
पाँचथर : फिदिम नगरपालिकाको जोरसालमा जेठ २९ गते हत्या भएका ७९ वर्षिय टेकबहादुर ईङ्बवा (लिम्बु)को हत्यामा संलग्न एकजना पक्राउ परेका छन् ।
नगरपालिका ४ नम्बरमा बसोबास गर्ने लिम्बुको हत्यामा संलग्न भएको आरोपमा फिदिम २ नम्बर वडास्थित पल्लोटारका ५९ वर्षिय जीव नारायण श्रेष्ठ घटना भएको २५ दिन पछि वुधबार पक्राउ परेका हुन् ।
सडक विभाग यान्त्रिक कार्यालय फिदिम पाँचथरमा सुरक्षा गार्ड पेशा गर्दै आएका श्रेष्ठले बाम्फोक प्रहार गरी लिम्बुको अन्दाजी १२:३० बजे हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिश्वकर्माले जानकारी दिए ।
निज मृतकसंग जग्गाको साँधसिमानाको विषयमा पटक-पटक झगडा हुँदे आएको र घटना भएको दिन हत्या गरिएका व्यक्तिसँग दिउँसो खेतमा ब्याड राख्ने बेला पानीको विषयमा पनि विवाद भएको प्रहारीको अनुसन्धानले जनाएको छ ।
हत्याराले घटनाको समयमा लागाएका कपडाहरु,प्रयोग भएको बाम्फोक,फलामको पाइप(सोते) लगायतका सामान बरामद गरि सबुद प्रमाणहरु परिक्षणको लागि सम्बन्धित निकायमा पठाइसकेको प्रहरी कार्यालयले उल्लेख गरेको छ ।
यसअघि प्रदेश प्रहरी ब्यूरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोली सहित हत्याको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर खटाइएको थियो । तर घटना स्थलमा पर्याप्त प्रमाण नहुँदा अनुसन्धानमा प्रहरीलाई कठिनाइ भएता पनि घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थियो ।
हत्यारालाई पत्ता लागाइ प्रकाउ गर्न प्रहरीलाई समेत सकस भएकाले यस घटना प्रति स्थानीय समेत चिन्तित बनेका थिए ।
८४ वर्षिय असक्त श्रीमतिको साथ घरमा बस्दै गरेका लिम्बु भारतीय सेवाबाट निवृत्त कर्मचारी थिए ।
























































