कवि वैद्यको कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण

  नयाँ बुलन्द
126 Shares

इलाम : कवि विमल वैद्यको कवितासङ्ग्रह ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएकाे छ । इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा (पुरानो दरवार) आइतबार धर्म गौतमको अध्यक्षता र इलाम नगरका विशिष्ट नागरिक पूर्व क्याम्पस-प्रमुख युद्धप्रसाद वैद्यको प्रमुख आतिथ्यतामा कवितासङ्ग्रहको लोकार्पण भएको हो ।

इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा भाषाविद् तथा लेखक केदार शर्मा र कवि तथा समीक्षक प्रकाश थाम्सुहाङले कृतिमाथि चर्चा गरे । भाषाविद् तथा लेखक शर्माले कवि वैद्यले आफ्ना सिर्जनामा शब्दलाई नधुट्याइकन दिनुपर्ने कुरा दिने गरेकाले यस कृतिमा समेत अझ परिमार्जन भएको बताए । उनले लेखनमा वैचारिक अडान हुन आवश्यक रहेको समेत बताए ।

कवि तथा समीक्षक थाम्सुहाङ्ले कवि विमल वैद्यले ४० वर्षदेखि निरन्तर सिर्जनामा लागिरहेकाले स्थापित सर्जक भएको र उनका कृति नेपाली साहित्यको लागि गर्व गर्न लायक भएको बताए ।

कार्यक्रममा कवि वैद्यले आफू कविता लेख्दा विशेष सचेत हुने गरेको उल्लेख गरे ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, प्रमुख प्रशासकीय अधिकृत गणेश खड्का, प्राज्ञ कोमल निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

३८ वटा कविता समावेश गरिएको सङ्ग्रह वैद्यको चौथो कविता कृति हो । पेज टर्नरले प्रकाशनमा ल्याएको कृतिको मूल्य २७५ रुपैयाँ रहेको छ ।

यसअघि वैद्यकाे कविताकृति काठमाडौँमा गत पुस २८ गते सार्वजनिक गरिएको थियो ।

वैद्यकाे यसअघि ‘आकास छुन खोज्ने मनहरू’,  ‘समय र सपनाहरू’ र “अक्षर सिम्फोनी” प्रकाशित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार