फाल्गुनन्द सुकिलुम्बा विमानस्थल : सकियो धावनमार्ग, भत्कियो नाली

  नयाँ बुलन्द
413 Shares

इलाम : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएपनि नाली निर्माण व्यवस्थित नहुँदा धावनमार्ग र बस्ती जोखिममा परेको छ ।

विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नाली भत्किन थालेसँगै विमानस्थलको धावन मार्ग र विमानस्थल तल रहेको बस्ती जोखिममा परेको हो ।

विमानस्थलको पूर्वपट्टिको तल्लो साईडमा निर्माण भएको नाली मध्य वर्खा नै नलागि भत्किन थालेपछि समस्या देखिएको छ । नाली भत्किँदा विमानस्थल भन्दा तल रहेको वस्ती जोखिममा पर्नुका साथै धावनमार्गको तल्लो भाग खोल्न थालिसकेको छ ।

पहिले माटो थुपारेर त्यहाँमाथि नाली बनाएको कारण नाली भत्किएको स्थानीयहरु बताउँछन । परिक्षण उडान पश्चात विमानस्थललाई डाउन गर्दा खारिएको माटो थुपारेको ठाउँमा नाली निर्माण गरेको कारण पनि नाली भत्किएको स्थानीयको भनाई छ ।

विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे सम्पन्न र स्थायी किसिमको टर्मिनल भवन निर्माण सम्पन्न भईसकेको छ । वर्खाको समयमा विमानस्थलको सबै पानि नालीबाटै जाने भएपनि वर्खा नै नलागि नाली भत्किन थालेपछि मध्यवर्खामा त्यसले ठूलो जोखिम निम्त्याउने देखिन्छ ।

बिमानस्थलबाट माइखोलासम्म नै ढल व्यवस्थापन गर्नका लागि ९ करोडको लागतमा नाली व्यवस्थापनको काम गरेपनि विमानस्थलको तल्लो क्षेत्रको नाली भत्किएको छ ।

नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनय भट्टराइले भत्किएको नाली बनाउन केही ढिला भएको स्वीकार गर्दै चाँडै सुरु गरिने बताए । ‘पहिले तल्लोपट्टि लगाएको ग्याविनको वाल अलिक अस्ति नै भत्किएको हो, गत वर्खाभन्दा अगाडि नै नाली बनिसकेको र वर्खाको समयमा दब्नुपर्नेजति माटो दविसकेको छ’ उनले भने, ‘अब पहिले भत्केको वालभन्दा तलबाट रडसहितको वाल लगाउने डिजाईन छ, त्यो काम चाँडै सक्नेगरि काम अघिबढेको छ ।’

लामो समयसम्म निर्माण हुन नसकेको विमानस्थलमा २०७५ जेठमा फ्लाईट टेस्ट ल्याण्डीङ गरिसकेपनि कामले गति लिन सकेको थिएन ।

जिल्लाकै गौरवपूर्ण आयोजनाको रुपमा मानिएको सुकिलुम्बा विमानस्थलको काम अहिले धावनमार्गसँगै ट्याक्सी र हवाइ पार्कीङ्ग गर्ने स्थान समेत कालोपत्र गर्ने काम सम्पन्न भईसकेको छ ।

८ करोड ४० लाखमा निर्माणको ठेक्का पाएको आशिष आशिर्वाद स्वामीनारायण जेभीले आसफाल्ट कंक्रिटसहित विमानस्थलको कन्ट्रोल टावर बनाउने जिम्मेवारी पाएको छ ।

बिमानस्थलमा अहिलेसम्म भएको काम वाहेक थप पुर्वाधारका लागि तारबार गर्ने, टर्मीनल भवन बनाउने काम रहेको भट्टराई बताउँछन । त्यस्तै सुरक्षा गार्डका लागि क्वाटर बनाउन थप १५ करोड बजेट लाग्ने अनुमान रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार