इलामको पाथिभरामा भक्तजनहरुको घुईँचो

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको पाथिभरादेवी मन्दिरमा दर्शनका लागि पुग्ने भक्तजनहरुको घुईँचो लाग्ने गरेको छ । इलामको रोङ गाउँपालिका–३ मा रहेको कान्छी पाथिभराको नामले समेत चिनिने मन्दिरमा पूजाआजा र दर्शनका लागि पुग्ने भक्तजनहरुको दिन प्रतिदिन घुइँचो हुने गरेको छ ।
यस मन्दिरमा मनले चाहेको भाकल पूरा हुने विश्वासका साथ भक्तजनहरू देवीको मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । ‘पाथीभरा माताले बोलाएर यहाँसम्म आएको हुँ’ दर्शनका लागि आएका इटहरीका खड्गबहादुर श्रेष्ठले भने ‘माताको शक्ति एकदमै छ । चिताएको र भाकल गरेको सवै पूरा हुन्छ भन्ने विश्वासले आएका हौँ ।’


मन्दिरमा विशेषगरि दशैं–तिहार, तीज, वालाचतुर्दशी, रामनवमीलगायतका चाडपर्वहरूमा मेला लाग्ने गरेको छ । प्रत्येक शनिबार र मङ्गलबार दर्शनार्थीको भीड अझ बढ्ने पाथिभरा क्षेत्र विकास कोष समितिका सचिव दिलिप राईले बताए । उनले पूजाआजा मात्र नभई भक्तजनहरु विवाह ब्रतबन्ध तथा पूराणजस्ता उत्सवका लागि पनि आउने गरेको बताए । ‘माताको शक्ति अपरम्पार छ । यहाँ एक पटक आएका भक्तजनहरु भाकल पूरा हुने भएकाले पटक पटक आउनुहुन्छ ।’ यस मन्दिरमा नेपाल, भारत, बङ्गलादेश तथा भुटानसम्मका भक्तजनहरू दर्शनका लागि आउने गरेको सचिव राइले जानकारी दिए ।

यसरी पुग्न सकिन्छ इलामको पाथिभरा मन्दिर


पाथीभरा देवी मन्दिर झापाको चाराली बजारबाट उत्तरतर्फ मेची राजमार्ग हुँदै सवारी साधनबाट करिब डेढ घण्टाको यातामा पुग्न सकिन्छ । अर्कोतिर इलामको सुर्योदय नगरपालिकास्थित फिक्कल बजारबाट पनि झण्डै आधा घण्टाको यात्रा गरेपछि मन्दिर जाने गेटनजिकैको बजार पुगिन्छ । जहाँबाट मन्दिर नजिकैसम्म बनाइएका रेलिङसहितको १ किलोमिटर पक्कि सिँढी चढेरसमेत मन्दिर पुग्न सकिन्छ । मन्दिर कुटिडाँडादेखि करीब ८ सय मिटरमाथिको डाँडामा अवस्थित छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय ४० मिटरको उचाइमा पर्छ ।

यस्तो छ मन्दिर स्थापनाको कथा


पाथीभरा देवीको मन्दिर उत्पत्ति र विकासका विभिन्न किम्बदन्ती छन् । स्थानीय अजम्बर राइले भने ‘यहाँ परापूर्वकालदेखी देवीथान रहेको थियो । बाजे बराजुको पालादेखी पूजा हुँदै आएको हामीले सुनेका हौँ ।’ विक्रम संवत २०३४ सालमा झापा बुधबारेका डिल्लीराम पाठक भन्ने एक झाँक्रीले सपनामा पाथीभरा देवीकी अन्तरी बहिनी देखेको र सोही वर्षको ऋषि तर्पणी पूर्णिमाको चिन्ता बस्दा मध्यरातमै उज्यालो भएर दुई वटा बाघ देखेको किम्बदन्ती छ । ती बाघ दुई वटी केटीका रुपमा देखिएर तिनले हालको पाथीभरा देवीको मन्दिरको शिला देखाइदिएको तीन दिनपछि पाठकले विधिपूर्वक मन्दिरको स्थापना गरेर पाथीभरा देवी नामाकरण गरिदिएको मन्दिरका पूजारी यदुनाथ घिमिरेले बताए । घिमिरेले त्यसपछी पाठक वर्षको एक पटक पूजा गर्न त्यहाँ जाने गरेका छन् । पछि २०५१ सालमा विष्णुप्रसाद बरालको अध्यक्षतामा मन्दिरको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले पाथीभरा मन्दिर संरक्षण समितिको स्थापना भएको उनले जानकारी दिए ।समितिको स्थापनापछि शिलालाई घेरा हाली मन्दिरको निर्माण गरिएको हो ।
पाथीभरा मन्दिरदेखि केही तल मेची राजमार्गसँगै जोडिएको अर्को पनि मन्दिर छ हाँसपोखरी । पहिले त्यहाँ रहेको एउटा ठूलो पोखरीमा हाँस बस्ने गरेकाले हाँस पोखरी भनिएको हो । पोखरी सुकेपछी हाँस पनि लोप भएको केही वर्षपछि सोही ठाउँमा हाँसको प्रतिमा कुँदिएको एउटा शिला फेला परेको थियो । त्यही शिलालाई स्थापना गरी २०५० सालमा मन्दिर निर्माण गरिएको समतिले जनाएको छ । अहिले सो शिलामा हाँसको चित्र स्पष्ट देख्न सकिन्छ । पाथीभरा मन्दिर मात्रै गएर चिताएको पूरा नहुने भएकाले दाहिने पारेर दुवै मन्दिरको परिक्रमा गर्नुपर्ने धार्मिक विश्वास रहेको पूजारी घिमिरेले बताए ।

प्राकृतिक शुन्दरताको धनी


धार्मिक हिसाबले मात्र होइन प्राकृतिक शुन्दरताले पनि निकै धनी छ पाथिभरा मन्दिर क्षेत्र । मन्दिरपरिसर वरपर रहेका अलैंची घारी, घना जंगलको शौन्दर्यताले जो कोहीलाई पनि मोहित बनाउँछ । मन्दिरनजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामको नागबेली सडक अनि चियाबारीको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । त्यति मात्र नभएर भारत, भुटान र बङ्गलादेशसम्मका भू–भागहरू, विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजंघा हिमाल साथै ताप्लेजुङको पाथीभरादेवी मन्दिरसमेत खुल्ला आँखाले नियाल्ने अवसर यस क्षेत्रबाट पाइन्छ ।

यसरी चलिरहेको छ पाथीभरा मन्दिर


पाथीभरा क्षेत्र विकास कोष समितिले मन्दिरबाट प्राप्त दान भेटी अनुदान–चन्दा आदिबाट संकलन भएको रकमले मन्दिरकै संरक्षण र विकासमा खर्च गर्दै अएको छ । यसरी प्राप्त रकमले कुटिडाँडादेखि मन्दिरसम्म सिंडी, मन्दिर तथा धर्मशालाको निर्माणलगायत थुप्रै पूर्वाधारहरु निर्माण गरिएको बताइएकाे छ। स्थानीय गाउँपालिकाले पनि मन्दिरको विकास, प्रवद्र्धन र संरक्षणमा सहयोग गरिरहेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार