इलाम : ‘सातौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् ।
मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको सो पुरस्कार विहीबार गौतमलाई प्रदान गरिएको हो ।
७२ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार गौतमलाई प्रमुख अतिथि प्रदेश १ का भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर रानाले नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।
पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई प्रदेश स्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ ।
ताप्लुेजुङमा रहेर मानवअधिकारका क्षेत्रमा समेत कमल चलाउँदै आएका गौतम कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् । विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशील गौतम नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका संस्थापक सचिव समेत हुन् ।
कार्यक्रममा राज्यमन्त्री रानासहित जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, नेपाल कम्युनिष्ट पाटी इलामका प्रतिनिधि भक्त केसी, गैरसरकारी संस्था महासंघ प्रदेश १ का अध्यक्ष प्रकाश अधिकारी, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालू, नेपाल पत्रकार महासंघ इलामका कोकिला ढकाल, पुरस्कतृ गौतमलगायतले मन्तव्य राखेका थिए ।
मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष वीरबहादुर खड्का, छनौट प्रक्रियाका बारेमा छनौट समितिका संयोजक भक्त थामी र संचालन लक्ष्मी सुब्बाले गरेका थिए ।
कार्यक्रमामा प्रहरी उपरिक्षक नविन राई, विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था एवम् संचारकर्मीहरुको समेत उपस्थिति थियो ।