घुर्बिसेमा ११७ औं इमानसिंह जयन्ती मनाइयो (फोटो फिचरसहित)

  युद्धबहादुर बोहोरा  268 पटक हेरिएको

पाँचथर : किराँत सम्प्रदायका बौद्धिक शंकराचार्य तथा साहित्यकार स्व. इमानसिंह चेम्जोङको ११७ औं जन्म जयन्ती घुर्बिसे पञ्चमी बजारमा भव्यताका साथ मनाइएको छ।

घुर्बिसेमा रहेको इमानसिंहको शालिकमा फुलमाला, अविर पहिराइ उनको सम्झना गरिएको हो। शालिक संरक्षण समितिका अध्यक्ष भगिरथ चेम्जोङको अध्यक्षतामा किराँत याक्थुङ्ग चुम्लुङ्ग केन्द्रिय सचिव चन्द्र आङ्देम्बेको प्रमुख तथा आदिवासी जनजाती महासंघ पाँचथर सचिव तेजेन्द्र मेयङको विशेष आतिथ्यमा जयन्ती समारोह सम्पन्न भएको थियो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङको पहलमा मन्त्रालयबाट उपलब्ध पाँच र फाक्तेप गाउँ विकास समितिबाट दुई लाख गरि जम्मा सात लाख रुपैयाँमा शालिक निर्माण भएको थियो । २०६७ साल पौष १७ गते संस्कृती मन्त्री डाक्टर मिनेन्द्र रिजालद्वारा उद्घाटन गरिएको चेम्जोङको शालिक स्थापना देखि जयन्ती समारोहको आयोजना गरिएको समितिले जनाएको छ ।

समारोहमा बोल्दै प्रमुख अतिथि आङ्देम्बेले किराँत जातिका विज्ञ व्यक्तित साथै वृहत शब्दकोषलाई राष्ट्रिय विभूतीमा समावेश गर्नुपर्ने बताए ।यसको लागि चुम्लुङ्गको अगुवाईमा सरोकारवाला संस्थाको सहयोगमा पहल भइरहेकोे जनाए। जनप्रतिनिधि चन्द्रकुमारी आङ्देम्बेले जयन्ती मनाएर मात्रै चेम्जोङको सपना साकार नहुने भन्दै उनले देखाएको बाटो अनुसरण गर्न सबैलाई ध्यानाकर्षण गराइन् ।

ढाेलझाँकी सहितको टोलि तथा संघसंस्था र स्थानीयबासिन्दाको उपस्थितमा मनाइएको कार्यक्रममा समाजसेवी केहेरसिंह चेम्जोङले,शान्ति बाल विकासका प्रधानध्यापक डिएम आङ्देम्बे (देउमान) ले उनको जिवनी बारे मन्तव्य राखेका थिए।उनीहरुले समाजसुधारक तथा किराँत जातिका अगुवा इतिहाँसकारलाई राष्ट्रियले उचित सम्मान नगरेको गुनासो गरे ।

कार्यक्रमको आयोजना शालिक संरक्षण समिति,फाक्तेप युथ क्लब,शान्ति बाल विकास इङलिस स्कुल,घुर्बिसे पञ्चमी माद्यामिक विद्यालय,थाकथाकमावोहाङ्ग चेम्जोङ वंश उत्थान संघ,आदिवासी जनजाति महासंघ, किराँत याक्थुङ्ग चुम्लुङ्ग र जनकल्याण माद्यामिक विद्यालयले गरेको थियो । समाजसेवी केवि चेम्जोङले स्वागत मन्तव्य राखेका थिए भने शान्ति बाल विकासका शिक्षक बुद्धसिं केसीले कार्यक्रम संचालन गरेका थिए ।

आधा शताब्दी भन्दा लामो समय किराँत भाषा, लिपि, साहित्य, संस्कृति, र इतिहास विषयमा खोज अनुसन्धानमा लागि परेका उनी दार्जिलिङमा माद्यामिक शिक्षा अध्यनको क्रम देखिनै किराँत जाति, इतिहास, धर्म, भाषा, लिपी र साहित्यको खोज अनुसन्धान गर्दै दुई दर्जन बढी कृति प्रकाशन गरेका थिए ।

को हुन् इमानसिंह चेम्जोङ ?

सन् १९०४ जनवरी १ तारीखमा भारतको दार्जिलिङमा जन्मिएका स्व. चेम्जोङको पुर्खौलिथलो पाँचथरको फाल्गुनन्द -६ आङ्साराङ हो । उनका पिता मेघवर सिंह रोजगारीको शिलशिलामा दार्जिलिङमा रहँदा माता दावापु हाङमाको कोखबाट उनको जन्म भएको थियो । अमृतासँग विवाह बन्धनमा बाँधिएका चेम्जोङ दम्पतीका तीन छोरी र दुई छोरा छन् । किराँत इतिहासको खोज र प्रकाशनलाई निरन्तरता दिने क्रममा ७२ वर्षको उमेरमा किराँत इतिहासविद् इमानसिंह चेम्जोङको देहावसान सन् १९७६ अक्टोबर ८ का दिन दार्जिलिङमा भएकाे थियाे ।

प्रारम्भिकदेखि ‘म्याटि्रक’ तहसम्मको शिक्षा कालेम्पोङबाटै गरेपछि कलेज (आइ.ए) पढ्न कलकत्ताको सेन्ट जेभियर्समा उनी भर्ना भए । त्यहीँबाट आइ.ए पूरा गरेर बी.एको अध्ययनपछि उहाँले लन्डनबाट एम.ए.एम.आर.एस. गरे । बाल्यकालमा चेम्जोङलाई पढाउने गुरुले एक दिन ‘किराँतीहरू जङ्गली हुन्छन्’ भनेपछि त्यसको उत्तरमा उनका बुबाले ‘किराँतीहरूको आफ्नै भाषा, साहित्य, कला, संस्कृति र इतिहास छ’ भनी उनको जिज्ञासा पूरा गरिदिएको भए पनि चेम्जोङलाई बुबाको जवाफले चित्त बुझेन, त्यसैले बुबाले भनेका कुराको खोजीमा उनी लागे ।

बुबाको हौसला र प्रेरणासमेतबाट चेम्जोङले आफ्नो सम्पूर्ण जीवन किराँत भाषा, संस्कृति र सभ्यताको खोजीमा समर्पण गरेका थिए । सन् १९६१ देखि त्रिभुवन विश्वविद्यालयको एसियाली अनुसन्धान केन्द्रमा किराँत भाषा तथा संस्कृतिविद् भई उनले १५ वर्ष सेवा गरे । त्यसअघि चेम्जोङ सिक्किमको रेभेन्यू अफिसरसमेत भएका थिए । त्यस्तै उनले लामो समयसम्म शिक्षण पनि गरे ।नेपाल सरकारले २०५५ साल देखि उनको फोटो अङ्कित हुलाक टिकटको शुरु गरेको छ।

कृतिहरू किराँत मुन्धुम (वेद) लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोश किराँत इतिहास किराँत मुन्धुम खाहुन् (शिक्षा) किराँत साहित्यको इतिहास किराँत इतिहास तथा संस्कृति (अङ्ग्रेजी भाषामा) किराँत दन्त्यकथा किराँत दर्शनको सारांश लाप्चा-नेपाली-अङ्ग्रेजी शब्दकोश किराँतकालीन विजयपुरको सङ्गक्षिप्त इतिहास आदि | (बैरागी काइलाबाट) ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार