भ्रष्टाचारका सम्बन्धमा एक सनसनीपूर्ण खुलासा !

तपाईको प्रश्नै बेकार, कहाँ हुनु भ्रष्टाचार ?

इलाम : पछिल्लो समय देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नारा नारामा मात्र सीमित बनेको छ । भ्रष्टाचारीलाई कारवाही गर्नुको साटो सरकार तथा पार्टीहरुले नै भ्रष्टाचारमा संलग्नको संरक्षण गरिरहेको सर्वत्र चर्चा हुने गरेको छ । यसै सन्दर्भमा हामीले एक व्यङ्ग्यात्मक संवाद तयार गरेका छौं ।

पत्रकार : नमस्कार, नेताज्यू ।
नेता : नमस्कार ।

पत्रकार : कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ ।
नेता : धन्यबाद् ।

पत्रकार : तपाईको पाटी त भ्रष्टाचारमा चुर्लुम्म डुब्यो नि !
नेता : कहाँ डुब्नु ? तपाईको यो बेकारको प्रश्न हो ।

पत्रकार : कसरी डुबेन ? यत्रतत्र यहि चर्चा छ !
नेता : ती विगतका कुरा होलान् । अहिले आएर हाम्रो पाटीले आफ्नै पाटीका सक्रिय सदस्य समेतलाई छाडेको छैन ! भ्रष्टाचारमा लिप्त पाटी सदस्यकै बिरूद्धमा निर्ममतापूर्वक जाइ लागेको कुरा पो बढि चर्चामा छ त !

पत्रकार : त्यसरी आफ्नै पाटीका भ्रष्ट व्यक्तिका बिरूद्ध तपाईको पाटी निर्मम भएको कुनै प्रमाण छ, तपाईसँग ?
नेता : तपाई पत्रकारकारहरूले नै त्यसका बारेमा प्रशस्त लेख्नुभएकै छ नि !

पत्रकार : कुनै उदाहरण ?
नेता : हाम्रै पाटीका सदस्य हाकिम भएको सरकारी कार्यालयका व्यक्तिले लकडाउनको समयमा सरकारी गाडी घ्यारर बनाउँदा समेत कोरोना भाइरसको विश्वव्यापी आतंकलाई पनि ओझेलमा पार्दै हाम्रा पाटीका अरिंगालले खेदीखेदी चिलेका त्यस्ता सनसनीपूर्ण समाचार सामाजिक सञ्जालमा त्यति धेरै छाँउदा पनि तपाई जस्तो बरिष्ठ पत्रकार अझै वेखवर हुनुहोला भनेर म कसरी कल्पना गरौ ?

पत्रकार : म वेखवर छैन । मलाई सबै कुरा थाहा छ । मलाई यस बारेमा धेरै फोन पनि आएका छन् । र यसको बारेमा सबभन्दा पहिला मैले नै वहस छेडेको पनि हो, होइन ? तर त्यो त तपाइकै पाटीका विभिन्न गुटवीच लेनदेनमा कुरा नमिलेर मात्र त्यस्ता कुरा बाहिर आएको हो भन्ने तर्क पनि त छ नि, होइन र ?
नेता : गुटसुट केहि होइन । एउटा सत्य कुरा के चाहि हो भने, पाटीको सदस्य नै हाकिम भएपछि प्रचलित ऐन, नियम, कानुनमा जेसुकै लेखिएको भएपनि पाटीका नेता कार्यकर्ता वा पाटीले गठन गरेका कुनै पनि समितिले दिएका निर्देशन आदि चाहिँ मान्नु पर्छ भन्ने सम्म होला । दलीय व्यवस्थामा त्यो सामान्य कुरा नै हो ।

पत्रकार : ए, लोकतन्त्रमा संसदले पास गरेका ऐन, नियमभन्दा पनि पाटीका नेताकार्यकर्ता वा पाटीले बनाएका समिति उपसमितिले दिएका निर्देशन चाहिँ निर्णायक हुन्छन्, होइन त ?
नेता : मैले लोकतन्त्र भन्दा पनि दलीय व्यवस्था भनेको छु ।

पत्रकार : दलीय व्यवस्था भन्दैमा लोकतन्त्रको मुटु मानिने प्रचलित विधि र प्रकृया मिचेर जनतालार्इ यसरी यो वा त्यो दलको दलदलमा फसाउन मिल्छ र, नेता ज्यू ?
नेता : होइन, पाटीको भागवण्डामा परेपछि पाटीकै निर्देशनमा काम गर्नुपर्छ भन्ने हो । ऐन नियम अनुसार भएका काम कार्वाहीमा त त्यहि बमोजिम भइहाल्छ नि !

पत्रकार : उसोभए पाटीको भागवण्डामा परेकाले प्रचलित ऐन, नियमको धोती लगाउँदै पाटीका नेताकार्यकर्ता वा पाटीले निर्माण गरेका समिति उप समितिले भनेकै मान्नुपर्छ भन्ने तपाइको निश्कर्ष हो, होइन त ? जाँदाजाँदै ठ्याक्कै भन्नोस् है, नेताज्यू ।
नेता : अँ, पाटीका नेता कार्यकर्ता वा समिति उपसमितिले दिएका निर्देशन प्रचलित ऐन नियमसँग मेल खाए भने त्यो त सुनमा सुगन्ध नै भइहाल्यो । तर दलीय भागवण्डा भइसकेपछि पाटीका नेता कार्यकर्ता वा पाटीले गठन गरेका समिति उपसमितिले दिएका निर्देशन पालना गर्नु त नेपालमा विगत धेरै दशकदेखि अभ्यास हुँदै आएको नेपाल र नेपालीको एउटा गौरवपूर्ण इतिहास, परम्परा र पहिचान नै हो नि !

पत्रकार : यहाँको अमुल्य समय र संवादका लागि यहाँलाई धेरैधेरै धन्यबाद् ।
नेता : कोरोना भाइरस भन्दा पनि बढि घातक भ्रष्टाचार भाइरसका सम्बन्धमा हाम्रो पाटीले आफ्नै पाटीका सदस्यले सरकारी गाडी घ्यारर बनाउदा समेत खेदोपाइलो गरेको जल्दोबल्दो विषय जनसमक्ष प्रस्तुत गर्ने सुनौलो अवसर दिनुभएकोमा यहाँलाई पनि मुरीमुरी धन्यबाद् ।

यो ब्यङ्गात्मक सामग्री कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार