आदिवासी याक्थुङ साँस्कृतिक महोत्सव र २५ औं राष्ट्रिय चुम्लुङको तयारी पूरा

इलाम : इलाममा यही फागुन २४ र २५ गते आयोजना हुने आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सवमा दुई सय बढी च्याब्रुङ प्रदर्शन गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको सन्दर्भमा आयोजना हुने महोत्सवमा दुई सय बढी च्याब्रुङ प्रदर्शन गरिने जानकारी दिएको छ ।

इलाम सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गरी किरात याक्थुङ चुम्लुङले महोत्सव र राष्ट्रिय चुम्लुङको तयारी पूरा भएको जनाएको छ । इलामका १० वटै पालिका एवम् छिमेकी जिल्ला पाँचथर र झापाबाट च्याब्रुङसहित कलाकार उपस्थित हुने चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

महोत्सवमा साँस्कृतिक झाँकीसहित आदिवासी याक्थुङ/लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (के:लाङ), धाननाच (या:लाङ), पालाम, हाक्पारे, ख्यालीलगायतको प्रस्तुतिसहित साँस्कृतिक पोषाक प्रदर्शनी तथा लिम्बू परिकारको स्वाद चखाउने अध्यक्ष सोङ्मीले जानकारी दिइन् । पाहुनाहरुलाई तोङ्बा, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाइने उनले बताइन् ।

आदिवासी याक्थुङ/लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन, विकास एवम् नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले इलाम चोक बजारमा महोत्सव आयोजना गरिएको सोङ्मीको भनाई छ ।

यस्तै, राष्ट्रिय चुम्लुङको तयारी पनि पूरा भएको छ । राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुने चुलुङकी संघीय महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् । लिम्बुवानका ९ जिल्ला, उपत्याकाका ३ तीन र चितवन जिल्ला गरी १३ जिल्लाका सयौं प्रतिनिधी राष्ट्रिय चुम्लुङमा सहभागी हुने उनले जानकारी लिइन् ।

यसैगरी प्रदेश नं. १ को “लिम्बुवान प्रदेश कार्य समिति” र “नेवा-ताम्सालिङ प्रदेश कार्य समिति”, थप ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेश स्थित चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु, व्यवस्थापक जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरु र अन्य सहभागी गरी २३० जना भन्दा बढी छलफलमा सहभागी हुने उनले जानकारी दिइन् ।

राष्ट्रिय चुम्लुङमा विभिन्न समसामयिक विषयमा छलफल हुने चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेलाले जानकारी दिए । छलफलका प्रदेश १ को नाम कोशी नाम खारेजी तथा‘‘लिम्बुवान, किरात’’ नामाङ्करणको अवस्था र भावी रणनीतिका बारेमा छलफल हुनेछ । यसैगरी साँगठानिक तथा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै यो राष्ट्रिय चुम्लुङले एक वर्षे नीति तथा कार्यक्रम तय गर्नेछ । यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ/लिम्बु भाषा विकासको योजना, इलाममा विजयबहादुर लिम्बुलगायतका सहिदहरुको लिम्बुवानका लागि बलिदानताको चर्चा र लिम्बु याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा लगायतका विषयहरुमा छलफल भई समसामयिक प्रस्ताव सहित पारित हुने उपाध्यक्ष तिगेलाले जानकारी दिए ।

किरात याक्थुङ चुम्लुङ २०४६ साल भदौ १७ गते स्थापना भएको आदिवासी याक्थुङ/लिम्बु समुदायको प्रतिनिधिमूलक साझा संस्था हो । चुम्लुङले आदिवासी याक्थुङ/लिम्बु समुदायको साँस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायतको क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार