पवित्रहाङमा लिङदेनको ६५ औं जन्मोत्सव

माङसेबुङ : किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६५ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको नुमाङगेन्ना सेवा समारोह उद्घाटन भएको छ ।

प्रदेशसभा सदस्य आशारत्न जवेगूकोको प्रमुख आतिथ्यमा सोमबार समारोह उद्घाटन भएको हो । समारोह उद्घाटनमा पवित्रहाङमा कपका विजेता रोयल स्पोर्टिङ क्लब दमक झापा र उपविजेता एपीएपसी माङसेबुङ इलामका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले धर्मले सत्य र शान्तिको पक्षमा सदा वकालत गर्ने बताए ।

बसोबासको आधारमा मुलुक विविध जातजातिहरुको फूलबारी भएझैं राज्य पनि समावेशी हुनुपर्ने बताए । ‘आदिवासी जनजाति समुदायले पनि राज्यको कार्यकारी शासन सत्ता चलाएको हेर्ने इच्छा लागेको छ’ उनले भने, ‘पहिले संसारमा किरातहरुले राज्य गरेका थिए ।’

किरात धर्म विश्व शान्ति र मानव एकताको पक्षमा रहेको प्रष्ट पार्नु हुँदै, वहाँले शान्ति भए देश बच्ने, सम्पति बच्ने, देव नीति, राजनीति सबै बच्ने अनि सबै अमनचयनसँग बाँच्न सकिने बताए ।

धार्मिक पर्यटकीयस्थल माङसेबुङको विकासमा राज्यले विशेष ध्यान दिनु आवश्यक रहेको बताउँदै भविष्यमा माङसेबुङको नामबाट धेरै नेपालीहरु बाँच्ने आधार बन्ने बताए ।

नुमाङगेन्ना सेवा समारोहको अवसरमा विगतका वर्ष झै शनिबार साक्मुरा वादेम्मा गरिएको र आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य, किरात साम्यो माङसिवाखाहुन पान्जुम्भोबाट युमा लाङ, थेबा लाङ प्रस्तुत गरिएको थियो । किरात स्वर सम्राट अर्थवीर लाओती ‘सिमले कान्छा’, रामप्रसाद लाओती लगायतले माङसिवाखाहुन समेत प्रस्तुत गरेका थिए ।

समारोहमा प्रमुख अतिथि प्रदेशसभा सदस्य जबेगु र विशेष अतिथि र्जुनधारा नगरपालिका जेष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भटराई लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

समुद्घाटन पश्चात साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन भएको सांस्कृतिक विभागले जनाएको छ । समारोहको समापन कार्यक्रम पनि मंगलबार नै हुने मूल समारोह समितिले जनाएको छ ।

समारोह अध्यक्ष केहेरसिं योङहाङका अनुसार मंगलबार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुने कार्यक्रम छ ।

त्यसैगरी माङ मिक्तोक (उपहार) तथा अभिनन्दन चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने र माङगेन्ना चामल वितरण हुने कार्यक्रम रहेको छ ।

शुभ जन्मोत्सव समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य समारोहका सह अध्यक्ष तथा किरात धर्म तथा उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले राखेका थिए भने महासचिव काकीराम लाओतीले सञ्चालन गरेका थिए ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार