लिम्बूहरुको समाधिस्थल चारसुरे डाँडामा खानेपानीको व्यवस्थापन हुँदै

  बालकृष्ण बस्‍नेत
0 Shares

माङसेबुङ : आदिवासी लिम्बू समुदायको ऐतिहासिक समाधिस्थल ईलामको माङसेबुङ गाउँपालिका २ इभाङस्थित चारसुरे डाँडामा खानेपानीको व्यवस्थापन हुने भएको छ ।

भौगोलिक दृष्टिकोणले समेत रमणीय क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि स्थानीय समाजसेवी राम कार्कीले पोलेथिन पाइप र ड्रम उपलब्ध गराएका छन् । ११ हजार १ सय २५ मूल्य बराबरको पाईप र ड्रम चारसुरे क्षेत्र संरक्षण समितिलाई हस्तान्तरण गरेका छन् ।

खानेपानी व्यवस्थापन लागि आवश्यक पाइप र ड्रम उपलब्ध भएपछि धारा निर्माणको काम सुरु भएको छ ।

त्यस क्षेत्रमा वृक्षारोपणका लागि यसअघि अर्का समाजसेवी पृथ्यीमान चबेगूले विभिन्न जातका १ सय बढि जातका विरुवा उपलब्ध गराएका थिए । यसरी यस क्षेत्रको विकासका लागि स्थानीय समाजसेवीहरुको सहयोग पाईरहँदा युवाहरूमा निकै आत्मबल बढेको संरक्षण समितिका सचिव दिपक ल्वागुनले बताए । समितिले त्यस क्षेत्रमा यसअघि वृक्षारोपण र सरसफाई गरकेा थिए ।

विश्व महामारी कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण घरगाउँ आएका स्थानीय युवाहरूको सक्रियतामा संरक्षण, सम्बर्द्धन र सरसफाईको काम भएको छ ।

निकै पुराना चट्टानका चौतारा तथा ठूलाठूला वर र पीपल रहेको चारसुरे डाँडाबाट वारिवारीका गाउँहरु दृश्यावलोकन गर्न सकिन्छ ।

त्यस क्षेत्र आदिवासी लिम्बू समुदायको ऐतिहासिक समाधिस्थल हो । इभाङका लिम्बू समुदायले आफन्तजनहरुको मृत्यू पश्चात लिम्बू परम्परा अनुसार चारसुरेमा दाहसंस्कार गर्ने गरेका छन् ।

यस क्षेत्रको संरक्षण र विकासका लागि स्थानीय सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकारको ध्यान नपुगेपछि स्थानीय युवाहरु यस क्षेत्रको विकास र संरक्षणका लागि लागिपरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार