बाढीले मुहान क्षतिग्रस्त बनाएपछि इभाङमा खानेपानीको हाहाकार (फोटो फिचरसहित)

  बालकृष्ण बस्‍नेत
651 Shares

माङसेबुङ : पश्चिम ईलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङमा संचालित विभिन्न खानेपानी आयोजनामा बाढीले क्षति पुर्‍याएपछि पानीको हाहाकार भएको छ ।

शुक्रबार भएको मुसलधारे वर्षा र बाढीले खानेपानीको मुहान क्षतिग्रस्त बनाएपछि इभाङमा खानेपानीको हाहाकार भएको हो ।

वर्षासँगै तामाखोलामा आएको बाढीले सोही खोलाबाट संचालित विभिन्न ३ वटा र निर्माणाधीन एउटा खानेपानी आयोजनाको कलेक्सन च्याम्बर र पाइपलाइन क्षतिग्रस्त बनेको छ । मुहानको कलेक्सन च्याम्बर र पाइपलाइनमा नै क्षति भएपछि खानेपानीको चरम अभाव सिर्जना भएको छ ।

सुनगाभा विकास संस्थाको सहयोगमा संचालित दुई र युनिसेफको सहयोगमा संचालित एउटा तामाखोला ग्रामीण खानेपानी तथा सरिफाई आयोजनाको मुहान क्षतिग्रस्त बनेको छ । त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोगमा निर्माणाधीन माङमालुङ वर्षादे खानेपानी संकलन आयोजनामा क्षति पुर्‍याएको छ ।

ती आयोजनाका मुहानमा निर्मित कलेक्सन च्याम्बर र पाइपलाइन सहित भौतिक संरचना ध्वस्त बनाएको छ । निर्माणाधीन आयोजनाका पाइपहरु समेत बाढीले बगाएको छ । कलेक्सन च्याम्बर भत्किएका र पुरिएका छन् । पाइपहरु खोलाको किनारामा क्षतविक्षत अवस्थामा देखिएका छन् ।

मुहान नै क्षतिग्रस्त भएपछि इभाङका करिब साढे २ सय घरधुरीका उपभोक्ताहरु खानेपानीबाट वञ्चित भएका छन् । उनीहरु घण्टौंको दुरीमा गाग्रोबाट पानी बोक्न बाध्य भएका छन् । उनीहरु स्थानीय कुवा र खोल्सीको धमिलो पानी पिउन बाध्य भएका छन् ।

ती आयोजना तत्काल मर्मत सम्भार गर्न सक्ने अवस्था नरहेकाले लामो समयसम्म खानेपानीको अभाव भोग्नुपर्ने बाध्यता सिर्जना भएको तामाखोला ग्रामीण खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका चौकीदार कोतविर तामाङ बताउँछन् ।

माङसेबुङ २ का वडाअध्यक्ष पुष्पराज कार्कीले वडामा बजेट नभएको मर्मतकका लागि गाउँपालिकामा सिफारिस गर्ने प्रतिवद्धता जनाए ।

माङसेबुङ गाउँपालिका कार्यालय समेत रहेको सो क्षेत्रमा खानेपानीको समस्या सिर्जना भएपछि कार्यालय आसपासका होटल तथा खाजाघरहरु समेत प्रभावित भएका छन् ।

तस्वीरमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार