दिदीबहिनी झरना : पर्यटकको गन्तव्य स्थल बन्दै (भिडियो/फोटोफिचर)

इलाम : इलाम नगरपालिका ३ पुवामझुवाको महभीरस्थित दिदीबहिनी झरना आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्न थालेको छ । स्थानीय बासिन्दाको सक्रियतासँगै झरनाको मुहारमा परिवर्तन भएपछि  पर्यटकको रोजाई बन्न थालेको हो ।

अहिले दिदीबहिनी झरनामा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । दुई वटा झरना नजिकमा रहेकाले दिदीबहिनी झरनाको नामाङ्करण गरिएको हो । दुवै झरना करिब ५० मिटरको दुरीमा पर्दछ । उचाई भने हालसम्म मापन गरिएको छैन । ठूलठूला चट्टानका वीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिन्छ ।

मेची मार्गको बाघखोर बजारदेखि करिब २ किलोमिटर यात्रा गरेपछी दिदीबहिनी झरना पुग्न सकिन्छ । सानाठूला सवारी साधनहरु झरना छेउसम्म पुग्ने भएकाले आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । त्यहाँ अहिले दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गरेको स्थानीय सोम सुनुवार बताउँछन् ।

‘पहिले सडक थिएन, एकदम कष्टकर यात्रामा फाट्टफुट्ट मात्र मानिसहरु झरना पुग्ने गर्दथे’ सुनुवारले भने, ‘अहिले सडकको सुविधासँगै दैनिक पाँच सयको संख्यामा पर्यटकहरु झरना पुग्ने गरेका छन् ।’ अन्य दिनभन्दा शनिबार बढी पर्यटक आउने गरेको उनको भनाई छ । शनिबार सार्वजनिक विदा पर्ने भएकाले कर्मचारीहरु विदा मनाउन तथा पारिवारिक घुमघामका लागि समेत दिदीबहिनी झरना पुग्न थालेका छन् ।

मेची मार्गबाट पुवामझुवातर्फ नजिकै रहेकाले पर्यटकलाई यात्रामा समेत सहज हुने सुनुवार बताउँछन् । ‘आन्तिरक पर्यटनका लागि एकदमै उपयुक्त छ । मेची मार्गबाट नजिकै पनि पर्छ । यात्रामा सहज नै छ’ सुनुवार भन्छन्, ‘एकपटक दिदीबहिनी झरना अवलोकनका लागि आउन सबैलाई आग्रह गर्छु ।’

झरना हेर्न आएकामध्ये एक युवाले गाउँघरमा समेत पर्यटन विकास हुन थालेको बताउँदै पर्यटन प्रवर्धनका लागि यो झरना महत्वपूर्ण रहेको उल्लेख गरे । ‘अन्य ठाउँको झरना पनि देखेको छु तर यति यत्तिको सुन्दर छैन । यो त धेरै राम्रो रहेछ । एकदम रमाइलो लाग्यो’ उनले भने  । सो झरनाको प्रवर्द्धनका लागि तीनै तहको सरकारको ध्यान जान सकेमा पर्यटकहरुको प्रमुख गन्तव्य बन्नसक्ने सम्भावना रहेको उनको भनाइ छ ।

झरना अत्यन्तै सुन्दर रहेको सुनेर साथीहरुसँग घुम्न आएको एक पर्यटक खुसी कट्वाल बताउँछिन् । ‘नयाँ झरना छ भन्ने सामाजिक संजालमा थाहा पाएर घुम्न साथीहरुसँग आएकी हुँ’ कट्वालले भनिन्, ‘ झरना साँच्चिकै राम्रो रहेछ ।  एकदमै राम्रो लाग्यो रमाइलो रहेछ ।’

स्थानीय बासिन्दाहरु झरनाको प्रचारप्रसार तथा संरक्षणमा जुटेसँगै झरनाको चर्चा पनि चुलिदैं गएको छ । चर्चा चुलिएसँगै झरनामा पुगेर तस्वीर लिने र सामाजिक सञ्जालमा हाल्ने क्रमले यो झरनाको चर्चा झनै चुलिदो छ । यसअघि सो झरना ओझेलमा परेको थियो ।

प्रचारप्रसार सुरु भएसँगै सो झरनाको संरक्षण र प्रवर्द्धनमा सरकारको समेत नजर जान थालेको छ । झरनाको संरक्षण र प्रवर्द्धनका लागि हालसम्म ३० लाख रुपैयाँ सरकारले खर्चेको छ । दिदीबहिनी झरना संरक्षण उपभोक्ता समितिका सचिव राजेन्द्र राईका अनुसार आर्थिक वर्ष २०७५।७६ मा मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति इलामबाट २० लाख रुपैयाँ विनियोजन भएको थियो । सो रकमबाट ‍३ सय ९० मिटर ट्र्याक सोलिङ, १ सय ४० मिटर फलामे रेलिङ, दुईवटा टहरा निर्माण, ९० मिटर ब्लक बाटो निर्माण गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०७६।७७ मा प्रदेश सरकारबाट १० लाख रुपैयाँ विनियोजन भएको थियो । सो रकमबाट बहिनी झरनाबाट २ सय मिटर ६ इन्चको सोलिङ गरेर त्यसमा ४ इन्चको पिसीसी ढलाई र १ सय १० मिटर स्टिल रेलिङ निर्माण गरिएको सचिव राईले जानकारी दिए । सवारी पार्किङ स्थल, शौचालय र धाराको निर्माण गर्न भने बाँकी नै देखिन्छ ।

वडा अध्यक्ष तीर्थ गुरुङले दिदीबहिनी झरना आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अब्बल सावित हुने दावी गर्छन् । ‘यसको प्रवर्द्धनका लागि भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । स्थानीयबासी, स्थानीय तह र प्रदेश सरकारबाट ध्यान दिएर काम भइरहेको छ । अझ विभिन्न निकायमा पहल गरिरहेका छौं’ वडा अध्यक्ष गुरुङले भने, ‘मेची मार्गबाट नजिकै रहेको र दुईवटा झरना सँगसँगै रहेकाले अरु झरना भन्दा यो झरनाको महत्व बढी नै छ । आन्तरिक र बाह्य पर्यटकहरुका लागि यो झरना जिल्लाकै उत्कृष्ठ गन्तव्य बन्न सक्ने निश्चित छ ।’

झरनासम्म पुग्ने पर्यटक बढेसँगै यसको प्रवर्द्धनमा स्थानीय सरकारले पनि चासो देखाएको छ । चालू आर्थिक वर्षमा पनि इलाम नगरपालिकाबाट ५ लाख विनियोजन भएको छ । सो रकम कार्यान्वयन हुन भने बाँकी छ । सो झरनाको नाम सुरुमा महभीर झरना थियो । ठूलो भीरमा मौरी बस्ने र प्रशस्त मह पाइने भएकाले स्थानीयले सो भीरलाई महभीर भन्ने गर्दथे । सोही भीरबाट झरना खस्ने गरेकाले स्थानीयले महभीर झरना नामाङ्करण गरेका थिए । तर नजिकै दुईवटा झरनाहरु रहेकाले दिदीबहिनी झरना उपयुक्त हुने भन्दै पुन त्यसलाई दिदीबहिनी झरनाकै नामले प्रचार गर्न थलिएको छ । कतिपयले पुरनै नाम राख्नुपर्ने भन्दै छलफल समेत सुरु गरेका छन् । तर दिदीबहिनी नामले नै बजेट प्राप्त भएको र हालसम्म प्रचारप्रसार समेत सोही नाममा गरिएकाले दिदीबहिनी नामलाई नै निरन्तरता दिनुपर्नेमा पक्ष पनि छन् ।

सदरमुकाम इलामदेखि र पाँचथरको फिदिमदेखि मेची राजमार्ग प्रयोग गरेर बाघखोर बजार आइपुग्छ । त्यहाँबाट करिब २ किलोमिटर कच्ची सडक प्रयोग गरी दिदीबहिनी झरना पुग्न सकिन्छ । सडककै कारणले ओझेलमा रहेको झरना पर्यटकीय गन्तव्य को रुपमा विकास हुन थालेपछि स्थानीयबासी उत्सासहित भएका छन् । झरनालाई जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेको स्थानीय सोम राई बताउँछन् । ‘यस झरनालाई जिल्लाकै एक उत्कृष्ठ पर्यटकीय गन्तव्य बनाउन चाहन्छौं । त्यसका लागि स्थानीय स्तरबाट हामी लागिपरेकै छौं’ राईले भने, ‘हामीलाई स्थानीय सरकार र प्रदेश सरकारबाट अझ बढि सहयोगको अपेक्षा गरेका छौं ।’

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार