दुरी कायम गरि किरात धर्मगुरु लिङदेनको ६७ औं जन्मोत्सव मनाइदैं

जन्मोत्सवमा पूर्व सभामुख नेम्बाङ माङसेबुङ आउँदै

इलाम : कोरोना भाइरस महामारीका कारण किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६७ औं जन्मोत्सव प्रभावित भएको छ । हरेक वर्ष मंसिर १८ मा वृहत रुपमा मनाइदैं आएको धर्मगुरुको जन्मोत्सव कोरोनाको जोखिमका कारण यसवर्ष वृहत नहुने भएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक/भौतिक दुरी कायम गरी बिहीबार सामान्य रुपमा मात्र जन्मोत्सव गरिने किरात चोत्लुङ अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरिसंह लिम्बूले जानकारी दिए ।

‘कोरोनाका कारण विगतमा जस्तो यवर्ष जन्मोत्वका लागि प्रचारप्रसार गरिएन । भक्तजनहरुलाई निमन्त्रण पनि गरिएन‘ अध्यक्ष योङहाङले नयाँ बुलन्दसँग भने, ‘सामान्य रुपमा स्थानीय पुजारी भेला गरेर मात्र माङेन्ना गर्ने तयारी छ । विगतमा जस्तो खेलकुद तथा साँस्कृतिक कुनैपनि कार्यक्रम गरिने छैन । ‘

जन्मोत्सवको अवसरमा यसवर्ष विगतका कुनैपनि कार्यक्रम संचालन हुने छैनन् । सामान्य रुपमा दीप प्रज्वलन गरी गुरुको माङगेन्ना गर्ने, ६७ जना सेवासेवाहरुबाट मुन्धुम वाचन गर्ने र माङ्गेन्ना चामल वितरण मात्र हुनेछ ।

हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने जन्मोत्सवमा यस वर्ष भने पूर्व सभामुख एवम् प्रतिनिधि सभाका सांसद सुवासचन्द्र नेम्बाङ   आउने भएका छन् । धर्मगुरु लिङदेनको जन्मोत्सव कार्यक्रमको उद्घाटनमा दीप प्रज्वलन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन माङसेबुङ आउन लागेका हुन् । उनी दिउँसो ११ बजेदेखि १ बजेसम्म मात्र माङसेबुङमा रहने कार्यक्रम रहेको अध्यक्ष योङहाङले बताए ।

‘जन्मोत्सवको उद्घाटनमा बत्ती बाल्नका लागि मात्र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ आउनुहुन्छ । विहान ११ देखि १ बजेसम्ममा उहाँ फर्किसक्ने कार्यक्रम छ‘ अध्यक्ष योङहाङले भने ।

माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्व राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत माङसेबुङ आइसकेका छन् ।

धुम्रपान मध्यमान निषेधित क्षेत्र

माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ र ३ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरुको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा छ ।

जन्मोत्सवमा सार्वजनिक विदा

यसैबीच किरात धर्मगुरु लिङदेनको जन्मोत्वसको विहीबार माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

गाउँकार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । यो निर्णयलाई किरात धर्मावलम्बीहरुले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार