौं संसोधन कार्यान्वयनमा नल्याएको समेत बताए ।

दुई विद्यालयमा कक्षा थपको अनुमति

यस्तै नगरकार्यपालिकाले शैक्षिक सत्र २०७८ का लागि दुई विद्यालयलाई कक्षा थप अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको ४ भदौको निर्णय अनुमोदन गर्दै इलाम पुवाभ्याली इङ्गलिस बोर्डिङ्ग स्कुल, इलाम ४ लाई कक्षा ७ थप गर्न र चन्द्रोदय आधारभूत विद्यालय, इलाम ५ लाई कक्षा ४ थप गर्न अनुमति दिने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् :

शिक्षा नियमावलीमा अधिकार नगरप्रमुख केन्द्रित गरेको भन्दै वडा अध्यक्षद्वारा विरोध

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार