
इलाम : पत्रकारिता क्षेत्रमा करिब २४ वर्ष बढी समय बिताइसकेका इलामका तोयानाथ भट्टराई जिल्लाकै व्यवसायिक पत्रकारको रुपमा परिचित छन् । अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका इलाम संवाददाता भट्टराईको पत्रकारिता पेशाप्रतिको लगाव र निरन्तरता लोभलाग्दो छ । उनीकृषि, अर्थ र पर्यटन पत्रकारितामा विशेष कलम चलाउँछन् ।
तर पछिल्लो समय उनको परिचय फेरिएको छ । पत्रकारितामा मात्र उनको परिचय सीमति छैन । व्यवसायिक कृषकका रुपमा समेत आफ्नो परिचय विस्तार गरेका छन् । उनले अहिले समाचार पछिको समयलाई कृषि कर्ममा उपयोग गरेका छन् । जिल्लाको सूर्योदय नगरपालिका ११ माघेबाट सदरमुकाम छिरेपछि समाचारमा भविश्य खोजेका भट्टाईले अहिले पुर्खौली गाउँमा व्यवसायिक कृषि कर्म सुरु गरेका छन् ।
भट्टराईले श्री वत्स अर्गानिक फर्म दर्ता गरेर व्यवसायिक कृषि सुरु गरेका हुन् । ९ सय वर्ग मिटर क्षेत्रफल जग्गामा १० वटा प्लाष्टिक टनेल, थोपा सिंचाई, प्लाष्टिक मल्चिङ गरेर ५ लाखको लगानीमा सुरु गरेको फर्ममा बेमौसमी टमाटर, काँक्रा, अकबरे खुर्सानी, रायोको साग, काउली लगाएका छन् । समाचार लेखेर बेचेको सबै समय कृषिमा उपयोग भइरहेको छ । उनको फुर्सदिलो समय फर्ममा नै बित्ने गरेको छ ।

उसो त भट्टराईले व्यवसायिक कृषिका लागि सरकारी अनुदान समेत पाएका छन् । उनले प्रदेश नम्बर १ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ३ लाख ५० हजार रुपैयाँ अनुदान पाएका हुन् । प्रदेश सरकारको समेत लगानीमा संचालित व्यवसायबाट भट्टराई स्वरोजगार त भएका छन् नै, स्थानीय सुवाहरुलाई समेत रोजगारी समेत प्रदान गरेका छन् ।
‘युवाहरुलाई स्वरोजगार बनाउन यो राम्रो प्रयास हो’ स्थानीय युवा ज्ञानीराम आचार्य भन्छन्, ‘केही युवाहरुले रोजगार समेत पाएका छन् । यसरी व्यवसायमा लाग्ने हो भने कोही पनि विदेश जानु नपर्ने रहेछ ।’
भट्टराईको यो कर्ममा पत्नी यसोदा बानिया र आमा विष्णुदेवी भट्टराईले पनि साथ दिएका छन् । स्थानीय सहकारीको जागिर छोडेर फार्ममा लागेकी बानीयाले व्यवसायिक खेती सुरु गरेपछि परिवार चलाउन अझै सजिलो भएको बताइन् । ‘सुरुमा लगानी अलि बढी नै भएको थियो । अहिले लगानी उठिसकेको छ’ बाँनियाले भनिन्, ‘यो व्यवसायबाटै घरखर्च चलेको छ । परिवार चलाउन सहज भएको छ ।’ ७३ वर्षीय आमा विष्णुदेवी भट्टराई समेत छोराको कृषि कमले खुसी छिन् । ‘छोराको यो कर्ममा म पनि खुसी छु । उनको प्रयास देखेर गाउँका युवाहरु पनि व्यवसायिक कृषिका लागि जाँगर चलाउन थालेका छन्’ विष्णुदेवीले भनिन् । उनको यो कर्मले रोजगारीका लागि विदेशिन लागेका युवाहरुलाई व्यवसायिक कृषिमा लाग्न प्रेरणा प्रदान गरेको छ ।

समाचार कर्ममा रहँदा हजारांैका सफलताका कथा लेखेका भट्टराइले कृषि क्षेत्रमा सफल प्रशिक्षकका रुपमा समेत २० बर्ष बिताएका छन् । उनले इलाम र पाँचथरका ५० हजार भन्दा बढि कृषकलाई तालिम समेत प्रदान गरेको अनुभव सुनाउँछन् । ‘कृषक प्रशिक्षकका रुपमा गाउँमा पुगेर कामगर्दा सिक्ने र सिकाउने दुबै हुन्छ, आफ्नो फार्ममा त्यही अनुभवलाई समेत उपयोग गरेको छु’ उनले सुनाए ।
उनले रासयनिक मलको विकल्पको रुपमा गाईको मुत्र, गोबर, सख्खर लगायतका सामग्री मिसाएर जैविक झोल मल बनाएका छन् । त्यो मलमा रहेको गुणस्तर परिक्षणका लागि नेपाल सरकारको माटो तथा मल परिक्षण प्रयोगशालामा पठाएको उनले सुनाए । उनले भने ‘त्यसको परिणम आएपछि इलामको अग्यानीकरणमा अभियान चलाउन सकिन्छ ।’
कोराना र लकडाउन जपेर त्रास फैलाउने लहरनै चलेको समयमा आफ्नै भुमि कोट्याउने कर्ममा लागेका पत्रकार भट्टराईले ४५ रोपनी क्षेत्रमा चिया खेतीको शुरुवात समेत गरेका छन् । उनले भने ‘अव आधा समय पत्रकारीतामा आधा कृषिमा खर्चिने योजना बनाएको छु ।’
सधैं व्यस्त रहने उनले स्थानीय युवाहरुलाई सहकारी व्यवस्थापन, स्थापना, फार्म दर्ता, परियोजना प्रस्ताव लेखन जस्ता विषयमा परामर्श सेवा समेत प्रदान गर्ने गरेका छन् । पत्रकार भट्टराई भन्छन् ‘कृषि कर्म गर्दा सानो हुने हाइन इज्जत बढ्छ भन्ने अबको पुस्तालाई बुझाउनु छ ।’
भट्टराई अन्नपुर्ण पोष्ट दैनिक, अन्नपुर्ण डटकम, रेडियो अन्नपुर्ण र एपीवान एच डि टेलिभिजनका संवाददाता छन् । उनले स्थानीय दैनिक पत्रिकामा ५ वर्ष भन्दा बढि कार्यकारी सम्पादकको रुपमा समय बिताइसकेका छन् ।

भिडियो हेर्नुहोस् :