जब बिरामी लिएर हिँडेको गाडी हिलोमा फस्यो…

  राम योङहाङ  3137 पटक हेरिएको

इलाम : पाँचथरको रवि बजारएका एक अधबैंसे व्यक्ति मंगलबार साँझ अचानक बिरामी परे । घाँटी दुखाई र स्वासप्रस्वासमा समेत सामान्य समस्या भएपछि उनलाई सुविधायुक्त अस्पताल पुर्‍याउनुपर्ने भयो । साँझ छिपिइसकेकाले गाडीमा राखेर उनलाई झापाको दमकतर्फ हिँडाइयो ।

रवि-चिसापानी-दमक सडक (फाल्गुनन्द मार्ग) को करिब ४५ किलोमिटर यात्रा थियो । तर भारी वर्षाका कारण सडक क्षतविक्षत र हिलाम्य त्यहीमाथि रातीको यात्रा झनै कष्टकर । रात छिप्पिदैं थियो । करिब साढे १२ बजे माङसेबुङ ३ स्थित चतुरे बजार पार गर्न बित्तिकै गाडी हिलोमा एक्कासी फस्यो ।

करिब १५ किलोमिटर मात्र पार गरेको गाडीले हिलाम्मे सडक छिचोल्न सकेन । उपचारका लागि बिरामी लिएर हिडेको गाडी रातभर त्यही रोकियो । बिरामी लिएर हिडेका आफन्त अत्तालिए, तर कुनै उपाय थिएन । सडकको माथिबाट पहिरो समेत खस्न थालेपछि उनीहरु गाडीबाट बाहिर निस्के । बास बस्नका लागि कुनै प्रबन्ध भएन । विरामीसहित कुरुवाले सडकमा नै रात बिताए ।

विहान स्थानीयबासीहरु भेला भए । हिलोमा फसेको गाडी निकाल्न कोसिस गरे तर सकेनन् । स्काभेटर बोलाइयो । करिब ८ बजेतिर स्काभेटर आएर हिलो सोहोरेर फाल्यो । त्यसपछि बल्लतल्ल स्काभेटरको सहयोगमा हिलोमा फसेको गाडी निस्कियो ।

साँझ रविबाट बिरामी बोकेर हिँडेको गाडी १५ किलोमिटर पार गर्दा १२ घण्टा बित्यो । बिहानमात्र चतुरेबाट दमकतर्फ हिँड्यो । बिरामीको अवस्था सामान्य रहेकाले मात्र कुनै दुर्घटना हुन पाएन । यदि बिरामीको अवस्था गम्भीर भएको भए के हुनेथियो भन्ने विषय सोचनीय बनेको छ ।

यो एक प्रतिनिधि घटना मात्र हो । यो सडक वर्षायाममा कैयौँपटक अवरुद्ध हुन्छ । स्थानीयले यस्ता कैयौं घटनाको सामना गर्नुपरिरहेको छ । सडक त्यहीँमाथि ठाउँठाउँमा पहिरा, खाल्डाखुल्डी र हिलोको अवरोधले यात्रा कष्टकर बन्ने गरेको छ । सडकका कारण बिरामीहरु रातभर बाटोमै रोकिनु दुःखद् भएको स्थानीयहरु बताउँछन् ।

सो सडकखण्ड निर्माण सुरु भएको करिब ३ दशक पुग्न लाग्दासमेत कालोपत्र हुने सकेको छैन । सडक कालोपत्रे नुहँदा इलामका पश्चिमी क्षेत्र र पाँचथरका केही क्षेत्रका बासिन्दाहरु समस्यामा छन् । हिँउदमा सहजता भएपनि वर्षात सुरु हुनसाथ वर्षौंदेखिको पीडा दोहोरिरहन्छ ।

कालोपत्रेको सुरु, काममा ढिलासुस्ती

सो सडक कालोपत्रेका लागि अघिलो वर्ष नै ठेक्का सम्झौता भएको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको हो ।

इलामको चिसापानीदेखि झापाक दमकसम्मको ३३ किलोमिटर सडक तीन खण्डमा ठेक्का लगाएर कालोपत्रेको थालिएको हो । दुई लेनको ३३ किलोमिटर सडक कालोपत्रे सक्ने गरी काम थालिएको हो । झापा र इलामको सिमानादेखि मर्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । उक्त खण्ड २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का लागेको थियो । काठमाडौंको महालक्ष्मी–किरातेश्वर जेभीले निर्माणको काम गरिरहेको छ ।

सडकको दोस्रो खण्ड लुम्बिनी–गणपति जेभीले ठेक्का पाएको छ । १५ दशमलव २६ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको छ । तेस्रो खण्डको ठेक्का पनि लुम्बिनी–गणपति जेभीले नै लिएको छ । ११ दशमलव ३० किलोमिटर सडक कालोपत्रे गर्न ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि काममा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । ढिलासुस्तीका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।

काम ढिलो हुनुमा स्थानीयले ठेकेदार कम्पनीमाथि दोष थोपर्दै आइरहेको छन् । ‘ठेकेदार कम्पनीको हेलचेक्रयाईका कारण हामीले वर्षौंदेखि उही पीडा भोग्नुपरिरहेको छ’ स्थानीय फोमी होटल एण्ड रेस्टुरेन्टका संचालक रोशन राई भन्छन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।’   ठेकेदार कम्पनीले भने विभिन्न कारण देखाउँदै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका छन् । तीनै खण्डमा छिटपुट रुपमा सडक विस्तार, नाली, पर्खाललगायतका पूर्वाधार तयारीका काम भएपनि ती पनि भत्किसकेका छन् ।

उक्त सडक प्रधानमन्त्री केपी ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरूकै क्षेत्रको सडकको निर्माणले गति नपाउँदा स्थानीयले विरोध गरेका छन् ।

फोटो फिचर :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार