इलाम : इलाममा सदरमुकाममा बिहीबारदेखि ‘प्रथम आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव’ सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ संङ्घीय समितिको २५ औं राष्ट्रिय चुम्लुङको अवसरमा चुम्लुङ इलामले महोत्सव आयोजना गरेको हो ।
लिम्बू जातिको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङले आयोजना गरेको महोत्सवको उद्घाटन पूर्वमन्त्री तथा प प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले उद्घाटन गरिन् ।
लिम्बू जातिको मौलिक बाजा च्याब्रुङ (के) बजाएर महोत्सवको उद्घाटन गरिन् । महोत्सवलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्या लङ्वाले प्रदेशमा शान्ति र स्थायित्व कायम गर्न प्रदेशको नाम संशोधन गर्नुपर्ने बताइन् । ‘प्रदेशको नाम कोशी विवादित भएकाले बहुपहिचानका आधारमा पुन: नामाङकरण हुनुपर्दछ’ उनले भन्नुभयो, ‘त्यसका लागि सबै दलहरु तयार हुनुपर्दछ ।’
प्रदेशसभा सदस्य लङ्वाले सबै जातजातिका संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व रहेको बताइन् । उनले यसअघि भाषा आयोगले सिफारिस गरेका लिम्बू र मैथली भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्नेमा जोड दिइन् ।
महोत्सवमा महोत्सवको पहिलो दिन बिहीबार हज्जारौंको उपस्थितिमा च्याब्रुङ र प्लेकार्डसहितको साँस्कृतिक झाँकी, च्याब्रुङ नाच (के:लाङ), धाननाच (या:लाङ), पालाम, हाक्पारे, ख्यालीलगायत साँस्कृतिक कलाको प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिएको थियो ।
महोत्सवमा याक्थुङ/लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन जिल्ला र चितवन गरी १३ जिल्ला र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट हज्जारौं सहभागी भएका छन् ।
महोत्सवले लिम्बू समुदायका कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास रहेको चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले बताइन् । ‘आदिवासी याक्थुङ/लिम्बू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन एवम् नयाँ पुस्तामा पुस्तान्तरणमा महोत्सवले सहयोग पुर्याउने विश्वास छ’ अध्यक्ष सोङ्मीले भनिन्, ‘नयाँ र पुराना पुस्ता मिलेर पुर्ख्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्नपर्दछ ।’
महोत्सवको दोस्रो दिन शुक्रबार लिम्बू जातिसँग सम्बन्धि साँस्कृतिक परिकारको प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल गर्दै गरिने चुम्लुङ अध्यक्ष सोङ्मीले जानकारी दिइन् । तागा (पुरुषले लगाउने साँस्कृतिक पोसाक) र मेख्ली (महिलाले लागाउने साँस्कृतिक पोसाक) प्रदर्शन गरिनेछ । त्यस्तै, साँस्कृतिक परिकारहरु तोङ्बा (एक प्रकारको जाँड), फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाएर विदाइ गरिने उनले बताइन् ।
समसामयिक विषयको छलफलमा करिब दुई सय ५० जना सहभागी हुनेछन् । छलफलमा कोशी प्रदेश नाम खारेज गर्दै लिम्बुवान किरात नामकरणको अवस्था र भावी रणनीति, ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ/लिम्बू भाषा विकासको योजनालगायतका विषयमा हुने आयोजकले जनाएको छ । त्यस्तै, इलाममा विजयबहादुर लिम्बूलगायत सहिदको लिम्बुवानका लागि बालिदानको चर्चा र याक्थुङ/लिम्बू भाषा अभियान्ता आसाहाङ मादेनको योगदानको चर्चा हुनेछ ।
चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न वक्ताहरुले आदिवासी लिम्बू सामुदायको भाषा र संस्कृति संरक्षणमा राज्यले चासो देखाउनुपर्नेमा जोड दिए । कार्यक्रममा इलामका अग्रज व्यक्तित्व बखतबहादुर आङदेम्बेलाई सम्मान समेत गरिएको थियो ।