राँके-रवि-भेडेटार सडकको दुरवस्था, यात्रुलाई कष्ट

  नयाँ बुलन्द
441 Shares

फाइल तस्वीर

इलाम : धनकुटा, इलाम र पाँचथर जिल्लाका बासिन्दाले प्रत्यक्ष लाभ लिइरहेको राँके–रवि– भेडेटार सडकको दुरवस्थाका कारण यस क्षेत्रका बासिन्दा प्रत्यक्ष मारमा परेका छन् ।

धनकुटाको भेडेटारबाट ६ नम्बर बुधबारे, मिक्लाजुङ, चिसापानी पञ्चमी, रवि हुँदै राँके जोड्ने १ सय किलोमिटर लामो सडकलाई कालोपत्र गर्नका लागि सरकारले ठेक्कासमेत लगाएर काम सुरु भएको छ । तर विभिन्न बहानामा कामको गति सुस्त हुँदा यस क्षेत्रमा बर्खायाममा यात्रा गर्नै कठिन छ । अधिकांश ठाउँ हिलो हुने भएकाले दैनिक जीवनयापनका लागि प्रयोग नगरी नहुने यस सडकमा निर्भर बासिन्दा पीडामा छन् । ‘यो सडकमा दैनिक आउजाउ नगरी सुखै छैन,’ इलामको माङ्सेबुङका विनोद नेम्वाङले भने, ‘तर गन्तव्यमा पुगिन्छ, पुगिँदैन टुङ्गो नै हुँदैन ।’

सडकलाई कालोपत्र गर्दै यस क्षेत्रको पर्यटन र आर्थिक उन्नतिमा उल्लेख्य सुधार गर्ने लक्ष्यका साथ २०७५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको रवि बजारमा तामझामका साथ सडक शिलान्यास गरेका हुन् । सय किलोमिटर सडक कालोपत्र गर्ने कार्यको शुभारम्भले स्थानीयवासी सडककै कारण हुने दुःखकष्ट हट्नेमा ढुक्क थिए । पाँचथरको दोस्रो व्यापारिक केन्द्र रविमा सडक पुगेको ३० वर्षपछि कालोपत्र हुने निश्चित भएको भन्दै रवि क्षेत्रका मात्र नभई सडकबाट प्रत्यक्ष लाभान्वित हुने ठूलो क्षेत्रका बासिन्दाले हर्षबढाइँ गरे । शिलान्यास भए लगत्तैदेखि काम पनि सुरु नभएको होइन ।

३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ रुपैयाँको लागतमा एक सय किलोमिटर सडक कालोपत्र गर्ने गरी अढाई वर्षअघि भारतको लखनउस्थित एप्को इन्फ्रान्ट निर्माण कम्पनीले सम्झौता गरेको हो । तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम समय गुज्रन लाग्दा १८ प्रतिशत मात्र पूरा भएको छ । योमध्ये पाँचथर–इलाम खण्डको सडक निर्माणको क्रम अत्यन्तै न्यून छ । एक्जिन बैंक अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारको १३ प्रतिशत लगानीमा काम सम्पन्न गर्ने सम्झौता भएको हो ।

ठेकेदार कम्पनीको लापरबाहीले समय गुज्रन लाग्दा सडकको अवस्था झन् बेहाल बनेको स्थानीयको आरोप छ । ‘यो सडक खण्डमा राज्यले नै हात हालेपछि सम्झौता अवधिमा नै गुणस्तरीय सडक बन्नेमा ढुक्क भएर सहयोग गर्‍यौं,’ माङ्सेबुङ–६ का वडाध्यक्ष प्रदीप राईले भने, ‘तर अहिले काम नभएको देख्दा दिक्क लाग्छ ।’ यसअघि बर्खायाममा सडक सञ्चालनका लागि स्थानीय तहहरूले आवश्यक ठाउँमा काम गर्ने गरेका थिए ।

‘सडकको निर्माण कार्य पूरा हुने हो भने यस क्षेत्रमा कृषि र पर्यटनकै आर्थिक सुधार हुनेमा दुईमत छैन,’ माङ्सेबुङ चतुरेका सुसन राईले भने, ‘तर अहिले देखिएको कामको गतिले अरू कति वर्ष यो सडकको दुरवस्था सहनुपर्ने हो भन्ने टुङ्गो लाग्न सकेको छैन ।’ वनले रूख कटानका लागि अनुमति नदिएकाले काममा ढिलाइ भएको तर्क गर्दै निर्माण कम्पनी तर्किरहेको छ । गत फागुन २० गतेको मन्त्रिपरिषद्को निर्णयले सडक खण्डमा पर्ने रूख हटाउने निर्णय गरेको छ । रूख हटाउन पाँचथर, इलाम र धनकुटाका डिभिजन वन कार्यालयले अग्रसरता देखाएका छन् ।

तीनवटै जिल्लामा पर्ने सडक खण्डको रूख कटानको समस्या टुंगिने क्रममा रहे पनि ठेकेदारले विभिन्न बहाना बनाएर काममा ढिलाइ गर्ने गरेको वन कार्यालयको भनाइ छ । यो सडक खण्डमा बर्खायाममा गाडी गुडाउन समस्या हुने गरेको छ । निर्माण कम्पनीको चरम लापरबाहीप्रति सरकार मूकदर्शक भई बसेको भन्दै स्थानीय आक्रोशित छन् । यस क्षेत्रमा वर्षायाममा उपभोग्य सामग्री ढुवानीमा समस्या हुने गरेको छ । पाँचथर र इलामका करिब एक दर्जन सीमावर्ती बजारसहित ठूलो क्षेत्रका बासिन्दाका लागि यो सडक प्रत्यक्ष प्रभाव राख्ने हो । सडकले इलाम–पाँचथर सीमावर्ती, राँके, सप्तमी, घुर्बिसे पञ्चमी, मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बजार, चिसापानी पञ्चमी सडक खण्डमा पर्छन् ।

पाँचथरको कन्याटार, लेकगाउँ कम्फुटारलाई पनि सडकले छोएको छ । पश्चिमी इलामको चमैता, फाकफोक, आम्चोक, फुएतप्पा, लुम्दे, गजुरमुखी, इभाङ, साकफारा हुँदै सडक विस्तार भएको छ । धनकुटाको ६ नम्बर बुधबारे, देउराली, राजारानी, चौकीभन्ज्याङ, नाम्जे, डाँडागाउँ, भेडेटारलगायतका बासिन्दालाई पनि यो सडकले प्रत्यक्ष प्रभाव पार्छ ।

सडक निर्माणको कामलाई तीव्रता दिन स्थानीयले पटक/पटक ठेकेदार सम्बन्धित पक्षलाई आग्रह गरिरहेका छन् ।

-विप्लव भट्टराई/कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार