गर्न सके गाउँमै पैसा !

इलाम : जिल्लाको माईजोगमाई गाउँपालिका ६ प्याङका दिलबहादुर लुङगेलीले १ वर्ष अगाडि सुर्योदय नगरपालिकाको आसपासका गाउँघर घुमफिर गर्दा त्यहीँका हरेक किसानहरुले बर्सेनि इस्कूस रोपेर फलाएसँगै लाखौं रुपैया भित्राएको कथा सुने । रोप्ने तरिका र मार्च बनाउने तरिका सिके । त्यस ठाउँमा इस्कूस रोप्ने र मार्च बनाउने तरिकाको अनुभव गरे र घर फर्के ।

आफुले देखेको र बटुलेको अनुभवलाई व्यवहारमा उतार्न आफ्नो ४ रोपनी बारीमा खेताला लगाएर बाँसको मचन बनाए । पुन उहीँ पहिलेकै ठाउँ पुगे र चलनी जातको इस्कूसको बिरुवा ल्याएर रोपे । रोपेको ४ महिनादेखि फल्न सुरु पनि भयो । छिटो र धेरै बाक्लो इस्कूस फलेको र घरछिमेकमा होहल्ला भएसँगै इस्कूस फलेको हेर्न आउनेहरुले गाउँघरमा प्रती केजि ३५ रुपैयाँले इस्कूस किनेर लान थालेपछि उनी आफै दङ्ग परे ।

गाँउमा आजसम्म कहिले इस्कूस बिकेको नदेखेको लुङेलीले अहिले आफैं फलाएर बेच्न थालेको प्याङमा पहिलो हो । चलानी जातको इस्कूस धेरै र छिटो फल्ने गर्छ । विश्वमा कोरोनाको कारण भारतीय सब्जी नेपाल आउन बन्द भएसँगै उनको इस्कूसले बजार पाउन थाल्यो । त्यसैले हाल माईजोगमाई गाउँपालिकाको मुख्य बजार नयाँबजार र बिर्तामोडदेखि नै व्यापारीहरु इस्कूस लिन घर नै आउने गरेका छन् ।

धेरै डिमाण्ड आउन थालेकोले सबैलाई पुर्याउन मुस्किल परेको उनी बताउँछन् । पहिला धेरै रोपेजस्तो लागेको भएपनि अहिले बजार पाउँदा कम रोपेजस्तो लाग्न थालेको उनी बताउँछन् । मिहेनत गरेर लाग्ने हो भने स्वदेशमा कमाउन सकिने गतिलो उदाहरण लुङ्गेलीले दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार