इलाममा खोजी-खोजी खोप लगाउने बढे, हालसम्म ६१ हजार सात सयले लगाए

  नयाँ बुलन्द
273 Shares

इलाम । इलाममा कोरोना विरुद्धको खोप अभियानको रुपमा सञ्चालन भईरहेको छ । शुरुताका खोप लगाउन पन्छिदै आएका जेष्ठ नागरिकहरु समेत अहिले खोजी खोजी खोपस्थल पुग्ने गरेका छन् ।

कुनै समय कोरोना विरुद्धको खोप लगाउने भन्ने बित्तिकै पन्छिने यहाँका सर्वसाधारण अहिले कोरोना खोप खोजी–खोजी लगाउन थालेका छन् । अहिले इलाममा सरकारले उपलब्ध गराएको भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप उमेर समुहका आधारमा धमाधम लगाइदैँ छ । गत साउन १२ गतेदेखि सर्वसाधारणलाई भेरासेल खोप लगाउने काम शुरु भएको थियो । भेरासेल खोप ५५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सर्वसाधारणलाई पहिलो डोजको खोप लगाइएको हो । विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सह चालक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न कर्मचारीलाई भेरोसेल खोपको पहिलो डोज लगाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले बताउनुभयो ।

भेरोसेल खोपको पहिलो डोजका लागि २२ हजार ९ सय ८८ डोज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भए पनि साउनको अन्तिम दिन सम्ममा २१ हजार ९ सय ३२ डोज खोपको मात्रा लगाइ सकिएको छ । यस्तैे एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप १५ हजार सात सय ५० मात्रा प्राप्त भएकोमा १४ हजार बढीले लगाइसकेको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गंगाधर पञ्डितले जानकारी दिनुभयो ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समुह, पूर्ण र अति अशक्त अपाङ्ग भएका व्यक्ति, शरणार्थी, सफाइकर्मी र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुमा लगाइएको छ । अहिलेसम्म जिल्लाभर ६१ हजार सात सय जनाले खोप लगाइ सकेका छन् । कोभिशिल्ड खोपको पहिलो डोज मात्रै लगाएका व्यक्तिको संख्या १५ हजार ६ सय ९५ छ । उनीहरुले पहिलो डोज लगाए पनि अहिलेसम्म दोस्रो डोज खोप लगाउन पाएका छैनन् । तर, खोप लगाउन नमान्ने ईलामका दुर्गम क्षेत्रका बासिन्दाको समेत पछिल्लो समय खोपप्रति आकर्षण बढ्दै गएकाले इलाममा थप खोपको आवश्यकता बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार