फरक युवाका फरक कृषि आयाेजना सुरु

  नयाँ बुलन्द
91 Shares

फाकफोकथुम इलाम :  इलाम फाकफोकथुम गाउँपालिकाका तीन फरक युवाहरुले फरक कृषि सुरु गरेका छन् । ती युवाले एक सय ५० रोपनी बराबरको जग्गामा कृषि तथा पशुपालन सुरु गरेको हो । एक सय पचास रोपनीमध्ये ६० आफ्नै र ९० रोपनी भने लिजमा लिएर कृषि थालेका हुन् ।

ती युवाले नारा समेत फरक राखेका छन् कृषि मुस्कुराउँछ । कृषि सुरु गर्नु अघि उनीहरुले सामुहिक कृषि फार्म दर्ता गरेका छन् फरक कृषि तथा पशुपालन फार्म । उनीहरुले वडा कार्यालय, घरेलु तथा साना उध्योग कार्यालय इलाममा फार्म दर्ता गरी कानुनी प्रक्रिया पूरा गरिसकेका छन् । सरकारलाई कर बुझाउनका लागि नियमानुसार स्थायी लेखा नम्बर (PAN) समेत लिईसकेको बताउँछन् फार्मका बजार व्यवस्थापक अनुप लिम्बू ।

कुरा हो फाकफोकथुम-७, एकतप्पा रुपटारमा तीन युवाहरुको अगुवाईमा सुरु भएको फार्मको । फार्ममा २५ बढी सेयर सदस्यहरु छन् । स्थानीय अर्जुनकुमार लिम्बू, अनुप लिम्बू र नवराज योङहाङ लिम्बूको अगुवाईमा सामुहिक कृषि सुरु गरेका हुन् । हुन त उनीहरुले सुरुवात मात्र गरेका छन् सफल हुन्छन् या हुँदैनन् त्यो त हेर्न बाँकी नै छ । आखिर किन फरक कृषि सुरु गरे त ? अरु भन्दा  फरक तरिकाको छ ? कृषि प्रणाली नै नयाँ हो त ? हेरौँ सुरुमा के गरेका छन् उनीहरुले :

यस्तो छ तयारी

सुरुमा २ हजार बोट कफी रोप्ने काम सकेका छन् । फार्ममा अलराउण्डर जातको टमाटर २० हजार बोट बेर्ना तयारी गरेका छन् । त्यस्तै फुलकोपी २ हजार बोट, लाम्चे खुर्सानी एक हजार बोट, बन्दाकोपी ५ सय बोट, काउली २ हजार र अकबरे खुर्सानी १० हजार बोट रोप्नका लागि तयारी गरेको फार्मका कृषि निर्देशक नवराज योङहाङले बताए ।

सेपिलो जङगल प्रयोग गरौँ

सेपिलो जङगल प्रयोग गरौँ भन्ने अभियान उनीहरुले अर्को वर्ष गाउँभरी चलाउने योजना बुनेका छन् । यो वर्ष एक लाख बेर्ना तयार गरी पाँच हजार आफ्नै फार्ममा विस्तार गर्ने छ भने बाँकी बेर्ना विक्रिका लागि फाकफोकथुम गाउँपालिका र छिमेकी माङसेबुङ गाउँपालिका तथा देउमाई नगरपालिकासँग समन्वय गरि विक्री गर्ने योजना रहेको छ ।

फार्मका कार्यकारी निर्देशक अर्जुन लिम्बू भन्छन्-“आमाहरु भनेका सृष्टि हुन् । लिम्बु संस्कृतिलाई मान्ने हो भने पनि खेसुङ (मर्चा) बनाउने प्रकृति/कृषि ज्ञान/विज्ञान भएको स्पष्ट हुन्छ । हाम्रो पुर्खाहरुले गरिल्याएको पेशा कृषि नै हो । हाम्रो बुझाई के हो भने बाआमाहरुले कृषिलाई थामिल्याएको साँचो हो । त्यसैकारण, आमाहरुको माङगेन्ना चोल्लुङ (शिर उठाउनी ) उठानका निम्ति आमाहरुको हातबाट कफी रोपेर सुरु गरेका छौँ । यो आफैँमा आमाहरुप्रति अमुल्य सम्मान हो । यो फार्मलाई यो देशकै एउटा फरक नमूना फार्मको रुपमा स्थापना गर्ने लक्ष्य राखिएको छ ।”

उनी थप्छन्- यो देशमा कृषिको सपना तुहिको छ । निकै लामो कालखण्डदेखि ‘बाआमाहरु’को सपना साकार पार्नका निम्ति- यो देशको कृषि तथा पशुपालन लाई जुरुक्कै उठाउनका निम्ति “हे युवा उठ ! जाग ! जाँगर चलाउ ! हे युवा हँसिया समाउ ! हे युवा हलो समाउ ! हे युवा कुटे चलाउ हे युवा मुस्कुराउ । हे ! कृषक मुस्कुराउ !

उनीहरुले सरकारसँग विनम्र अनुरोध गरेका छन्- कृषक/ युवा कृषक, साँच्चै कृषि तथा पशुपालन गर्न चाहाने युवाहरुलाई बिना धक मानि खोजीखोजी अनुदान सहयोग उपलब्ध गराइदेऊ । ‘सुखि नेपाली, समृद्ध नेपाल’ भन्ने तिम्रो नाराले अर्थ राखोस् । जय फरक कृषि !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार