च्याब्रुङ नाच्दा गीत गाउने प्रथा

काठमाडौको प्रग्या प्रतिष्ठान भवनमा दार्जीलिङका कलाकारहरू

काठमाडौको प्रग्या प्रतिष्ठान भवनमा आफूलाई याक्थुम्बा भन्न रूचाउने लिम्बुजातिको च्याब्रुङ नाच प्रदर्शन भइरहेको थियो । नाचको आयोजना किरात याक्थुङ चुम्लुङ नेपालले गरेको थियो । दार्जीलिङ गोर्खा पार्वत्य परिषदका कलाकारहरूले गीतसँग नाच प्रस्तुत गर्दै थिए । गायिका डेजी बराइली र साथीहरूका स्वरमा केसाम ८ मात्राको बोल थियो— “युमा सामलाई सेवा-सेवारो ।।

 थेबा सामलाई  सेवा-सेवारो ।।”

मेरो छेउमा बसेका मित्रले  विस्तारै भन्यो – “गीत गाउदै च्याब्रुङ नाचेको देखेको थिइन, यो पहिलो पटक हो । गजबले पो नाचिन्दो रहेछ ।”

“गाउँ-घरमा देख्नु भएन ?”

“गाउँ-घरमा त च्याब्रुङ  नै नाचिन्थ्यो तर गीत चाहिँ गाइएन ।”

“किन नि ?”

“गीत हुदैन भन्थे ।”

“ यहाँ त गीत गाउँदै नाच्दै छन् त ?”

“यो पहिलो पटक देखेको हुँ ।”

किरात याक्थुङ चुम्लुङ नेपालको केलाङ

जजसले पहिलो पटक गाउदै च्याब्रुङ नाचेको हेरे तिनीहरू सब छक्क परे ।  दार्जीलिङ सहरको क्यापिटल हलमा  पहिलो पल्ट दार्जीलिङ गोर्खा पार्वत्य परिषदको सूचना एवं संस्कृति विभागका कलाकारहरूले च्याब्रुङ नाच प्रस्तुत गर्दा भारतीय लिम्बु संगठनका सचिवले सिलगढीबाट प्रकाशित हुने एउटा नेपाली दैनिक समाचार पत्रमा ‘च्याब्रुङ ताल बाजा हो यसमा गीत गाइन्दैन’ भनेर विग्य्ति नै छापेका थिए।

किरात याक्थुङ चुम्लुङ यु.के.को केलाङ

त्यसबेला सम्म च्याब्रुङ नाच्दा गीत गाउने चलन त्यति थिएन । “युमा सामलाई सेवा-सेवारो, र थेप थेप लुङमा फालेलुङमा” गीतदेखि च्याब्रुङ नाचने क्रममा नाचसँगै गीत गाउने प्रचलन बढेर गयो । यसरी गीत गाउदै च्याब्रुङ नाचको अभियान दार्जीलिङ गोर्खा पार्वतीय परिषदका तत्कालीन शासक सुवास घिसिङले चलाएका थिए । दार्जीलिङ गोर्खा पार्वतीय परिषदको कार्यक्रममा च्याब्रुङ नाच प्रर्दशन गरिन्थ्यो । घिसिङको निर्देशनमा पश्चिम बंगालका विभिन्न स्थानसँगै पूर्वाञ्चल राज्यहरूमा च्याब्रुङ नाच पुगेको थियो ।

हेवाखोला समाज सेवा युवा क्लब जलजलेको केलाङ

सुवास घिसिङले दार्जीलिङ गोर्खा पार्वतीय परिषदको सूचना एवं संस्कृति विभागमा दार्जीलिङबाट ८ र मिरिकबाट २ गरि जम्मा १० जना च्याब्रुङ नृत्यकारहरू नियुक्त गरेका थिए । च्याब्रुङ नृत्यका लागि सरकारी नियुक्ति पाउने यिनीहरू प्रथम लिम्बु कलाकारहरू हुन भन्दा कुनै अपवाद नहोला । किनभने दार्जीलिङ सरह सुखिम, असम लगायत पूर्वाञ्चल राज्यहरूमा लिम्बुहरू बसोबास गर्दछन । नेपालको पूर्वीय क्षेत्र लिम्बुवान नामले प्रख्यात छ । तर त्यहाँको सरकारले  च्याब्रुङ  नृत्यकारको नियुक्त गरेका छैन ।

लोक गायक नवीन कुमार खड्काले सुवास घिसिङलाई भेटेपछि तिनीले पनि च्याब्रुङ गीत गाउन सुरू गरे । त्यसपछि नवीन कुमार खड्का, गोविन्द आङबोहाङ, पुस्ताका खड्का र मञ्जु सम्बाहाङफेका स्वरमा “बाँसैको झ्याङमा चरीलाई लाई” लाखिरो छुइया पकन्दी” जस्ता च्याब्रुङ गीतहरू म्युजिक नेपालले बजारमा ल्याएको थियो ।

याक्थुम्बाहरूको प्रमुख बाजालाई “के” भनिन्छ । याक्थुम भाषामा “के”-भनेको  “च्याब्रुङ” हो । च्याब्रुङको उत्पत्ति बारेमा विभिन्न आख्यानहरू छन । कतिले ताप्लेजुङको केसिङ पाङभेलाई यसको उत्पत्ति स्थल मानेका छन भने कतिले केसामी नाम्सामीको कथासँग जोडेका पाइन्छ । नाम्सामी(मानव)-ले केसामी (चितुवा)-को छाला सुकाएको ठाउँ सेहोनाम्लाङ (छालासुकुवा) पान्थरमा छ । तर चितुवाको छालाको च्याब्रुङ बनाएको मुन्धुम गाउने फेदाङबाहरू अब रहेनन् ।

खेप्सेम्मे खेप्सेम्मे तेङजुम्सेको केलाङ

थेबासाम मुन्धुम अनुसार “करवाँपित”को भोग दिएपछि त्यसको छालाले  “हङगेसिङ” अर्थात टोड्का परेको रूख जसलाई खमारी भनेर चिनिन्छ, त्यस रूखको मुडालाई दुईतिर मोहोरि बनाएको “केक्वा” नै च्याब्रुङ हो भन्ने भनाइ छ । थेबासाम थेप्मा अनुष्ठान सम्पन्न गर्ने क्रममा “नारासेमा” गर्दा –

“ह्ये… उ… उम, आल्ल चुङसाला लबे, थङसाला तोक्पे ।।

हङग्ये सिङग्ये पिथिक्ये, मुयेत काम काम ।।

कामग्ये युङग्ये, इङजाङ जाङ ।।

तुक्खे लाक्खे खेत खेत, माङवा हाङवा तुम दुम ।।” … भन्दै फेदाङबाले मुन्धुम गाउदा लोरिङदेन र पिचवा चाहिँ च्याब्रुङ भिरेर मूलखाँबोलाई दाहिनेबाट देब्रेतिर फन्को लगाएर “ति या हा” भन्दै नाच्ने गर्दछन ।

यसरी नै नयाँ घरमा “थक थाम थाम” विवाहमा “मेत काम काम” तालमा पनि मूलखाँबोको वरिपरि च्याब्रुङ नाचिने परम्पराको मुन्धुम बेग्ला बेग्लै छन । फेदाङबा र तुम्याहाङले च्याब्रुङलाई “के” भने पनि साम्बा र येबाले यसलाई “नियारा” भन्ने गर्दछन ।

च्याब्रुङ ताल बाजा हो । च्याब्रुङको तालमा कदम चालेर नाच्दा कहिले हातले, कहिले शरीरको अङ्गद्वारा जलचर-थलचरको अभिनय गरिन्छ । पुतलीदेखि हाथी आदिको अनुकरण गर्दै च्याब्रुङ नाचिन्छ । यस्ता नाचहरूमा “कुस्रक्पा” (साधारण) नाच एउटा हो ।

कुस्रक्पा नाच एउटा भएपनि नाचिने तरिका चाहिँ ठाउँ अनुसार अलिक फरक छन । यो नाच पान्थर, चौबिस र ६थरतिर १ २ ३  गर्दै १६ कदम सम्म अगाडि अनि त्यति नै कदम पछाडि सरेर नाचिने गरिन्छ । ताप्लेजुङका ताम्ब्राङ, साँगु र मेवाखोलातिर भने कुस्रक्पा १ २ ३ गर्दै ८ कदम अगि सर्दै नाचिन्छ । फेरि अर्को “लाङदाङ” नाचमा भने ५ कदम अगि कदम चालिन्छ ।

यस बाहेक सुनिता थेगिम, मनु नेम्बाङ,ब्रबिम सेर्मा,अग्नि लावती,इन्द्र सुशील, सृजना चवेगु,सुमन लिम्बु,निरन्ता नेम्बाङ आदि धेरै गायक,गायिकाहरूको स्वरमा च्याब्रुङ गीतहरू बजारमा पाइन्छन । च्याब्रुङ नाच कम छायांकन गरिएको भए पनि  अत्याधिक मन पराइएको  सुनिता थेगिमको “ खेप्सेम्मे खेप्सेम्मे तेङजुम्से, नेही निङ्वा मेबोनेन साप्ला मेन्निते” च्याब्रुङ गीत हो ।

अहिले आएर एउटै लर्कोमा युवक-युवतीहरू तालमा ताल मिलाएर ‘केसाम’ गाउदै च्याब्रुङ नाच्ने गर्दछन । केसाम ८ मात्राको हुन्छ ।  केसाम गाउनेहरूमा दिलिप फुरूम्बो,जे.पी. नेम्बाङ,शान्ता केरूङ, रीता फुरूम्बो, पुनम सम्बाहाङफेको “नु मुइङ केसाम” लोकप्रिय छ ।

युवा जागरण समाज, मोराहाङ-तेह्रथूमको – “तान्छोगेन ताजेङ इङवा कासे ।।

आदुमे फुङये नीङवा तासे ।।” कुस्रक्पा नाच हो ।

त्यसरी नै बिर्ता मोड झापाको सिइएस थिएटर क्लबका कलाकारहरूले –

“बाँसैको झ्याङमा चरीलाई लाई।।

नाचेर जाउँत बरिलाई लाई ।।”-  भन्ने गीतमा च्याब्रुङ नाचेर देखाउनु सफल भएका छन ।

अहिले आएर च्याब्रुङ  नाच प्रस्तुत गर्दा नृत्यकारलाई भिर्न सहजको लागि यसको बनावटमा  सानो र छोटो बनाउन थालिएको छ । यस्ता च्याब्रुङको आवाज राईको सिलि नाचमा प्रयोग गरिने ढोलको जस्तो हुन्छ ।

यसलाई च्याब्रुङ भनेर नाचिए तापनि यो ढोल हो च्याब्रुङ होइन । लिम्बुहरूले ढोल होइन च्याब्रुङ बजाउदा सात गाउँ पर सम्म सुनिन्छ । यसैकारण लिम्बुको साँस्कृतिक बाजा च्याब्रुङको छुट्टै महत्व छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार